arrow

अबको सभामुख को ? 

उपसभामुखमा कांग्रेस, समाजवादी र राजपाको पनि सम्भावना 

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
sanghiya-samsad.png

काठमाडौं । मुलुकको पाँचौ उच्च पद अर्थात् संघीय संसदको सभामुखको पद खाली छ । पदपूर्ति छिट्टै गर्नुपर्ने भएकाले संसदको हिउँदे अधिवेशन छिट्टै डाक्नेबारे परामर्श भइरहेको छ । 

सामान्यतयाः हिउँदे अधिवेशन पुसमा हुने भए पनि मंसिरको पहिलो हप्तामै हिउँदे अधिवेशन बोलाउने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच छलफल पनि भएको छ । 

अर्ली अधिवेशन भनेर बोलाउने सम्बन्धमा पनि छलफल भएकामा अर्ली नभनी हिउँदे नै भनेर अगाडि बोलाउने एक किसिमको सहमति भएको बुझिएको छ । अधिवेशन बोलाएर पहिले सभामुखको निर्वाचन गर्ने र अगाडि प्रक्रिया अनुसार बढ्ने सहमति समेत भएको बुझिएको छ । 

प्रधानमन्त्री ओली र उपसभामुख तुम्बाहाम्फेबीचको सहमतिलाई आधार मान्दा मंसिरको दोस्रो सातासम्म मुलुकले नयाँ सभामुख पाउने सम्भावना छ । 

बलात्कार प्रयासको आरोपमा मुछिएपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो । गत असोज १४ गते नै महराले सभामुख पदबाट राजीनामा दिए पनि अहिलेसम्म नयाँ सभामुखका लागि प्रक्रिया सुरु भएको छैन । यद्यपि पद रिक्त भएसंगै नयाँ सभामुख चयनका लागि छलफल भने भइरहेको छ ।
 
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखका लागि रस्साकस्सी नै भइरहेको छ । यसले गर्दा नेकपा नभई पूर्व एमाले कि पूर्व माओवादी भन्ने विषयले अलि बढी चर्चा पाएको छ । 

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच भागबण्डाको आधारमा माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा सभामुख र एमालेका तर्फबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेका थिए ।

अहिले आएर पूर्व एमालेका केही नेताहरु अब उपसभामुख स्वतः सभामुख हुने अड्डीमा छन् भने केही पूर्व एमालेहरु उपसभामुखलाई यथावत् राखेर अर्को सभामुख खोज्नुपर्नेमा छन् । 

पूर्व माओवादी पक्ष भने आफूभित्रकै सभामुख हुनुपर्ने जोडमा छ । संविधानले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने उल्लेख गरेको छ । त्यस्तै सभामुख र उपसभामुखको लिङ्ग पनि फरक हुनुपर्ने उल्लेख गरेको छ । 

संवैधानिक व्यवस्थाअनुसार जाँदा नेकपाबाट अब एउटामात्र पद आउने देखिन्छ । यसबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि एक पद पाउन सक्छ । कांग्रेसले पनि दावी गरिरहेको छ । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले खुलेआम नै एक पद काँंग्रेसले पाउनु पर्ने र नदिए आन्दोलन गर्ने बताएका छन् । 

अर्कातर्फ सत्ता सहकार्य गरिरहेको समाजवादी पार्टी नेपालको समेत अवसर आउन सक्नेतर्फ पनि विचार विमर्श हुन थालेको बुझिन्छ । समाजवादीले संविधान संशोधनको माग संवोधन नभए सत्ता छाड्ने भनिरहेको छ । तर छाड्न सकेको छैन । समाजवादीको यो दोहोरो रणनीतिले कतै भाग पाउने सम्भावना पनि हुन सक्छ । 

समाजवादी होस् वा कांग्रेस होस् पाउने सम्भावना भनेको उपसभामुखको हो । यो कित्तामा राजपा पनि आउने सम्भावना देखिन्छ । राजपालाई उपसभामुख दिएर फेरि सरकारमा समर्थन जुटाएर केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ रणनीति लिन सक्ने ढोका यद्यपि खुला छ । 

काँग्रेसले यसअघि पनि एक पद आफूले पाउनु पर्ने भन्दै आवाज उठाएको थियो । सत्तारुढ र प्रतिपक्षीबीच सन्तुलन मिलाउन एक पद प्रतिपक्षीलाई छाड्ने चलन मात्र नभइ संवैधानिक व्यवस्था पनि छ । 

यसपटक जसरी पनि एक पद दिनुपर्नेमा काँग्रेस अडिक देखिएको छ । जुन सत्तारुढ दलको कारण पूरा हुने सम्भावना कमै छ । तर उपभामुखमा काँग्रेसलाई दिने सम्भावना पनि बढेको छ । केपी ओली यो विषयमा लचक हुँदै गएको समेत विभिन्न स्रोतहरु बताउँछन् । निरन्तर विपक्षीसंग दूरी बढाउन भन्दा सहकार्य गरेर जान सकिने पनि बाटो ओलीले राख्न सक्ने देखिएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण पछि कांग्रेससँग नजिकिएको सम्वन्धलाई ओली कायम राख्न चाहन्छन् । 

कानुनी प्रक्रिया पूरा गरेर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन सकियो भने काँग्रेस, समाजवादी वा राजपालाई उपसभामुख पद छाड्न सकिनेतर्फ पनि चर्चा चलिरहेको छ । 

को को छन् सभामुखका लागि चर्चामा ? 
पहिलो चर्चामा उपसभामुख तुम्बाहाम्फे हुनु स्वभाविकै हो । उनी बाहेक पूर्व एमालेका तर्फबाट सुवास नेम्वाङ सबैभन्दा योग्य उम्मेदवार हुन् । उनी पूर्व सभामुख हुन् र उनकै पालामा नयाँ संविधान आएको थियो । नेम्वाङ भइसकेपछि अरु कुनै पनि नेताले सभामुखका लागि आँट गरेको देखिँदैन । उनी रुचीकर छन् भन्ने कुरा भने बाहिरिएको छैन । 

सभामुख पहिले माओवादीले पाएको हिसाबले भन्ने हो भने बढी दावी माओवादीतर्फ नै देखिएको छ । पूर्वमाओवादी खेमाबाट सभामुखका लागि प्रमुख सचेतक देवप्रसाद गुरुङ, पम्फा भुसाल, पूर्वसभामुख ओनसरी घर्ती र अग्नि सापकोटाको नाम चर्चामा छ । 

नेकपाको एकता चेन बलियो पार्न पनि गुरुङ वा सापकोटा हुन सक्ने सम्भावना बढी छ । भुसाल वा घर्ती हुँदा लैङ्गिक समस्या पनि हुन सक्ने हुन्छ । नेकपाभित्र योग्य धेरै भएको नेताहरुको ओजका कारण पनि देखिन्छ । कानुनी जटिलता यद्यपि छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ