arrow

दाल तस्करीको पर्दाफास

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
daal.jpg.jpeg
नेपालगन्ज। नेपालगन्जस्थित भन्सार कार्यालय परिसरबाट प्रहरीले दुई ट्रक अवैध दाल बुधबार यहाँ बरामद गरेको छ । प्रज्ञापनपत्र जारी नगरी बङ्गलादेश निकासीका लागि तयारी अवस्थामा रहेको दालसहित ना३ख ८२४३ र ना४ख ६३१५ नं को ट्रक प्रहरीले नियन्त्रण लिएको हो । 
 
भारतको रुपैडियालगायत बजारबाट साइकलमा दाल नेपाल भित्र्याउने र भन्सार गोदाममा भण्डारण गरी राख्ने गरेको पाइएको बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राइले जानकारी दिए । दालको तस्करीमा भन्सारकै उच्च अधिकारीको पनि मिलोमतो हुनसक्ने भेरी अञ्चल प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातको भनाइ छ । 
 
“नियन्त्रणमा लिइएको दाल छाड्न एक राज्यमन्त्रीदेखि राजनीतिक दलका केही स्थानीय नेताको दबाब पनि पर्न थालेको छ, तर कारबाही प्रक्रियामा नलगी दबाबका भरमा छाडिने छैन”– बस्न्यातले भने । 
 
सुराकीका आधारमा भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छापा मारेर बरामद गरेको दालको परिमाण अहिले यकिन हुन नसकेको प्रहरीको भनाइ छ । तस्करले भारतबाट नेपाल हुँदै बङ्गलादेश पुर्‍याउने दाल तस्करीको खुलासा भएको यो सम्भवतः पहिलो घटना हो । बङ्गलादेशमा दाल महँगो भएका कारण भारतीय दाल नेपाल ल्याएर उता लैजाने गरेको प्रहरीको दाबी छ । 
 
यसरी अवैध दाल बङ्गलादेश पुर्‍याउँदा किलोमा रु १४ देखि २८ नाफा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक ट्रक दाल बङ्गलादेश पुर्‍याउँदा तस्करले करिब रु आठ लाखसम्म कमाउने प्रहरीको भनाइ छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ