arrow

चिलीमा आपतकाल हटाइयो, विरोध प्रदर्शन जारी

logo
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
chilli.jpg

सान्टियागो ।चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले देशव्यापी हिंसा भड्किएपछि गत सातादेखि लगाइएको आपतकाल सोमबार फिर्ता लिएको घोषणा गरेका छन्। 
तर सरकार विरोधी विरोध प्रदर्शनहरु देशव्यापी जारी रहेका छन् ।

राजनीतिक र आर्थिक परिवर्तनको माग राखी लाखौं मानिस सडकमा उत्रिएपछि राष्ट्रपति पिनेराले सोमबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाएका हुन्। हिंसा रोक्ने भन्दै शहरमा रातिको समयमा लगाइएका निषेधाज्ञा (कफ्र्यु) पनि निस्प्रभावी भएपछि गत शनिबारदेखि त्यस्ता निषेधाज्ञाहरु पनि हटाइएका थिए ।

एक दशकयताकै सर्वाधिक ठूलो नागरिक विद्रोहका कारण मुलुकमा अस्थिरता र हिंसा बढेको भन्दै गत साताभर सरकारले आपतकाल र निषेधाज्ञा जारी गरेको थियो । 

सार्वजनिक यातायातमा भाडा वृद्धि भएको भन्दै विद्यार्थीको विरोधबाट शुरु भएको यो आन्दोलन अहिले देशव्यापी बनेको छ । अहिले यो आन्दोलन सरकारको नियन्त्रण बाहिर पुग्नुका साथै केही व्यक्तिको मृत्यु समेत भएको छ ।

राष्ट्रपतिको ट्वीटरमा देशका विभिन्न भागमा लगाइएका आपतकाल र निषेधाज्ञा तत्काल हटाउने उल्लेख छ । निषेधाज्ञा लागू गरेसँगै देशका विभिन्न भागमा २० हजारभन्दा बढी सेना र प्रहरी परिचालन गरिएको थियो ।

राष्ट्रपति पिनेराले नयाँ सरकार गठन गर्नेगरी मार्गप्रशस्त गर्न वर्तमान मन्त्रिमण्डलका सबै सदस्यलाई राजिनामा गर्न आग्रह गरेलगत्तै आपतकाल हटाउने निर्णय सार्वजनिक भएको हो । पिनेराले शनिबार आफूहरु नयाँ सोचका साथ अघि बढ्न चाहेको बताउँदै एक साताअघिको भन्दा अहिलेको चिली बिल्कुलै भिन्न भइसकेको बताए ।

तर राजधानी सान्टियागोबाट करिब १२० किलोमिटर पश्चिमको भाल्पाराइसोमा हजारौं प्रदर्शनकारी विरोध प्रदर्शन उत्रिएका छन् । भाल्पाराइसोका मेयर जोर्ज शार्पले यो आन्दोलन शान्तिपूर्ण र रचनात्मक रहेको बताए । 

यस प्रदर्शनमा झण्डै १ लाख मानिस सहभागी भएका थिए । प्रदर्शनका क्रममा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच छिटपुट सामान्य भिडन्तका घटना भएका थिए ।

प्रदर्शनकारीले अहिले आर्थिक र राजनीतिक सुधारको कार्यसूची अघि सार्नुका साथै राष्ट्रपति पिनेराको राजिनामा मागिरहेका छन् । 

आगामी नोभेम्बर १६–१७ मा सान्टियागोमै एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को व्यापार सम्मेलन पनि हुँदैछ । प्रदर्शनका कारण यो सम्मेलनलाई असर पार्ने सम्भावना व्यक्त भइरहेका बेला सरकारले भने उक्त सम्मेलन निर्धारित मितिमै हुने स्पष्ट गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायतका नेताहरु उक्त सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ