arrow

ओली मन्त्र, ‘कपडामा आत्मनिर्भर बन्न कान्ला कान्लामा किम्बू खेती गरे पुग्छ’

एक वर्षमै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
oli-ra-bamdev-new.jpg.jpeg
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई एक वर्ष भित्र खाद्यान्नमा आत्मनिर्भर बनाइने बताएका छन् । टाइमलाइन नै तोकेर बोल्ने गरेका ओलीले यसअघि थुप्रै निर्भरताका एजेण्डाहरु उद्घोष गरिसकेका छन् । अखिल नेपाल किसान महासंघको छैटौं महासम्मेलनको  उद्ध्घाटनमा ओलीले कृषिको आधुनिकीकरण गरेर एक वर्षमा खाद्यान्नमा आत्मनिर्भर र दुई वर्षमा सञ्चित गर्न सक्ने अवस्थामा लगिने सुनाएका हुन् । 
 
प्रधानमन्त्री ओलीले भने, ‘दुई तिहाई जनसंख्या कृषिमा लागेपनि खान पुग्ने अवस्था छैन । अब कृषिलाई आधुनिकीकरण गरेर एक वर्षमा आत्मनिर्भर र दुई वर्षमा खाद्यान्न सञ्चित गर्न सक्ने अवस्थामा लगिन्छ ।’खाद्यान्न आत्मनिर्भरताका लागि प्रविधीको प्रयोग, किसानलाई मलखादको उपलब्धता जस्ता कुरालाई सरकारले प्राथमिकतामा राख्ने प्रधानमन्त्री ओलीले बताएका छन् । नेपाललाई खानेकुरामा मात्र होइन लाउने कुरामा पनि आत्मनिर्भर बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ । यसका लागि रेशम खेती, कपास खेती, टेक्सटायल उद्योग सञ्चालन गरेर स्वदेशमै कपडा उत्पादन गर्नुपर्ने प्रधानमन्त्रीले बताए । 
 
ओलीले थपे, ‘कपडामा आत्मनिर्भर हुनका लागि कान्ला कान्लामा किम्बू खेती अभियान चलाए पुग्छ ।’ वर्तमान सरकार बनेपछि विकासको गति तीव्र रुपले बढेको प्रधानमन्त्री ओलीको जिकिर छ । सरकारले नयाँ सुरक्षित र आधुनिक वस्ती विकासका लागि योजना बनाइरहेको सुनाए । 
 
सरकारको आलोचना गर्नेहरुलाई कुराबाट होइन कामबाट जवाफ दिइने प्रधानमन्त्री ओलीले बताए । दुई छिमेकीसंगको सम्बन्ध सुमधुर भएको, संविधान जारी भइसकेकोले अबको एक मात्र लक्ष्य समृद्धी मात्र भएको प्रधानमन्त्री ओलीले बताए । देशको समृद्धी कृषिको आधुनिकीकरणबाट सम्भव हुने बताउदै प्रधानमन्त्री ओलीले त्यसका लागि किसानका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ