arrow

यो बर्ष १४ अर्वको सुन खपत; व्यापारमा भूकम्पको पीडा विर्साउने संकट

फाल्गुन महिनामा यो वर्षकै सबैभन्दा निराशा जनक व्यापार

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७२ चैत २६ शुक्रबार
gold.jpg.jpeg
काठमाडौं। नेपाली नयाँ वर्षको सुरू हुँनै लाग्दा वितेको यस वर्ष २०७२ को सुन व्यापारलाई फर्किएर हेर्ने हो भने यो वर्षको सुनको माग अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष तीन सय ४० प्रतिशत बढी सुन आयात भएको छ। तर चाँदीमा भने अघिल्लो वर्ष अस्वभाविक मात्रा व्यापार भएकोले यो वर्ष नेपाल राष्ट्र बैंकले पनि चाँदीको कारोबारमा केही कडाई गरेकोले चाँदी आयात तथा व्यापार भने अघिल्लो वर्षको तुलनामा धेरै गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ। महासंघका अध्यक्ष मणिरत्न शाक्यले चाँदीको कारणले अघिल्लो वर्ष सुन आयात तथा कारोबारमा गिरावट आएको भए पनि यो वर्ष सुनचाँदीको व्यापार पोहोर भन्दा बढी भएको बताए। 
 
समग्रमा यो वर्षको सुन आयात तथा निर्यातको स्थितीलाई विश्लेषण गर्ने हो भने बर्षको पहिलो तीन महिना सुनचाँदीको विक्री वितरण ठप्प प्रायः रहेको महासंघले जनाएको छ। गैरकानूनी रूपमा स्थापना भएका सुनचाँदी पसलको कुरा नगर्दा देशभरीका १२ हजार भन्दा बढी सुनचाँदी पसलबाट हुने सुन तथा चाँदीको कारोवार ठप्प प्रायः रहेको महासंघले वताएको छ।
 
बर्षको पहिलो तीन महिना माग उत्साहजनक रूपमा भएको भए पनि विनाशकारी भूकम्पको कारणले माग अनुसारको सुन व्यापार समेत हुन सकेन। तीन महिने भूकम्पको समय पार गरेपछि असारदेखि फाट्टफुट्ट मात्रामा सुन विक्री हुन थालेको देखिन्छ। यो स्थिती तीज देखि फेरि पुरानै स्थितीमा फर्किएको थियो। विवाहको मौसममा ५० केजी सम्म दैनिक मात्रामा खपत हुने गरेको सुनको व्यापार यो वर्षको अन्तिम दुई महिनामा निराशाजनक स्थितीमा आई पुगेको देखिन्छ । यो समयमा विक्रीको अहिले मुस्किलले १५/२० केजी सुन प्रतिदिन खपत हुने गरेको महासंघले जानकारी दिएको छ। 
 
वर्षको अन्तिममा सुन किन्नेको भन्दा बेच्नेको भीड
पछिल्लो समय सुन विक्रीमा आएको गिरावटको मुख्य कारण सुनको मुल्यमा भएको वृद्धि रहेको नेपाल सुन चाँदि व्यावसायी महासंघको ठम्याई रहेको छ। महासंघका अनुसार अहिले तोकिएको मुल्यमा चार पाँच सय रूपैयाँ सस्तो गराउँदा पनि सुन किन्ने भन्दा बेच्ने बढी भेटिन थालेका छन्। पहिले त्यही सुन किन्नको लागि मागको तुलनामा पर्याप्त सुन नपाए पनि प्रतितोला एक हजार बढी तिर्नु पर्ने अवस्था थियो। तर अहिले बजारमा सुन माग भन्दा बढी आयात भईरहेको भएपनि खपत भने न्यून भईरहकेो छ। 
 
किन कम हुँदै छ सुन चाँदीको खपत ?
बजारमा काँचो सुनको माग यो वर्षको अन्तिममा धेरै घटेको भएपनि वर्षेनी सुन खपतमा कमि आउँदै गरेको तथ्याङ्कले देखाएको छ। सुनचाँदी व्यवसायमा संलग्न व्यवसायीहरूका अनुसार पनि सुनको खपत वर्षेनी घट्दै गएको दाबी गर्छन्। यसका कारणहरूका बारेमा महासंघका अध्यक्ष शाक्य भन्छन् कुनै न कुनै हिसावले नेपालीको क्रय शक्ति पहिलो कारण हुनसक्छ सुन खपतमा कमि आउनुको। त्यसै गरी नेपाली बजारमा विक्री हुने सुनको विषयमा विभिन्न समयमा गरिने विभिन्न खालका नकारात्मक टीकाटिप्पणीले गर्दा पनि सुन खपतमा कमि आएको उनको तर्क छ। त्यस्तै गरी गैरकानूनी बाटोबाट आउने सुनले अहिलेको बजारमा धेरै हिस्सा ओगटी सकेको छ। यसले गर्दा पनि कम खपत भएको देखिएको हुनसक्ने पनि उनको तर्क छ। 
 
के हो गैर कानूनी सुनको बजार?
गैर कानूनी सुनको व्यापार भनेको कुनै पनि अन्य मुलुकबाट सरकारलाई थाहा नदिई नेपालमा सुन भित्र्याउने काम हो। नेपालमा हवाई मार्ग बाहेक अन्य जुनसुकै बाटोहुँदै नेपालमा सुन भित्र्याए पनि त्यो गैर कानूनी हुन्छ। अहिले हवाई मार्ग हुँदै कुनै पनि व्यक्तिले ५० ग्राम भन्दा बढी व्यक्तिगत प्रयोजनको लागि ल्याउन नपाउने व्यवस्था रहेको छ। सो भन्दा बढी परिणामको सुन नेपालमा आयात गर्दा पनि सरकारलाई तिर्नु पर्ने कर नतिर्ने हो भने त्यो सुन गैर कानूनी हो। जसलाई जहिले सुकै पनि प्रहरीले नियन्त्रणमा लिएर आवश्य कारबाही गर्न सक्नेछ। 
 
वर्षान्तमा आधा घट्यो सुनको आयात 
नेपालमा चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्मको मात्रै सुन आयातको स्थितीलाई विश्लेषण गर्ने हो भने पछिल्लो महिनामा सुनको आयात झण्डै आधा घटेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ। जस अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २५ करोड बराबरको सुन आयात भएको थियो। जुन तीन सय ५० किलो हो। त्यस्तै भदौ महिनामा अत्याधिक ७०३ किलो सुन आयात भएको विभागको तथ्त्याङ्कमा उल्लेख छ। जुन यो वर्षको सबैभन्दा बढी हो र यसको नेपाली बजार मुल्य दुई अर्व ६८ करोड रहेको छ। त्यसपछि क्रमशः तीन महिना असोज कात्तिक र मंसिर महिनामा क्रमशः चार सय ५०, पाँच सय ५० र चार सय ५० केसी सुन आयात भएको थियो भने पुस महिनामा पाँच सय पाँच किलो सुन वैधानिक रूपमा आयात भएको थियो। त्यस पछि क्रमशः खस्किएको सुनको आयात माघ महिनामा चार सय २ र फाल्गुन महिनामा तीन सयमा सीमित रहेको विभागले जनाएको छ। यो आर्थिक बर्षको फाल्गुन सम्म मात्रै १४ अर्ब बराबरको अर्थात् तीन हजार सात सय १५ केसी सुन आयात भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ