arrow

बढ्यो आयोडिन नुन प्रयोगप्रतिको सचेतना    

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
aayonun-user.jpg

जाजरकोट । सदरमुकामसम्म आयोडिनयुक्त नुन ल्याउन पहुँच नहुँदा प्रयोग दर घटेकामा अहिले गाउँ–गाउँमा डिपो सञ्चालन भएपछि प्रयोग दर बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटडेका डिपो स्थापना भएसँगै प्रयोग दर बढेको हो ।     
     
सदरमुकाममा आयोडिनयुक्त नुन ल्याउनका लागि हजारौँ रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि स्थानीयवासीले घर नजिकैबाट नुन पाएका हुन् । जिल्ला पूर्वको नलगाड नगरपालिका–७ दल्ली, पश्चिमको छेडागाड नगरपालिकाको थलह र सदरमुकाम खलङ्गाबाट आयोडिनयुक्त सहुलियत नुन वितरण भइरहेको शाखाका प्रमुख भरत श्रेष्ठले बताए ।
     
पाँच वर्ष पहिले ढिकेनुन मात्र प्रयोग गर्ने जिल्लावासी अहिले पूरै आयोडिनयुक्त नुन प्रयोग गर्न पाएपछि खुशी छन् । आयोडिनयुक्त नुन प्रयोग दर बढेसँगै ढिकेनुन विस्थापित भएको नलगाड नपाका प्रमुख टेकबहादुर रावलले बताए । 

जनताको मागअनुसार आयोडिनयुक्त सहुलियतको नुन जनताले पाएको उनले बताए । आयोडिनयुक्त नुन प्रयोगका फाइदा थाहा पाएकै करण पनि प्रयोग दर बढेको हो ।     
     
अझै आयोडिनयुक्त नुनको प्रयोग बढाउन जिल्लाका बारेकोट गाउँपालिका, जुनिचाँदे गाउँपालिकामा डिपो विस्तार गर्नुपर्ने मागसमेत उठेको छ । सडक सञ्जालसँग जिल्लाका सबै ठाउँ नजोडिएका कारण अझै आयोडिनयुक्त नुन सर्वसाधारणले पाउन नसकेका हुन् । बारेकोट गाउँपालिकाको मुलसाम, जिरीबाट नलगाड नगरपालिकाको दल्लीमा नुन ल्याउनका लागि दुई दिन लाग्ने गर्दछ ।     
     
पश्चिमको थलह बजारमा रहेको डिपोबाट जुनिचाँदे गाउँपालिकामा नुन ल्याउन दुई दिन लाग्ने गर्दछ । त्यस्तै कुशे गाउँपालिकामा समेत अझै आडोडिन नुन ल्याउन समस्या हुँदै आएको छ । 

जुनिचाँदे, कुशेगाउँपालिका र बारेकोट गाउँपालिकामा आयोडिनयुक्त नुन वितरण गर्ने डिपो नहुँदा स्थानीयवासी दुई दिन हिँडेर नुन ल्याउन बाध्य छन् । अबका दुई वर्षभित्र जिल्लाका सबै ठाउँमा सडक सञ्जाल जोडिएमा सबैको पहुँचमा आयोडिननुन हुने सरोकारवालाको भनाइ छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ