arrow

फाइभजीमा नरोकिएको चीन

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
china-5G.jpg

काठमाडौं। चीनमा फाइभजी सेवा शुरु भएको छ। चीनका प्रमुख तीन दूरसञ्चार सेवा प्रदायकले बिहीवारदेखि फाइभजी सेवा शुरू गरेका हुन्। अमेरिकासँगको प्रविधिको अन्तर घटाउन चीनले फाइभजी सेवाको शुरूआत गरेको हो। चीनका चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनिकमले आफ्नो फाइभजी सेवा शुरू गरेका हुन्। 

अमेरिका र दक्षिण कोरियाजस्ता मुलुकमा शुरु भइसकेको यो प्रविधि चीनले पनि शुरु गरेको हो। लामो समयदेखि अमेरिकासँग यो प्रविधिको विषयमा रस्साकस्सी चलिरहेको अवस्थामा चीनले यो प्रविधिको शुरुआत गरेको हो। यसअघि नै चीनले सन् २०१९ मा नै फाइभजी सेवा ल्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुसार चीनले यो सेवा शुरु गरेको हो। 

चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकाले विभिन्न बहानामा प्रतिबन्ध लगाइरहेको अवस्थामा चीनले अमेरिकी प्रविधि कम्पनीलाई चुनौती दिनको लागि प्रयास शुरु गरिसकेको छ। फाइभजी सञ्चालन पनि अमेरिका र चीनबीचको द्वन्द्वको प्रमुख कारण हो।

बिहीबार चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी चाइना मोबाइलले चीनको पेचिङ, साङ्हाई र शन्चनसहित ५० सहरमा आफ्नो फाइभजी सेवा शुरू भएको घोषणा गरेको हो। यो सेवाका लागि उसले प्रतिमहीना १८ डलरदेखिको प्याकेज शुरू गरेको छ। उनीहरूले अहिले रहेको फोरजी नेटवर्कको तुलनामा सयगुणा छिटो इन्टरनेट सेवा प्रदान गर्नेछन्। प्रयोगकर्ताले केही सेकेण्डमा पूरा फिल्म नै डाउनलोड गर्न सक्छन्। साथै उनीहरुले एपमा भर्चुअल रियालिटीको प्रयोग गर्न सक्छन्। 

चीनले आगामी वर्षसम्म फाइभजी सेवा प्रयोगकर्ता १७ करोड पुग्ने अपेक्षा गरेको छ। घरेलु बजारमा चिनियाँ दूरसञ्चार उपकरण निर्माताले सफलता पाए पनि बाह्य बजारमा भने उनीहरूले अवरोधको सामना गर्दै आएका छन्। अमेरिकाले चिनियाँ कम्पनीका सामग्रीमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै उनीहरूको उपकरण प्रयोग नगर्न सबैलाई आग्रह गर्दै आएको छ। तर, चिनियाँ कम्पनीले अमेरिकाको आरोप अस्वीकार गर्दै आएका छन्।

फाइभजी सेवा सबैभन्दा पहिला अमेरिकालाई पछि पार्दै दक्षिण कोरियाले शुरु गरेको थियो। तर, चीनले भने केही समयदेखि फाइभजीको परीक्षण गरेर मात्र शुरु गरेको हो। चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनीहरु हुवावेई र जेटीईमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकाले यसमा राष्ट्रिय सुरक्षामा जोखिम रहेको आशंका गर्दै आएको छ। हुवावेईका फाइभजी उपकरणमा जासुसीको सम्भावना रहेको अमेरिकाको भनाइ छ। चीनको नियम अनुसार मुलुकका प्रविधि कम्पनीले सरकारले चाहेको खण्डमा आफ्ना ग्राहकको विवरण सरकारलाई बुझाउनुपर्ने हुन्छ। यस्तोमा बाह्य व्यापारको क्रममा पनि उसले चीन सरकारलाई गोप्य विवरण बुझाउने अमेरिकाको आशंका छ।

यो आशंकाको कारण उसले विश्वका सबै मुलुकलाई उसको उपकरण प्रयोग नगर्न सुझाउँदै आएको छ। अमेरिकाको आग्रहअनुसार अष्ट्रेलिया र न्युजिल्याण्डले पनि हुवावेईको फाइभजी प्रविधिमाथि प्रतिबन्ध लगाइसकेका छन्। त्यस्तै अन्य मुलुकले पनि आशिंक मात्रामा प्रतिबन्ध लगाएका छन्। केही मुलुक अझै पनि हुवावेईमाथिको प्रतिबन्धको विषयमा सोचिरहेका छन्। तर, हुवावेईले भने अमेरिकाको दाबी अस्वीकार गर्दै आएको छ। उसले आफ्नो कुनै पनि विवरण सरकारलाई नबुझाइने र अहिलेसम्म त्यस्तो कुनै पनि किसिमको प्रयास नगरिएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ। 

अहिले चीनमा शुरु गरिएको फाइभजी सेवाका लागि भने चिनियाँ कम्पनीका उपकरण नै प्रयोग हुनेछन्। चिनियाँ कम्पनीका उपकरणको सहायताबाट निकै सस्तो तथा छिटो इन्टरनेट सेवा पाउने बताइँदै आएको छ। जसको कारण अमेरिकालगायतका अन्य मुलुक चिनियाँ कम्पनीलाई रोक्ने प्रयासमा रहेका हुन्। विशेषगरी फाइभजी प्रविधिमा अमेरिका सबैभन्दा अगाडि आउन चाहन्थ्यो। उसले यो प्रविधिको शुरु गर्दा गरेको हतारले पनि यो कुराको पुष्टि गर्छ। अमेरिकाले दक्षिण कोरियामा शुरु गरिएको फाइभजी सेवा वैधानिक तथा नियमसङ्गत नरहेको भन्दै पहिलो फाइभजी सेवा शुरु गर्ने मुलुक रहेको दाबी गर्दै आएको छ।

फाइभजी प्रविधिको हिसाबमा पनि चीन अमेरिकाभन्दा अघि छ। त्यसैले चीनलाई रोक्न अमेरिकाले चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउनेलगायतका कदम चालिसकेको छ। तर, अमेरिकाले गरेको आग्रहअनुसार सबै मुलुकले भने अमेरिकाको आग्रहलाई मानेका छैनन्। सस्तो र छिटो हुने भएकाले पनि धेरै मुलुक राष्ट्रिय सुरक्षा वा गुणस्तरीय सेवा भन्नेमा अन्योलमा देखिएका छन्। विशेषगरी यूरोपेली मुलुकमा सेवा विस्तारको लागि चिनियाँ कम्पनी हुवावेईले प्रयास गरिरहेको छ। तर, अमेरिकाले उसलाई रोक्ने प्रयास पनि गरिरहेको छ। यो प्रयासका बाबजुद जर्मनीले हुवावेईमाथि प्रतिबन्ध नलगाउने निर्णय गरेको छ भने बेलायतले केही कडाइका साथमा हुवावेईलाई प्रवेश दिइने बताएको छ।

हुवावेईले केही समयअघि सार्वजनिक गरेको एक तथ्यांकअनुसार कम्पनीले ५० भन्दा व्यावसायिक फाइभजी प्रविधिको सम्झौता गरिसकेको छ। यसले पनि चिनियाँ कम्पनीको फाइभजी सेवा विस्तारको गतिलाई देखाएको छ। हुवावेईले यूरोपमा पनि उल्लेख्य मात्रामा आफ्नो सेवा विस्तारको काम गरिरहेको छ। फाइभजी सेवा अहिलेको फोरजीको तुलनामा सयगुणा छिटो इन्टरनेट सेवा हो। यसको सहयोगमा उच्च क्वालिटीको फिल्म पनि केही सेकेण्डमा नै डाउनलोड गर्न सकिन्छ। त्यसैले उसको उपकरणको बारेमा बढी चासो दिइएको हो। विश्वका अन्य कही कम्पनीले पनि यसको पूर्वाधार तथा उपकरण निर्माणको काम गरिरहेका छन्। तर, ती सबैभन्दा अगाडि हुवावेई देखिएको छ। 

अमेरिकाले हुवावेईलाई प्रत्यक्षरुपमा अमेरिकामा आफ्नो प्रविधि विस्तारको लागि रोक लगाएपछि हुवावेईले आफ्नो प्रविधि नै अमेरिकी कम्पनीलाई बिक्री गर्ने योजना पनि बनाएको छ। यस विषयमा अहिले छलफल चलिरहेको कम्पनीले केही समयअघि जानकारी दिएको थियो। तर, उक्त लाइसेन्स कस्तो किसिमको हुने हो भन्नेबारे भने कुनै जानकारी दिइएको छैन। 

लामो समयदेखि प्रविधिको क्षेत्रमा अगाडि रहँदै आएको अमेरिकी कम्पनी फाइभजीको मामिलामा भने केही पछि देखिएका छन्। यसबाट चीन र अमेरिकाको प्रविधिको अन्तर पनि केही साँघुरिने पक्का छ। अमेरिकाले चीनलाई आफ्नो प्रविधिको नक्कल गरेको आरोप लगाउँदै आएको छ। तर, फाइभजीको विकासपछि भने अमेरिकाको आरोप पनि चीनमाथि फिक्का पर्न सक्छ। चीन पनि सोही ट्याग मेटाउन लागिपरेको छ।

फाइभजीसँग जोडिएको अर्को महत्वपूर्ण पाटो अर्थतन्त्र पनि हो। फाइभजीको विकाससँगै यसबाट अर्बौं डलरको आम्दानी पनि हुनेछ। सो आम्दानीको आडमा अमेरिकालाई पछि पार्दै विश्वको पहिलो अर्थतन्त्र भएको मुलुक बन्ने दिशामा चीन अघि बढिरहेको छ। चीनको आर्थिक वृद्धि पनि अमेरिकाको टाउको दुखाइको विषय हो। अहिले अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। तर, अबको केही वर्षमा नै चीनले अमेरिकालाई पछि पार्ने विभिन्न प्रतिवेदनले देखाउँदै आएका छन्। त्यसैले अमेरिका चीनलाई रोक्ने प्रयासमा देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट अनावश्यक लाभ लिँदै उल्लेख्य आर्थिक विकास गरेको आरोप चीनमाथि लगाउँदै आएका छन्। त्यसको परिणामस्वरुप अहिले दुई मुलुकको बीचमा व्यापारयुद्ध पनि चलिरहेको छ।

चीनले अहिले अघि सारेको योजना अनुसार मुलुकको अर्थतन्त्र अघि बढाउन प्रविधिको विकास प्राथमिकतामा परेको छ। सोही योजना अनुसार चीन फाइभजी सेवामा अघि देखिएको हो। त्यसका साथै उसले केही अन्तरिक्षको योजना ल्याउँदै आफूलाई अन्तरिक्षमा पनि अब्बल रहेको प्रमाणित गरिसकेको छ। तर, अहिले भर्खर शुरु गरेको फाइभजी सेवा कत्तिको प्रभावकारी हुने हो भन्ने हेर्न बाँकी छ। यसको सफलताले धेरै हदसम्म चीनको भविष्य निर्धारण गर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ