arrow

एनआरएनए जस्तो पवित्र मन्दिरमा छिर्न पार्टीको जुत्ता खोल्नैपर्छ –ः डा.केशव पौडेल (अन्तर्वार्ता)

संसारभरका साथीहरुसँग छलफल, संस्थामा काम गरेको मेरो अनुभव र मेरा शुभचिन्तकहरुको सल्लाह बमोजिम महासचिवमा उम्मेदवारी दिएको हुँ

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
keshav-poudel-nrna.JPG

काठमाडौं । सन् २००५ मा तनहुँबाट उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका डा.केशव पौडेल गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आसीसी)को नवौं विश्व सम्मेलनको महासचिव पदका उम्मेदवार हुन् । एनआरएन अमेरिकाको दुई कार्याकाल अध्यक्ष भइसकेका डा.पौडेल यही असोज २८ देखि ३० सम्म काठमाडौंमा हुने सम्मेलनका लागि आफ्ना नौं बुँदे योजनासहित चुनावी दौडमा छन् । 

मेडिकल डाक्टरका रुपमा कार्यरत उनले सामाजिक र परोपकारी कामलाई अझ शसक्त बनाउँदै विश्वभर छरिएर रहेका नेपालीहरुको हक अधिकार र एनआरएनएको संस्थागत सुधारका लागि महासचिवमा बसेर काम गर्ने इच्छा अनुरुप आफूले उम्मेदवारी घोषणा गरेको दावी गरेका छन् । 

संस्थामा देखिएको अस्तब्यस्तताको व्यवस्थापन, मनपरीतन्त्रको अन्त्य, कार्यालयमा अनावश्यक खर्च नियन्त्रणलगायतका योजनासहित चुनावमा होमिएका डा.पौडेलसँग हामीले गरेको कुराकानीको अंश - 
 

एनआरएनएको महासचिव पदमा तपाईको उम्मेदवारी किन, संस्थामा तपाई के कारण योग्य ? 
मैंले धेरै एनआरएनएका साथीहरुसँग कुरा गरेको छु, छलफल गरेको छु । एनआरएनए अभियानका बारेमा धेरै बहस गरेको छु । संसारभरीका साथीहरुसँग छलफल, संस्थामा काम गरेको मेरो आफ्नै अनुभव र मेरा शुभचिन्तकहरुको सल्लाह बमोजिम महासचिवमा उम्मेदवारी हो । संस्था सुधार गर्ने मैंले धेरै योजनाहरु पनि प्रस्तुत गरिसकेको छु । 

संस्थामा राजनीतिक रंग देखिन थाल्यो, राजनीतिक हस्तक्षेप बढिरहेको गुनासो छ नि ?
यसमा मेरो बेग्लै दृष्टिकोण छ । कुनैपनि संस्थामा राजनीतिक दलको सल्लाह र सहयोग लिने प्रक्रिया नै हुन्छ । नेतृत्वमा पुग्नका लागि आफ्नो नेटवर्कको प्रयोग गर्ने परम्परा नै छ । यद्यपी, एनआरएनएमा गइसकेपछि राजनीतिका आधारमा विभेद गरिनु हुँदैन । संस्थाको मन्दिरमा जाँदा राजनीतिको जुत्ता बाहिरै खोलेर जानुपर्छ । संस्थामा राजनीतिक हस्तक्षेप, रंग र पूर्वाग्रह बन्द गर्नुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । 

नेपालमा एनआरएनएहरुलाई लगानी गर्ने अवसर छैन, सुरक्षित छैन भनिन्छ नि, तपाईंलाई के लाग्छ ?
हाम्रो अभियान भनेको नेपालमा लगानी कसरी बढाउने भन्ने नै हो । तर यसबारे प्रष्ट कुनै नीति थिएन । अनुभवका आधारमा काम गर्नुपर्दथ्यो । तर अब समय परिवर्तन भएको छ । नीति नियमहरु निर्माण भएका छन् तर त्यसलाई परिमार्जन गर्नुपर्ने देखिन्छ । लगानीका लागि कानुनी अडचनहरु नभएका होइनन् । अब नयाँ नीति बनाउन मन्त्रीस्तरबाट पहल थालिनुपर्छ । सम्बन्धित मन्त्रालयका मुद्दाहरु सोही अनुसारका मन्त्रालयबाट पहल थालिनुपर्छ । यसका लागि म सक्षम छु, यसका लागि हामी सबै गम्भीर बन्न जरुरी छ । 

डेढ दशकसम्म पनि प्रवासी नेपालीले मत अधिकार पाउन सकिरहेका छैनन् । तपाइँको घोषणा पत्रमा यो विषय उल्लेख भएको छैन नि, किन ?
एक पटकको नेपाली सँधैंको नेपाली हुनुपर्छ भन्ने मान्यता मेरो पनि हो । विदेशमा बस्ने नेपालीले मत अधिकार पाउनुपर्छ भन्ने बारेमा मैंले निरन्तर बहस चलाइरहेका छु । यद्यपी, यसबारेमा केही प्राविधिक र कुटनीतिक समस्याहरु छन् । यसका लागि पहलहरु भइरहेको छ ।

‘एनआरएनएलाई पहुँच र पैसावालाहरुको मात्र संस्था हो’ भन्ने कुरालाई स्वीकार्नुहुन्छ ?
एनआरएनए विदेशमा बस्ने नेपालीको संस्था हो । यसमा दुईमत छैन । यसमा केही खर्च पनि हुनेगर्छ । तुलनात्मक रुपमा विदेशमा बस्ने र स्वदेशमा बस्ने नेपालीहरुबीच पैसामा केही अन्तर होला । एनआरएनए अभियानमा लागेका ब्यक्तिहरु विदेशमा स्थापित भइसकेका कारण त्यस्तो लागेको हो । तर यो संस्था धनीहरुको क्लब होइन । सामान्य नेपाली पनि यसको अभियानमा सरिक हुन पाउँछन् । भड्किलो र खर्चिलो वातावरण अन्त्य गर्ने र संस्थामा सबैको पहुँच पुग्न सक्ने वातावरण सिर्जना गर्ने अभियानमा म कटिबद्ध छु । 

खाडी मुलुकमा रहेका नेपालीहरुका समस्यामा एनआरएनए गम्भीर बन्न सकेन भन्ने आरोप छ नी, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
खाडी मुलुकका नेपालीहरुका लागि एनआरएनए गम्भीर छ ।  तर खाडीमा समस्या धेरै छन् । संस्थाले सरकारले जस्तो काम गर्न सक्दैन तर समन्वय गर्न सक्दैन । सरकारले यसका लागि नीति बलियो बनाउनु जरुरी छ । नेपालमा नियम कानुन परिमार्जन गर्दै लैजानु पर्छ । बैदेशिक रोजगार नीतिलाई मजबुद बनाउनु जरुरी छ । विदेशमा समस्या पर्दा एनआरएनएको बैदेशिक रोजगार प्रवद्र्धन कोषका लागि परिचालन गर्न सकिन्छ । यसलाई थप अभिबृद्धि गर्दै लैजाने योजनाहरु छन् । त्यस बाहेक मैंले घोषणा पत्रमा उल्लेख भएका विषयमा गम्भीर भएर काम गर्ने प्रण गर्दछु । 



नयाँ