एजेन्सी । आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर गनलाउसनले पानामा पेपर लिकमा आफ्नो पत्नीको साथ मिलेर विदेशमा गुप्त रुपमा लगानी गरेको खुलेपछि राजिनामा दिनु परेको छ ।प्रधानमन्त्री सिगमुन्दुरले करोडौं डलर गुप्त रुपमा देश बाहिर लगानी गरेको खुलासा भएको हो ।
गनलाउसनले सम्पूर्ण सेयर आफ्नो पत्नीलाई बेचेको र आफू कुनै आर्थिक अपचलनमा संलग्न नरहेको जिकिर गरेका छन् । पानामा पेपर लिकबाट बाहिर नाम आएर दर्जनौं विशिष्ठ व्यक्ति मध्ये उनी पनि एक हुन् तर, पहिलो शिकार उनिनै हुन् । उनिसँगै पानामा पेपरमा मुछिएका अधिकांशले आरोपको खण्डन गरेका छन् ।
प्रधानमन्त्री सिगमुन्दुर पानामा पेपर लिकमा देखिएपछि दशौं हजार मानिसले त्यहाँको संसद्–भवन बाहिर प्रदर्शन गरे । यस्तै प्रतिपक्षी दलले पनि संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको थियो । उनिसँगै चर्चामा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले विज्ञाप्ती जारी गरि आरोपको खण्डन गरेका छन् ।