arrow

एनआरएनएको संस्थागत विकास गर्न वार्षिक आठ करोड संकलन गर्ने योजना छ – कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ

logo
प्रकाशित २०७६ असोज २७ सोमबार
mahesh-shrestha-nrna.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनका लागि कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले एनआरएनएको आर्थिक नीति अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउन सके पारदर्शी र मितब्ययी हुने बताएका छन् ।

उनले विश्वभरका नेपालीको साझा संस्था एनआरएनएमा वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरी गैरआवासीय श्रमिक कल्याण कोष, आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गर्ने, सचिवालयको खर्चमा मितव्ययिता पहिलो प्राथमिकतामा राखेर कोषाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

कोषलाई मजबुत बनाउने, आर्थिक पारदर्शी राख्ने साथै नेपालीहरुले गरेको लगानीको प्रतिफल आउने गरी नीतिगत सुधार गर्ने अभियानका साथ चुनावी मैदानमा उत्रिएको उनको दाबी छ ।

१० बुँदे घोषणापत्र जारी गर्दै चुनावी मैदानमा रहेका उनले रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा हात हालेका छन् ।

उनले भने, ‘मैंले १० बुँदे घोषणा पत्र मार्फत मेरा योजनाहरु सार्वजनिक गरिसकेको छु । गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहिता मेरो पहिलो प्राथमिकता हो ।’ त्यसबाहेक संस्थालाई एउटा मोडेल बनाउने योजना छ । बार्षिक आठ करोड संस्थामा भित्र्याउने स्पष्ट योजना मसँग छ । आर्थिक स्रोत जुटाउने अन्य थुप्रै योजनाहरु छन् ।’

नेपालीहरुको लगानी सुरक्षित गर्न र आम्दानी दिलाउन राज्यले मौद्रिक नीति तथा आर्थिक नीति सोही अनुरुप बनाउनु पर्ने उनको धारणा छ । ‘एनआरएनएको आर्थिक सुधार गर्न पनि सोही अनुरुपमा आर्थिक नीति तयार नगरी हुँदैन’ उनले भने, ‘यसका लागि म सँग स्पष्ट खाका तयार छ, काम गरेर देखाउने छु ।’

‘एनआरएनएमा अनावश्यक खर्चहरु भइरहेको छ । लगानीको डकुमेन्डेसन छैन । अन्य विविध समस्याहरु छन् त्यसलाई व्यवस्थित गर्दै संस्थालाई नमूना बनाउने सपना छ’, उनले भने, ‘संस्थाको आर्थिक नीति बलियो छैन । नयाँ नयाँ आर्थिक स्रोतहरु खोजी गर्नु पर्नेछ । साथै खर्च र आम्दानी नमिल्दा संस्थामा घाटा देखिन्छ । यसका लागि सन्तुलन कायम गर्नु पर्नेछ । संस्थालाई एउटा मोडेल बनाउने योजना छ ।’

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका उनी अध्ययनका सिलसिलामा २५ बर्षअघि जापान पुगेका थिए । उनी डेढ दशकदेखि एनआरएनए अभियानमा क्रियाशिल छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) सन् २०१९–२१ नवौं विश्व सम्मेलन असोज २८ गते देखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनका लागि विश्वका ८१ देशका प्रतिनिधि नेपाल आइसकेका छन् । सम्मेलन तीन दिनसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ