arrow

क्यान निलम्बन फुकुवापछि रौनक छायो, चन्द भन्छन् – सोचेअनुरुपकै निर्णय आयो 

‘यो अनअफिसियल हो । इमेल अझै आएको छैन ।’

logo
प्रकाशित २०७६ असोज २८ मंगलबार
can-ICC.jpg.jpeg

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली क्रिकेटमा एकाएक रौनक छाएको छ ।  करिब साढे तीन वर्षअघि लगाएको प्रतिबन्ध सशर्त फुकुवा भएपछि नेपाली क्रिकेटरप्रेमीहरु खुशी हुनु स्वभाविकै हो । 

सशर्तमा के के सर्तहरु रहने छन् नखुलाइए पनि आर्थिक र प्रशासनिक योजना मुताबिक आईसीसीले नेपाललाई दिने सुविधा प्रदान गर्ने संभावना रहेको छ। नेपालको प्रतिबन्ध फुकुवा भएपछि नेपालले आईसीसीबाट पाउने सबै सुविधाहरु पाउने छ ।

निलम्बन फुकुवालाई नेपाली क्रिकेटको नयाँ युग शुरु भएको मानिएको छ । क्यानले उपयुक्त र क्रिकेट मैत्री योजनाहरु अगाडि सारेमा नेपाली क्रिकेटले फड्को मार्ने विश्वास गरिएको छ। नेपाली क्रिकेटले प्रतिबन्धका बावजुद विश्व स्तरमा आफ्नो छाप छाड्ने क्रम जारी राखेको छ।

क्यानको निर्वाचन भए पछि प्रतिबन्ध फुकुवा हुने निर्णय आएको छ। दुबईमा बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो।

बिस २०७३ सालको बैशाखमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको थियो। आईसीसीको पहलमा काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो । निर्वाचन सम्पन्न भए पछि निलम्बन फुकुवाको बाटो खुलेको थियो ।

सोचेअनुरुपकै निर्णय आयो – अध्यक्ष चन्द
आइसीसीको निर्णयप्रति नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खुशी ब्यक्त गरे । उनले हाम्राकुरासंग भने, ‘आइसीसीको निर्णयको स्वागत गर्दछौं । हामीले सोचे अनुरुपकै निर्णय आएको हो । हामीले गरेको अपेक्षा नै यही थियो । धेरै तिरै सुधार हुँदैछ ।’

आइसीसीले राखेका सर्तका बारेमा उनले अगाडि भने, ‘आइसीसीले दिएका सर्तहरु पालना गर्न सक्ने खालका नै छन् । साइटमा दिएका सर्तहरुमा अप्ठेरो केही छैन ।’ उनले थप भने, ‘त्यस्तो गम्भीर सर्त छैन । ९५ प्रतिशत पालना भइसकेका छन् अब ५ प्रतिशत पालना भनेको आर्थिक पाटो जोडिएर ६ वर्षअघि क्यानमा भएको कुरालाई लिएर समेत गरिएका छन् । यी सबै आइसीसीसंग बसेर नै सोही अनुसार पूरा गर्छौं ।’

आइसीसीको यो निर्णयसंगै रेगुलर गतिविधिबाट आउने बजेटहरु सीधै आउने र अन्य फन्ड पनि आउने दावी गरे । उनले भने, ‘अब सर्ट टर्मका लागि कार्ययोजना सहित अगाडि बढ्छौं सरसल्लाहमा ।’

यसरी खुशी व्यक्त गरिहँदा अध्यक्ष चन्दले आफूहरुलाई अझै आधिकारिक पत्र भने आइनसकेको जनाए । उनले भने, ‘यो अनअफिसियल हो । इमेल अझै आएको छैन ।’

प्रतिक्रिया लिन खोज्दा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पटक पटक फोन गर्दा पनि उठाएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ