arrow

हजार क्वीन्टल आलुको पहाड बनाइने

logo
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
potato-nepali.jpg

जनक बोहरा, बाजुरा । बाजुरामा पहिलो पटक आलुमेला महोत्सव सन्चालन हुने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले आलु खेतीको पकेट क्षेत्रका रुपमा रहेका बडीमालिका नगरपालिका–७ ढम्कनेमा पहिलो पटक आलु मेला संचालन गर्न लागेको हो । ढम्कने कृषि सहकारी संस्थाले पहिलो पटक विभिन्न सहयोगी संस्थाको सहयोग तथा समन्वयमा मेलाको आयोजना गरेको हो ।

नगरपालिका र कृषि ज्ञान केन्द्रले उक्त क्षेत्रलाई आलु पकेट क्षेत्र बनाउदै कृषकहरुको आय स्तर माथि उठाउनो गरी कार्यक्रम संचालन गर्दै आएको छ ।  पकेट क्षेत्रका स्थानीयहरु मिलेर बनाएको सहकारीले आयोजना गरेको प्रथम आलु मेला यही कार्तिक २० र २१ गते संचालन हुने मेला व्यवस्थापन समितिका प्रचार संयोजक लक्ष्मीराज पाध्यायले जानकारी दिए ।

उनका अनुसार आलु मेलामा एक हजार क्वीन्टलको आलुको पहाड बनाएर प्रर्दशन गरिने भएको छ । व्यवसायिक तथा अर्गानिक खेतीको प्रर्वद्धनका लागि ढम्कनेमा संचालन गरिने पहिलो आलु मेलामा स्थानियहरले उत्पादन गरेका एक हजार क्वीन्टलको आलुको पहाड बनाएर प्रर्दशन गर्न लागिएको बताए ।

ढम्कने पकेट क्षेत्र भएकाले यहाँका कृषकहरुले प्रति घरधुरी एक हजार क्वीन्टल आलु उत्पादन हुने गरेको स्थानीय कृषक वसन्त रोकायाले बताएका छन् । उनले आलु उत्पादन भएपनि आलु विक्री गर्ने बजार नभएको गुनासो गरे।  

ढम्कनेका स्थानीयका खेतीयोग्य जमिन छैन । यहाँका स्थानीयहरुले प्रायजसो आलु खेती नै गर्ने गरेका छन् । तर बजाक्षेत्रबाट आलु उत्पादन हुने क्षेत्र करिब ४ घण्टाको पैदलदुरी टाढा रहेको छ ।

ढम्कनेमा प्रयाप्त मात्रामा आलु उत्पादन हुने भएपनि त्यसले बजार नपाउँदा त्यहाँका किसानहरु आलु मुल्य पाउनबाट बञ्चित भएका छन् । सो कुरालाई मध्यनजर गर्दै प्रर्वद्धनका लागि ढम्कनेमै स्थापना भएको कृषि सहकारी संस्थाले आलु मेला संचालन गर्न लागिएको अध्यक्ष नरबहादुर रोकायाले बताए ।

बजारक्षेत्रबाट टाढा रहेको आलु पकेट क्षेत्रमा आलु मेला नै संचालन गरी प्रसार प्रसार गर्ने किसानहरुका लागि एकदमै आशाको बाटो भएको स्थानीयको भनाई छ । संधै आलु फलाउने तर बजार नपाँउदा सस्तो शुलभ मुल्यमा  बिक्री गरेर आफुहरु आधा पेट नै भएपनि बस्ने गरेको अर्का स्थानिय लोकेन्द्र रोकायाले बताए ।

उहाँले भन्नुभयो–‘ढम्कनेमा सिचाई कुलो छैन,कुलो नुहुदा सबै जग्गा पाखो छ, पाखो जग्गामा खेती लगाउनका लागि आकाशे पानीकै भर पर्नुपर्ने भएकाले करिब ६ महिना जग्गा बाझो रहने र त्यसपछी मात्र आलुखेती गर्ने गरिन्छ ।’

कार्तिकमा कोदो,मकै, धान,आलु, फापर, मुला लगायतका बर्ख बाली भित्र्याउने काम सकिसकेपछी केही स्थानमा मकै बाली लगाएपनि अधिकांश क्षेत्रमा भने फागुनमा आलु खेती गरिन्छ । गहुँबाली केही मात्रामा लगाउने गरेको भएपनि उपलब्धी शुन्य हुने भएकाले स्थानियले कृषकले आलु उत्पादनमा जोड दिएको ढम्कने कृषि सहकारी संस्थाका अध्यक्ष रोकायाले बताए ।

ढम्कने वडिमालिका नगरपािलकाको १४ किलोमिटर दुरीमा पर्दछ,भने त्यहँ नियमित सवारी साधन संचालन हुदैनन् ।

नगरपालिकाको केन्द्र भन्दा केही टाढा रहेको बस्ती प्रायजसो नगदेबालीमात्र उत्पादन हुने भएकाले स्थनिय कृषकहरुले सक्रिय भई गाउमै कृषि सहकारी संस्था स्थापना गरि कृषकले आफ्नो व्यवसायबाट संकलन भएको सानोतिनो रकम दैनिक तथा मासिक बचत गरी कृषी पेशालाई पर्वद्धन गर्न नै औजारहरु खरिद गर्ने गरेको अध्यक्ष रोकायाको भनाई रहेको छ ।  

 जिल्लामै पहिलो पटक आलु मेला लाग्ने भएकाले अहिले यो विषयले निकै चर्चा पाएको छ । कृषि क्षेत्रको विकासका लागि मेला नै आयोजना गरी प्रचार प्रसार गर्नु सकरात्मक भएको नागरिक अगुवाहरुको भनाई रहेको छ ।   

आलु उत्पादन क्षेत्रमा र उत्पादित आलु बजारीकरणका लागि सम्पुर्ण आन्तरिक तथा बाह्य पर्यटकको सुझाव तथा संकलन तथा आलुको पहिचानका लागि मेलामा १ हजार कुइन्टल आलुको पहाड प्रर्दशन गरिने वडाअध्यक्ष धर्मराज पाध्यायले बताए।
 
अन्य महोत्सवमा विभिन्न कलाकारहर बोलाएर दर्शकहरु नचाउनुभन्दा पनि कृषि क्षेत्रको प्रर्वद्धनका लागि नया कार्यक्रम संचालन गर्न लागेकाले नगरपलिकाले पनि यसलाई सकारात्मक दृष्टिकोणले लिएको र सहयोग पनि सकेजती गर्ने  नगरप्रमुख पदम वडुवालले बताए।

ढम्कनेमा संचालन गरिने प्रथम आलु मेलालाई सहयोग गर्न कृषि ज्ञानकेन्द्र बाजुरा पनि उत्तिके तदारुकताका साथ लागिरहेको छ ।
कृषि क्षेत्र तथा लोप हुन लागेको नगदेबालीको पर्वद्धनका लागि मेला संचालन गर्नु सहकारी संस्थाको राम्रो प्रयास भएको र यसले कृषकलाईलाई प्रत्यक्ष प्रभाव पार्ने कृषि ज्ञाकेन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशीको आशा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ