arrow

नेविसंघमा अबको विकल्प, विधान कार्यान्वयन पहिलो शर्त

logo
मनिष सिंखडा,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
manish-simkhada.jpg

नेपाली कांग्रेसको नर्सरीको रुपमा परिचित नेपाल विद्यार्थी संघले देशका हरेक राजनीतिक परिवर्तन र शैक्षिक क्रान्तिमा नेतृत्वदायी भूमिका खेलिरहेको इतिहास छ । नेपाली कांग्रेसका हरेक एजेण्डालाई सडकदेखि जनतासम्म पुर्याउँदै आएको यस संगठनमार्फत पार्टीले कयौं नेता जन्माएको छ । नेपाल विद्यार्थी संघ पार्टीकै मेरुदण्ड र नेता जन्माउने ‘कारखाना’ मानिन्छ । 

पछिल्लो समय पार्टी नेताहरुको निहित स्वार्थ र गुटगत गतिविधिका कारण संगठनले विद्यार्थीमाझ आफ्नो विश्वास गुमाउँदै गएको छ । आफ्ना नजिकका र आसेपासेलाई संगठनको नेतृत्व दिन नेताहरुले नेविसंघको विधान अनुसार चुनाव नगराउने र तदर्थ समितिको नाममा आफ्नो मान्छेलाई टीका लगाइदिने कु–संस्कार बलियो बन्दै आएको छ ।

नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन पूर्व लामो बहसपछि पार्टीद्वारा गठित निर्देशन समितिले उमेर हदबन्दी तोकेको थियो । विद्यार्थी संघको नेतृत्व युवा विद्यार्थी भित्रबाटै ल्याउने र आमविद्यार्थीको पहुँच भित्र नेविसंघलाई राख्न विधानले मद्दत पुग्ने आशाले उत्साह थपेको थियो । उमेरहद विवादकै कारण निर्वाचित केन्द्रीय समितिले आफ्नो नियमित कार्यकाल भित्र अधिवेशनको प्रकृया सुरु गर्नै सकेन । थप समयअवधिमा पार्टीले तय गरेको विधानमासमेत उमेरहदबन्दीको प्रावधान राखियो । त्यही विधान अनुरुप उत्साहपूर्णरुपमा अधिवेशन प्रकृया प्रारम्भसमेत भयो । 

निर्वाचन समिति विघटनसँगै एक्कासि विधान लत्याउँदै, आफूअनुकुल व्याख्या गरेर पाँच दशकको हाराहारी पूरा गर्न लागेको नेतृत्वको कदम विधानविपरित र गलत हुने प्रष्ट छ । तदर्थ समितिको बहाना दिएर अघि सारिएको यो कदम फेरि पनि संगठनमा विधान भन्दा व्यक्तिवादी प्रवृत्ति हावी गर्ने, संगठनलाई सदैव आफ्नो फाइदाअनुसार उपयोग गरिरहने निहित स्वार्थ प्रष्ट देखिन्छ ।

यसअघि पनि नेविसंघको महाधिवेशन प्रयोजनका निम्ति गठित तदर्थ समिति लामो समयसम्म टिकेको इतिहास छ । त्यसैले अहिले नै विधान अनुसार ३२ वर्ष नकटेको नेतृत्व ल्याउनुपर्ने आवश्यकता छ । २५ वर्षको उमेरमा पार्टी सभापति शेरबहादुर देउवा स्वयम् नेविसंघ अध्यक्ष बनेर ४९ वर्षमा देशको प्रधानमन्त्री बन्नु भएको गर्विलो इतिहास छ । विधान कार्यान्वयन गर्न नसक्नुले यसअघि नै समस्या निम्तिसकेको छ ।

अहिले उमेर पुगेका नेतालाई पार्टीमा स्थान दिएर नेविसंघलाई आमविद्यार्थीबाट नै नेतृत्व दिएमा लामो समयदेखि गाँजिदै आएको पुस्ता हस्तान्तरण नगर्ने पद्धति पनि अन्त्य हुन्छ । यसले संगठनको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउँछ भने अर्कोतिर विद्यार्थीबीच हरेक मुद्दामा सक्रिय विद्यार्थी नेतालाई संगठनमा अपनत्व पनि आभाष हुन्छ । 

भर्खरै तीन दशक टेकेका युवाहरुले निरंकुश राणाशासनविरुद्ध लडेर लोकतन्त्र स्थापना गर्ने आँट गरेको कांग्रेसको पृष्ठभूमिमा संसारको विकासक्रमसँगै लोकतन्त्रको पूर्ण अनुभूति गर्न पाएका युवा पुस्ताले आफ्नै पार्टी भित्रको आन्तरिक लोकतन्त्र, विधान कार्यान्वयन र नेविसंघ रक्षार्थ आवाज उठाउन नसक्ने हो भने यो पुस्ता इतिहासकै कमजोर चित्रित हुनेछ । नेविसंघको साख, गरिमा र अस्तित्व कायम राख्न पार्टी नेतृत्वले विधानअनुरुप ३२ वर्ष ननाघेकालाई नेतृत्व दिन जरुरी छ । हिजो नेविसंघकै राजनीति गरेर पार्टीका विभिन्न तहमा पुग्नुभएका नेताले विधान कार्यान्वयनको अपरिहार्यता बुझेर विधान कार्यान्वयनमा भूमिका खेले कति राम्रो हुन्थ्यो।  



नयाँ