arrow

आर्थिक समृद्धि नै सरकारको मुख्य कार्यभार: मन्त्री पौडेल

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Bishnu-Paudel.jpg.jpeg
वीरगन्ज। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धि नै अहिले सिङ्गो राष्ट्रको मुख्य कार्यभार भएको बताए । ‘स्थानीय आर्थिक विकासको आधार : एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४० औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै पौडेलले “उद्योग र वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्तमान सरकार सकारात्मकरुपमा अगाडि बढेको सुनाए ।” 
 
मन्त्री पौडेलले सरकार र निजी क्षेत्रबीचको जीवन्त सम्बन्धबिना मुलुकको राष्ट्रिय अर्थतन्त्र सबल र सुदृढ हुन नसक्ने बताउ“दै मुलुकको आर्थिक विकासका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणमा राज्यले लगानी गर्ने तर आर्थिक क्रान्तिको नेतृत्व निजी क्षेत्रले नै लिनपर्छ भने । 
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयन गर्नु अहिलेको प्रमुख विषय भएको बताउँदै मन्त्री पौडेलले अगामी बजेट पनि त्यसैतर्फ उन्मुख भएर आउने बताए । मुलुकमा आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई प्राथमिकता दिने उल्लेख गर्दै उहाँले सरकारले राजस्व र आर्थिक नीति अवलम्बन गर्दा नीजि क्षेत्रको सुझावका आधारमा गर्ने विश्वास दिलाए । 
 
अर्थमन्त्री पौडेलले वीरगन्ज र तराई मधेसको मात्र नभई सिङ्गो मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने आयोजनालाई विशेष प्राथमिकता दिने बताए । पौडेलले भने, “निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँदेखि तराई मधेस जोड्ने द्रुतमार्ग, हुलाकी राजमार्ग र सुनकोसी—मरिन—वागमती डाइभर्सन आयोजनाको निर्माण, पथलैया—वीरगन्ज—रक्सौलसम्म जोडने बाटोलाई छ लेनको स्तोरोन्नति र वीरगन्जमा निर्माणाधीन रहेको एकीकृत भन्सार चौकी निर्माणजस्ता राष्ट्रिय महत्वको आयोजनाको निर्माण कार्यमा कुनै विलम्ब नगर्ने सरकारको स्पष्ट दृष्टिकोण छ ।” 
 
उद्योग राज्यमन्त्री मेघराज नेपालीले औद्योगिक क्षेत्रमा देखिएको समस्या निराकरणका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै मुलुकमा औद्योगिकमैत्री लगानीको वातावरण सिर्जना गर्न सरकार छिट्टै सकारात्मक पहल गर्ने विश्वास दिलाए । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष सतिशकुमार मोर, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुलाल चाचान, अशोककुमार बैद्य र गणेश लाठलगायतका वक्ताहरूले अर्थमन्त्रीसँग अर्थतन्त्रमा देखापरेको शिथिलता, निर्यात व्यापारमा आएको ह्रास, लगानीको अपर्याप्तता, आन्तरिक व्यापार र व्यावसाय सञ्चालनमा देखिएको गतिरोध अन्त्य गर्ने आधारशिलाको रुपमा अगामी वर्षको बजेट ल्याउन आग्रह गरे । 
 
यसअघि अर्थमन्त्री पौडेलले आजै वीरगन्जको सिर्सिया खल्बाटोलास्थित सुख्खा बन्दरगाह तथा निर्माणाधीन अवस्थामा रहेको नेपाल भारत एकीकृत भन्सार चेकजाँच चौकीको निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ