arrow

ए देश ! तँलाई कालापानी दुख्छ, दुख्दैन ?

logo
दीपक खाती,
प्रकाशित २०७६ असोज २२ बुधबार
dipak-khati.jpg

ए देश !
तेरा सतहत्तरै जिल्लामध्ये
यो दार्चुला तेरो जिल्ला होकि होइन ?
तिंकर भञ्ज्याङ देशको किल्ला होकी होइन ?
किन देख्दैनस पूर्खाको गौरव अपीको हाँसो
किन सुन्दैनस् कोयलीको संगित
मयुर मूनालको छमछमी नाँच
विदेशी परिकारमा रमाइरहने
तेरा चाकरीबाँजहरुले किन देख्दैनन्
मेरा थाइसैनका सस्ता आलु
व्याँसको स्याउ

ए देश !
रोएका आँशुले हातगोडा धुन पुग्छ दार्चुलालाई
देश विनाको जिल्ला जस्तै
लोग्ने छँदाछदै कि विधुवा झै
कुनामा सौतेले भएको छ दार्चुला

Image may contain: mountain, sky, grass, outdoor and nature

ए देश !
वसन्त ऋतुमा विरहरुको गीत गाउने
न्याउली चरी
यो देशका पहिचान बोकेका
डाँफे मुनाल
मनभरी पिर, व्यथा बोकेर पनि मुस्कुराउने नाम्पा
कलकल गर्दै बग्ने चौलानी
कालापानीमा भारतिय बुट बज्दा
दुख्छन् पहाडले थिचेसरी
हिजो सुस्ता र कालापानी कब्जा गर्यो
आज लिपुलेक, छाङरु तिंकर कब्जा गर्दैछ

त्यसैले ए देश !
मेरो दार्चुला रुँदा त्यो ढुंगे मुटु दुख्छ कि दुख्दैन् ?
कालापानीले देश भनि बोलाउदा
त्यो तेल हालेको कानले सुन्छ कि सुन्दैन ?
मेरो दुधवन अनि चाइमटेलाको यार्सागुम्बालाई
चिन्सछ चिन्दैनस ?
दिन दहाडै भारतिय सैनिकले मेरो व्याँसमा
गस्ति गर्दा
तिम्रो सिंहदरबारले देख्छ देख्दैन ?
विदेशीले मेरो माटो कुल्चिदा
कालापानीको घाउँले तेरो मुटु छिया छिया हुन्छ हुदैन ?
ए देश तँलाइ कालापानी दुख्छ दुख्दैन ?

(खाती दार्चुलाका स्थानिय हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ