arrow

महाअष्टमीको दिन महागौरी यसरी र यसकारण पुजिन्छिन्  

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
mahagauri.jpg

काठमाडौं। माता दुर्गाको आठौं अवतारकी देवी हुन् महागौरी। दुर्गापूजाको आठौं स्वरुप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधि विधान रहेको पाइन्छ। यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ। यी देवीको उपासनाले भविष्यमा समेत पाप (सन्तापसमेत) नष्ट हुने शास्त्रीय मान्यता रहेको छ। 

महागौरीको पूजा गर्दा यो श्लोक प्रयोग गरिन्छ–
श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।

स्वरूप
सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छ भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छ । यी देवीको मुद्रा शान्त खालको देखिन्छ। 

यी माताको स्वरूप गोरो वर्णको छ। यिनका सबै कपडा र गरगहना पनि सेतै छन्। बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन्। यिनको प्रतिज्ञा थियो कि महादेवलाई पाए वरण गर्छु नत्र कुमारी नै भएर बस्छु। यस कठोर तपस्याको कारण यिनको शरीर एकदम कालो हुन पुगेको थियो। 

यिनको तपस्याले खुशी भएका शिवजीले यिनको शरीरलाई गंगाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो । यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ। यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र पछिसम्म पनि बाधा आउन छोड्छ।

पूजा विधि
महाअष्टमीको दिन महिलाहरुले आफ्नो सुहागको लागि देवी माताको भक्ति गर्ने गरेका छन्। देवी गौरीको पूजाको विधान पनि पूर्ववत नै हो अर्थात् जसरी वा जुन प्रकारले सप्तमी तिथिसम्म दूर्गाको पूजा गरिन्छ उही प्रकारले अष्टमीको दिनसमेत अरु दिनको जस्तै देवीको पञ्चोपचार विधिले पूजा गरिन्छ। 

महत्व
माता महागौरीको ध्यान, स्मरण, पूजन र आराधना भक्तको लागि सर्वाधिक कल्याणकारी हुन्छ। हामीले सदैव यिनको ध्यान गरेमात्रै सारा दुःखबाट मुक्ति पाउन सक्ने शास्त्रीय मान्यता रहेको छ। यिनको कृपाले अलौकिक सिद्धि प्राप्त हुन्छ। महागौरी भक्तहरुको कष्ट अवश्य पूरा गर्छिन्। इनको उपासनाद्वारा आर्जन गर्न नसक्ने कुनै विषय नै छैन। 

उपासना
पुराणमा  माता महागौरीको महिमाको प्रचुर आख्यान उल्लेख गरिएको छ। यो मनुष्य जगतमा सत्यको प्रेरित गर्दै असत्यको विनास गर्ने देवी नै महागौरी हुन्। यिनको उपासना गर्दा निम्न मन्त्रहरु पढ्नुपर्छ। 

या देवी सर्वभू‍तेषु माँ गौरी रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ