काठमाडौं । प्राध्यापक ऋषिराज बरालले वर्तमान सरकारले स्वाधीनताको रक्षा गर्न नसक्ने बताएका छन् । राज्य पुनःसंरचना नगरी संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र औपचारिक रुपमा मात्रै घोषणा भएकाले कुनैपनि समय स्वाधिनता खोसिन सक्ने बरालको भनाइ छ । सोमबार काठमाडौमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थिती र राष्ट्रिय स्वाधीनताको सवाल’ विषयक अन्तरक्र्रियामा उनले स्वाधीनता जोगाउन सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले राजनीति गलत भएका मुलुकले सही दिशा लिन नसकेको टिप्पणी गरे । ‘राजनीति अस्थिर भएकाले मुलुक डामाडोल भएको छ, देशको कूटनीति पनि सुदृढ र सबल हुन सकेको छैन’–उनले भने । कुटनीतिक पक्ष फितलो भएकै कारण भारतले नेपाललाई दवाएर राखेको बताउँदै मुलुकको सवलीकरणका लागि औद्योगिक क्रान्ति आवश्यक भएको उनको तर्क छ ।
एकीकृत माओवादी पोलिटव्यूरो सदस्य विश्वभक्त दुलालले प्राकृतिक स्रोत साधनको उपयोग नगर्दासम्म मुलुक समृद्ध नहुने बताए । दलित अधिकारवादी तिलक परियारले देशका नेताहरू आर्थिक विकासको मार्ग तय गर्न नसके चीन र भारतले आफ्नो हितमा प्रयोग गर्ने धारणा राखे ।