arrow

पूर्वाञ्चलमा पाठयपुस्तकको अभाव

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
books.jpg.jpeg
पथरी (मोरङ) । शैक्षिकशत्र सुरु हुन एक सातामात्र बाँकी रहँदा पूर्वाञ्चलमा कक्षा ६ र ७ को पुस्तक अभाव भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रनिधि तिवारीका अनुसार कक्षा ६ र ७ को पुस्तक अभाव रहेको र वैशाख महिनाको अन्त्यमा मात्र आइ पुग्ने छ । सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, पाँचथर, इलाम र तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पुस्तकको समस्या देखिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ । 
 
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा पुस्तक लिन आइपुगेका सरकारी विद्यालयका पुस्तकहरु बिक्री वितरण गर्दै आएका धरानस्थित क्वालिटी कपी उद्योगका सञ्चालक सिपी बजगाईंले कुनै पनि कक्षाको पूरै सेट किताब नदिए पुस्तक व्यवसायीले पुस्तक नउठाउने बताए । बजगाईंले भने – “पुस्तक दिने भए पूरै सेट व्यापारीले लान्छन् हैन भने कोही पनि व्यापारीले यहाँबाट पुस्तक लाँदैनन् ।” 
 
चैत मसान्तसम्म सबै जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसक्नुपर्ने सरकारी निर्देशन छ । यता कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म कुनै पनि पुस्तक व्यवसायीलाई उपलब्ध गराउन सकेको छैन । जसका कारण सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । 
 
कक्षा ७ को किताब नपाउँदा समस्या भएको विराटनगर ११ का विद्यार्थी मनोज साहको भनाइ छ । उता पुस्तक पो नआउने हो कि भन्ने विषयले अभिभावक चिन्तित बन्न थालेका छन् । झापा र इलाममा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएका  बिर्तामोडस्थित डाँगी स्क्रिन प्रिन्टका सञ्चालक युवराज डाँगीले जनक शिक्षा सामग्री केन्द्रले वर्षैपिच्छे पुस्तक छापिँदैछ, आउँदै छ भन्ने तर विद्यार्थी अर्को कक्षामा पुग्दासमेत पाठ्यपुस्तक आइनपुग्ने समस्या रहेकाले सरकारले समयमा विद्यार्थीलाई पाठ्यपुस्तक यदि पुर्‍याउने नै हो भने निजी क्षेत्रलाई सबै कक्षाको पाठ्यपुस्तक सङ्ख्या तोकेर छाप्न दिनुपर्ने बताए । 
 
त्यस्तै सिरहा जिल्लामा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएका लहानस्थित यादव बुक एण्ड स्टेसनरीका सञ्चालक दिनेश यादवले निजी क्षेत्रको पाठ्यपुस्तक समयमा पुर्‍याउन कुनै कठिनाइ नभएको भन्दै जनक शिक्षा सामग्री केन्द्रले छापेका पुस्तक बिक्री वितरण गर्न समस्या हुने गरेकाले निजी क्षेत्रलाई पुस्तक छाप्न दिएमात्र समयमा विद्यार्थीले पुस्तक पाउने बताए । पूर्वाञ्चलमा २६ लाख ६५ हजार ८९८ थान पुस्तकको आवश्यक पर्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ