दूध बिचेरै मासिक एक लाख २५ हजार कमाउछन् ८१ वर्षीय बृद्ध
रासस,
प्रकाशित २०७६ कार्तिक १७ आइतबार
559
Shares
पाल्पा । साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्छन्। अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उनको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ ।
गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउछन् ।
अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाईभैँसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिन्छन् ।रू बीस लाखको लगानीमा गाईपालन व्यवसाय शुरु गर्दा बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी अहिले उनको प्रशंसा गर्छन् । नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् ।
दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी हुनुभएको छ । स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट सफल भइने उनको जिकिर छ ।
आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बन्नुभएको छ अधिकारी । विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उनि बताउछन् ।
पछिल्ला वर्षहरुमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर आत्मनिर्भर हुन थालेका छन् । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् ।