नवरात्रिको चौथो दिन : कुष्माण्डाको पूजा

प्रकाशित मिति : २०७६ असोज १५ बुधबार
तस्बिर : फाइल

काठमाडौं। नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिन्छ। आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो। जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ।

यी देवीको आठवटा हात रहेको छ। यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ। यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष, वाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा रहेको हुन्छ। आठौं हातमा सबै सिद्धि तथा निधि प्रदान गर्नेवाला माला रहेको देखिन्छ।

यी देवीको बाहन सिंह हो। यिनलाई कुपिण्डोको बलि प्रिय लाग्दछ। संस्कृतमा कुपिण्डोलाई कुष्माण्डा भनिन्छ। यी देवीको बास सूर्यमण्डलभित्र रहेको स्थानमा हुन्छ। सूर्यलोकमा रहनसक्ने क्षमता केवल यिनमा मात्रै रहन्छ। त्यसैले यिनको शरीरको कान्ति तथा प्रभा सूर्यको भान्ति जस्तै देदिप्यमान रहेको छ। यिनकै दिशाले दश दिशा आलोकित बनेको छ। यिनकै कारणले ब्रह्माण्डका सबै बस्तु तथा प्राणीमा तेज व्याप्त रहेको छ। 

अचन्चल तथा पवित्र मनले नवरात्रिको चौथो दिन यस देवीको पूजा आराधना गर्नुपर्दछ। यसले भक्तको रोग तथा शाकको नष्ट गरिदिन्छ। तथा उसको आयु, यश, बल तथा आरोग्य बृद्धि हुने विश्वास गरिन्छ।

दशैंको चौथो दिन कुष्माण्डाको पूजा गरिँदै, यस्तो छ सामाजिक महत्व
नेपालीहरूको महान् पर्व नवरात्रिको चौथो दिन आज हिन्दूधर्मालम्बीहरूले कुष्माण्डाको पूजा गर्दैछन्। देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ। नवरात्रिको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी चतुर्थी पर्व मनाईँदै छ।

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ। प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ।
 
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ। आश्विन शुक्ल पक्षको दशमी यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ। यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो। 
 
वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ। नयाँ कपडाहरू लगाउने, मिठो खाना खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।
 
सामाजिक महत्व
नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो बाली उमारेर अन्न रूपी सम्पत्ति घरमा ल्याउँछ। त्यतिबेला उसको खुसी एवं उमंगको सीमा हुँदैन। यस खुसीको अवसरमा भगवान्को कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। 
 
दसैँ नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजया दशमी का नामले पनि चिनिन्छ। दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ।
 
दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म पन्ध्र दिनको हुने भएता पनि पहिलो नौ दिनलाई नवरात्रि र दसौँ दिनलाई विजयादशमी  भनिन्छ। यो पर्वमा माता दुर्गाले महिषासुर, शुम्भादि दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको मान्यता छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी,र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन्। (हाम्राकुरा आर्काइव)

नयाँ