arrow

प्रवेशिका परीक्षा ‘प्रश्न त कडै आए छ नि मन्त्रीज्यू !’

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
SLC-Nepal_20120615094302-300x195.jpg.jpeg
नुवाकोट । अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन हुन थालेको प्रवेशिका परीक्षामा विद्यार्थीलाई कस्तो अनुभूति भइरहेको होला ? यो आम चासोको विषय बनेको छ । लब्धाङ्क पत्रमा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नगरी ग्रेडका आधारमा विद्यार्थीको श्रेणी विभाजन गरिने व्यवस्था भएपछि नपढे पनि उत्तीर्ण भइन्छ भन्ने सोच पनि कतिपय विद्यार्थी र अभिभावकमा देखिन्छ । 
 
परीक्षाको विद्यार्थी र अभिभावकको बुझाइ जान्न र सामुदायिक विद्यालयको वस्तुस्थिति जान्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रवेशिका परीक्षालाई अवसरका रुपमा उपयोग गर्दै आएका छन् । परीक्षा केन्द्रमा अवलोकन गर्न शिक्षा मन्त्रालयले खटाएका टोलीसमक्ष आमरुपमा गणितबाहेक सबै विषयमा विद्यार्थीले हल गरेको पाइएको छ । 
 
मङ्गलबारको सामाजिक विज्ञान विषयको प्रश्नमा तराइतिरका विद्यार्थीलाई चाहिँ अलि घुमाएर सोधिएको जस्तो लागेछ । नयाँ संविधानमा तराई मधेसी दल आन्दोलित हुँदा पढाइ प्रभावित भएको र सङ्घीयताको सवालमा तराईका नागरिकमा विभिन्न बुझाइ रहेको सन्दर्भमा विद्यार्थीले पनि सहजै उत्तर दिन नसकेको हो कि भन्ने अनुगमनकर्ताको प्रारम्भिक प्रतिवेदन शिक्षामन्त्री पोखरेलसमक्ष आएको छ । 
 
अनुगमनका क्रममा आज ककनी गाविस–३ स्थित भवानी उमावि, रानीपौवा केन्द्रमा जिल्लास्थित अधिकारी र शिक्षक, अभिभावकसँगको छलफलमा मन्त्री पोखरेलले भने – “सामाजिक विज्ञान विषयको परीक्षाका दिन मलाई तराईतिरबाट सोधियो, प्रश्न त अलि कडै आए छ नि मन्त्रीज्यू भनेर, अब मैले के भन्ने, मैले त प्रश्नबारे थाहा पाउने कुरा भएन । त्यसैले म परीक्षाको अवलोकनका क्रममा समस्याको पनि अवलोकन गर्न हिँडेको छु ।” मन्त्री पोखरेल महोत्तरीका सांसद हुन् । 
 
मन्त्री पोखरेलले आफूले २०३० सालमा खोटाङमा प्रवेशिका दिँदा ऐच्छिक गणितको शिक्षक नै नपाएको स्मरण सुनाउँदै नेपाली विद्यालयका शिक्षक दरबन्दी व्यवस्थापन अहिले आफ्नो प्राथमिकताको विषय भएको बताए । भवानी उमावि जिल्लाकै बढी विद्यार्थी ९९१६० भएर पनि शिक्षक कम पाएको भनी प्रधानाध्यापक शङ्करप्रसाद लोहनीले गुनासो गरेपछि मन्त्री पोखरेलले आफू सबै विद्यालयमा हुने यो समस्या समाधान गर्न केन्द्रित रहेको जवाफ दिए । 
 
तीन घन्टा हुने एसएलसीलाई विद्यार्थीको जीवनकै मूल्याङ्कन मान्ने विगतको प्रणालीमा परिवर्तन गरी अक्षराङ्कन प्रणाली लागू गरिएको र यसले गुणमा आधारित शिक्षाको विकासमा योगदान दिने मन्त्री पोखरेलको विश्लेषण छ । यस प्रणालीका बारेमा कुनै थपघट गर्नुपर्नेमा जनस्तरबाट आउने सुझाव कार्यान्वयन गरिने पनि मन्त्री पोखरेलले बताए । 
 
मन्त्री पोखरेलले प्रवेशिका परीक्षाका क्रममा काठमाडौँ उपत्यकाका तीन जिल्ला, काभ्रेपलाञ्चोक र नुवाकोटका केन्द्रमा अनुगमन गरिसकेका छन्  भने पूर्व र तराईका जिल्लामा पनि पुग्ने तयारीमा रहेका छन् । विनाशकारी भूकम्प र अघोषित नाकाबन्दीको असर बिर्संदै परीक्षामा सहभागी विद्यार्थीको मनोवैज्ञानिक अवस्थाबारे पनि मन्त्री पोखरेलले जानकारी लिँदै आएका  छन् । 
 
कुल आठ विद्यालयका २७२ विद्यार्थी सहभागी भएको परीक्षा केन्द्रको अवलोकन र सम्बन्धित अधिकारीसँगको अन्तक्र्रियापछि मन्त्री पोखरेलले परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्दै यस वर्षबाट लागू भएको अक्षराङ्कन प्रणालीले गुणमा आधारित शिक्षाको विकासमा योगदान गर्ने विश्वास  व्यक्त गरे । 
 
मन्त्री पोखरेलले परीक्षा व्यवस्थापनबारे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्का, प्रहरी उपरीक्षक देवबहादुर बोहरा, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भाग्यश्री लामा र प्रधानाध्यापक लोहनी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतसँग अन्तरक्रिया गरेका थिए । 
 
यसैबीच मन्त्री पोखरेलले काठमाडौँसँग जोडिएको नुवाकोट जलुकिनीस्थित ओखरपौवा माविको भूकम्प प्रभावित भवनको अवलोकन गरे । मन्त्री पोखरेललाई विद्यालयका प्रधानाध्यापक पुष्पराज मानन्धरले र व्यवस्थापन समितिका सदस्य बलराम फुयाँलले विज्ञान प्रयोगशाला र नयाँ भवन निर्माणका लागि सहयोगका लागि लिखित अनुरोध गरेका थिए । मन्त्री पोखरेलले तीन वर्षभित्र भूकम्प प्रभावित १४ जिल्लाका विद्यालय पुनःनिर्माण गर्ने आफ्नो योजना रहेको अवगत गराए । 
 
यही चैत १८ गतेबाट सुरु भएको सवा छ लाख परीक्षार्थी प्रवेशिका परीक्षामा सामेल छन् । परीक्षाका लागि कुल छ लाख १५ हजार ५५३ परीक्षार्थीले आवेदन दिएका थिए । यही चैत २९ गतेसम्म चल्ने परीक्षाको अनुगमनका लागि मन्त्री पोखरेलका साथै शिक्षा मन्त्रालयका सहसचिवहरु पनि खटिनुभएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ