arrow

रोशनी तिम्रो आँट कायम रहोस्

logo
शोभा अधिकारी, 
प्रकाशित २०७६ असोज २० सोमबार
sova-adhikari.jpg

जापान। जब रोशनी शाही बलात्कृत भएको अन्तर्वार्ता सुनें तब शारीरिक र मानसिक रुपमा शिथिल भएको महशुस गरें । उनले देखाएको घाउले मेरो भित्री आत्मा चिथोरेको जस्तो भो । हामी महिला कोही कसैबाट पनि सुरक्षित छैनौं जस्तो लाग्यो । मनमनै हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिबाकोटीलाई धन्यबाद दिएँ। धन्य छौ तिमी भनेर मनमनै आसिक दिएँ अजयबाबुलाई । शोषित पीडित महिलाको लागि आवाज बाहिर ल्याइदेकोमा भेटेरै धन्यवाद भनौं लाग्यो । मनमनै सलाम पनि उनको आँटलाई । रोशनीको समाचार लेख्न जो पायो त्यो पत्रकारले सक्दैनथे । किनकि शक्ति र सत्ताको भरी गाग्रोमा झिरले प्वाल पारी पानी निकाल्ने आँट कमैमा हुन्छ ।

तर भोलिपल्ट रोशनीको बयान फेरिएको सुनेँ । म आफैं झसंग भएँ । मन भारी भो । बेलुकीसम्म भोगबिलास गर्नको लागि नजरले मन पराएको महिला, भोलिपल्ट मानसिक असन्तुलन भएको भनेर प्रमाणित गर्न खोजियो । उनैको मुखबाट शब्दहरु ओकल्न बाध्य पारियो । 

सम्झिएँ रोशनीको मानसिक पीडा र बाध्यता । अनि आफैंलाई प्रश्न गरें रोशनीको आफ्नो शरीरमाथिको अधिकार उसैसँग हुनुपर्ने होइन र ? त्यतिबेला मनबाट ईश्वर पुकार्दै रोशनीको विवशता बुझ्न खोजें । अरुले कोरेको सीमारेखाको परिबन्धमा रहेको वाध्यता बुझ्न खोजें । मनमनै कामना गरें कदापि आत्महत्या नगर है । मनोबल उच्च बनाऊ । आँट गर । तिमीलाई दैवी शक्ति मिलोस् । यस्तै कुरा धेरै पटक पुकारें ।

शुक्रबार जब रोशनीले प्रहरीकोमा जाएरी दिएको सुनें म आफूले नै संसार जिते जस्तो महशुस गरें । तिम्रो आँटलाई सलाम छ रोशनी ।  उमेरमा त म तिम्रो बहिनी नै होला । यही बहिनीकै नाताले पनि भन्दैछु अब तिम्रो मुद्दाको नजिरले धेरै पीडित र शोषित महिलाहरुले राहत पाउने छन् । आफूलाई कमजोर नसोच्नु । तिमीले पक्कै कानूनी उपचारको मलम प्राप्त गर्ने छौ । मेरो शुभकामना छ ।

अब सम्पूर्ण आत्मीय मनहरुलाई सकारात्मक समाचारको लागि अनुरोध गर्दछु । भद्र पुरुषहरुले पनि यस बारेमा सकारात्मक हुन आग्रह गर्दछु । पहिले नै विवाह भएको महिला स्वीकार्न सक्ने हजुरहरुको महान्ताले बलात्कृत श्रीमतीलाई पारपाचुके होइन मानवता देखाएर स्वीकार्नुस् । कानूनी न्याय दिलाउन सहयोग गर्नुस् ।

राजनीति गर्नेले जनताको आँखाबाट केही पनि लुकाउन मिल्दैन । आफ्ना गतिविधिलाई खुला, पारदर्शी तथा विश्वसनिय राख्नुपर्छ । जसको लागि लोकतन्त्रमा सुन्दरता देखिन्छ । त्यस्तै असल पत्रकारले आफ्नो मुलुकमा राजनीति गर्ने कुन नेता कस्तो हो जसले देश र समाजप्रति कस्तो भूमिका निर्वाह गरेको छ छुट्याइदिने कुरामा मापदण्डको काम गर्दछ । यही काम गरेका शिबाकोटीलाई परदशमै रहँदा पनि धन्यवाद दिइराख्न मन लागेको छ।

राज्यको चौथो अंग पत्रकारिताले जनताको हकको रक्षा गर्नु जति आबश्यकता छ त्यति नै सत्य तथ्य कुराहरु जनताको नजिक राख्नु आबश्यक छ । जनतालाई अन्धकारमा नराखी जनताप्रतिको जबाफदेही हुने दायित्व भएका कुनै पनि व्यक्ति, सार्वजनिक संस्था वा तिनमा आशिन व्यक्तिहरुले गरेका गलत क्रियाकलाप जनता सामु ढुक्क भएर राम्रो पत्रकारिता गर्ने पत्रकारले राख्न सक्नु पर्दछ । त्यही काम गरेकोमा अजयबाबुलाई फेरि पनि धन्यवाद।

अन्त्यमा, अबला महिलामाथि पौरुषत्व देखाउने कृष्णबहादुर महराले आफ्नो गल्ती स्वीकार गरी निष्पक्ष छानबिनको लागि सहयोग गर्नुस् । यसैमा यहाँको कल्याण छ। (लेखिका अधिकारी हाल जापानमा कार्यरत छिन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ