arrow

हेल्प नेपालको बार्षिकोत्सवमा शाह, रुइत र देवी सम्मानित

संसारभरका नेपालीले सम्झिए हेल्प नेपाललाई

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
Help-nepal-award.jpg

काठमाडौं । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवमा ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९ गरि समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन दानवीर र कर्मवीरहरूलाई सम्मान गरेको छ।

काठमाडौंमा शनिबार आयोजित एक विशेष कार्यक्रममा वाङमय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले समाजसेवीहरू श्रीजंग शाह, डा. सन्दुक रुइत तथा नीरा देवी तेलिनलाई उनीहरुले आआफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरे । 

हेल्प नेपालले नेपालगंजको आँखा अस्पताललाई अरबौंको दान गर्ने दानवीर श्रीजंग शाह, लाखौँको आँखामा उज्यालो भर्ने डा. सन्दुक रुइत तथा जनकपुरमा बसेर अनाथ नवजात शिशुहरूको पालन पोषणमा सक्रिय नीरा देवीलाई कदर गर्दै सम्मानित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले हेल्प नेपाल नेटवर्क आफैमा एउटा थीम भइसकेको भन्दै संस्थालाई सातै प्रदेशमा पुर्‍याएर समाजसेवालाई नेपाल भरि फैलाउन सुझाव दिए । उनले दान नै सबैभन्दा ठूलो तक्मा र विभुषण हो भन्दै परोपकारको सोपानले सबैलाई उचाईमा पुर्‍याउने बताए ।

कार्यक्रममा संस्थाका संस्थापकहरू मध्येका एक तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले हेल्प नेपाल नेटवर्कको स्थापना गरिँदाको समय सम्झिए । उनले आफूले कुनै पनि राजनीति नमिसाई हेल्प नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता गगन थापाले हेल्प नेपाल आफैमा एउटा प्रभावशाली अभियान भएको उल्लेख गर्दै यसले स्वदेश तथा विदेशमा रहेका नयाँ पुस्तालाई नेपाली माटोसँग जोड्ने बताए ।

नेकपाका नेता घनश्याम भुसालले एक डलर वा एक पाउण्डको सहयोग भन्दा पनि यसले विदेशमा रहेका नेपालीलाई नेपालसँग प्रत्यक्षतः जोड्ने उल्लेखनीय काम गरेकोमा खुशी व्यक्त गरे ।  

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू डा. सन्दुक रुइत, नीरा देवी, श्रीजंग शाहले पनि बोलेका थिए ।

हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा हेल्प नेपालका सल्लाहकार तथा पूर्वमन्त्री शंकर कोइराला, हेल्प नेपाल अस्ट्रेलियाका डा. राजु अधिकारी, हेल्प नेपाल बेलायतका भगीरथ योगी, अमेरिकाका भक्तबहादुर भण्डारी, एनआरएनका कूल आचार्य, कुमार पन्त,  हेल्प नेपालकी सचिव लता घिमिरे कार्कीलगायतले बोलेका थिए ।

सो अवसरमा हेल्प नेपाल अमेरिकाको समूह तथा अस्ट्रेलियाको समूहले दोलखाको राजकुलेश्वर स्कूल निर्माणका लागि १५/१५ हजार डलर हेल्प नेपाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा हेल्प नेपालले गरेका काम र गतिविधिलाई लिएर तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ