arrow

रानीपोखरी–रंगशाला खुला पार्क बनोस् 

logo
कुसुम भट्टराई,
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
kusum-bhattarai.jpg

‘म पुग्दा काठमाडौंमा बसन्तु ऋतु चलीरहेको थियो । कान्तिपुरमा अवेलासम्म ढुसी लागीरहेकै थियो । जाडो निख्रिएको थिएन। वन बाटिकाको हरियालीले ढाकिएको र घेरिएको काठमाडौं उपत्यकामा कही कतै कुनै कोलाहल र आवाज थिएन । शहरभित्र जताततै खाली चउर र खेत मात्र थिए । सडक र गल्लीहरु सुनसान थिए । यदाकदा घोडा र लरीहरु देखिन्थे । धुलो उडनै पाउँदैनथ्यो । धुलो उडाउने नै कोही थिएन अनि हिलो गिजोल्ने पनि कोही हुँदैनथ्यो । सडकमा पुस्तौंदेखि जमीरहेको हिलो थियो त्यसलाई पनि कसैले चलाएको थिएन । ति अँध्यारा सडकमा दिनभर साँढे सुत्थे, ति साँढे निकै मोटा थिए । रातभरी खुला चौरमा चरेर ति मोटा भएका थिए ।’

पुराना राजनीतिज्ञ राजेश्वर देवकोटाले केही वर्षअघि पँक्तिकारसँग आफु पहिलो पटक (विसं १९९८ फागुन) गोर्खाको लिगलिगबाट काठमाडौं आउँदाको परिवेश बयान गरेका थिए । उनका अनुसार रानीपोखरीदेखि दशरथ रंगशालासम्म पुरै खुला चउर थियो, जहाँ सेनाको परेड हुन्थ्यो । राजधानीबासीको भेला हुने थलो त्यही टुँडीखेल नै थियो । असन इन्द्रचोकका केही वस्तीबाहेक नक्साल, गौशालासम्म फाँटै फाँट थियो । 

कलेज अफ अप्लाइड बिजनेशका प्रिन्सीपल काठमाडौंका रैथाने रमेशकुमार पाण्डेका अनुसार तिनताक काठमाडौं शहर खुला र प्राकृतिकपनले भरीएको हुन्थ्यो । धुवाँ र धुलो पटक्कै थिएन । केही राणाजीसँगबाहेक अरुसँग मोटर खासै थिएन । शहरमा मोटर फाट्टफुट्ट मात्र देखिन्थ्यो । काठमाडौं शहर भन्नाले असन, इन्द्रचोक र आसपासको क्षेत्रमै सिमित थियो ।  

‘काठमाडौंबाहीरका वस्तीका रुपमा कालीमाटीमा एक लाइन लहरै केही घरहरु थिए भने त्रिपुरेश्वरमा केही घरहरु थिए । उता, नक्सालसम्म दरबारकै एरीयाले छुन्थ्यो । त्रिचन्द्र क्याम्पसको छेउमा ऋषिराम भण्डारीको घर थियो र त्यहाँबाट कमलादी जनशमसेरको घरसम्म पुरै खाली थियो । त्यसपछि कमलपोखरी, डिल्लीबजार, पुरानो बानेश्वर, चाबहील, महाराजगञ्ज र लाजीम्पाटमा अलीअली घरहरु थिए । यसबाहेक बाँकी सबै खेतै खेत थियो, जहाँ काउली, मुला र आलुको खेती गरिन्थ्यो । डिल्ली बजार र नक्सालका मानिस असन जानुपर्‍यो भने ‘शहर जाने’ भनेर हिंडथे । शहरका मानिसका लागि नक्सालपारीका क्षेत्र करीब करीब गाउँजस्ता लाग्थे’, पाण्डे सम्झन्छन् । 

आजको पुस्ताका लागि देवकोटा र पाण्डेका यी स्मरण किंवदन्ती झैं लाग्छ । अहिले प्रज्ञा प्रतिष्ठान भएको कमलादी आसपासको क्षेत्रमा काउली र मुला फल्ने बारी मात्र थिए भनेर पत्याउन मुस्कील पर्छ । तर, कमलादी गणेशथान छेउमै रहेको ‘हामा आइरन एन्ड इन्डस्ट्रीज’का अध्यक्ष बालकृष्ण श्रेष्ठको बाल्यकाल काउली र मुला बारीमा लडीबुडी खेलेरै बित्यो । श्रेष्ठका अनुसार अहिले गणेशस्थान रहेको ठाउँमा गणेशको सानो मुर्ती मात्र थियो । अहिलेजस्तो भव्य मन्दिर थिएन । पछि राजा महेन्द्रले लोकदर्शन बज्राचार्यलाई गणेशस्थानभन्दा ठिक अगाडीको जमीन बकसमा दिए । लोकदर्शनले त्यो जमीनमा घर बनाए, जुन घरलाई ‘साम्भु कन्स्ट्रक्सन’ नामक कोरीयन कम्पनीले भाडामा लियो । गणेश भगवानकै कृपाले भन्नुपर्ला, त्यो कोरीयन कम्पनीले एयरपोर्टको ठेक्का पनि पायो ।  कम्पनीले धेरै उन्नती प्रगति गर्दै गयो । 

कालान्तरमा कमलादीमै राजा महेन्द्रका बहीनीहरु शान्ति सिंह, शारदा शाह र सोभा शाहीलाई पनि जमीन दिइएको थियो, जहाँ उनीहरुको आ–आफ्नो आवास निर्माण भयो । राजा महेन्द्रबाट आफ्ना सचिवहरु काजी मधुसुदन राजभण्डारी, काजी इश्वरीमान श्रेष्ठ, र शारदाप्रसाद प्रधानलाई पनि कमलादीमै जमीन बकस भयो । उनीहरुले पनि त्यहाँ घर बनाए । सो क्षेत्रमा जमीन किनेर घर बनाउनेहरुको उन्नती प्रगति हुँदै गयो । त्याहाँ वस्न थालेपछि दरबारका सह–सचिवहरु पनि पछि बढुवा भएर काजीसम्म बन्न पुगे । त्यसरी कमलादी गणेश सबैको आकर्षण र आस्थाको चर्चित केन्द्र बन्दै गयो । 

कुनैबेलाको काउलीबारी कमलादी अचेल आर्थिक कारोबारको एउटा केन्द्र बन्न पुगेको छ ।  यो एरीयामा अहिले सारा बैंक आएर बसेका छन् । हिमालयन बैंक, प्रभु बैंक, सिटिजन बैंक, नविल बैंक, ग्लोबल आइएमइ बैंक, बैंक अफ काठमाडौं, एनआइसी एसीया कमलादी गणेशथान आसपासमै छन् । हालसालै एनएमबी बैंकले पनि यही एरीयामा जमीन किनेको छ । कमलादी प्लाजा, हेरीटेज प्लाजा, नेपाल लाइफ इन्सुअरेन्स कर्पोरेशनले पनि घर बहालमा लिएका छन् । सामसुङ स्मार्टफोन, गोर्खा ब्रुअरी, सुर्य इन्टरनेशनल कम्पनी, अमेरीकन दुताबासको रेसीडेन्सी भवन, प्रज्ञा प्रतिष्ठान यहीं छन् । कमलादीसँगै जोडीएका दरबारमार्ग, कमलपोखरी, पुतलीसडक, बागबजार र रत्नपार्क क्षेत्रमा पनि आर्थिक चहलपहल बढीरहेकै छ र बढेको छ, अग्ला अग्ला भवन निर्माणको होड । यही व्यापारीक होडको लपेटले गाँज्दैछ, पुरातात्विक, ऐतिहासिक र राजनीतिक विरासत खुलामंचको अस्तीत्वलाई पनि, जहाँ माफीयाहरु केही समययता निकै सलबलाइरहेका छन् । 

खुलापनको आनन्द 
२०४६ सालको वर्षा याम । सोह्र वर्षको उमेरमा पहिलो पटक काठमाडौंमा पाइला टेक्दा मैले देखेका तिनवटा नौला संरचना थिए, धरहरा, शहीद गेट र खुलामंच । नाइट साझा बसबाट विहान पाँचै बजे सुन्धारामा ओर्लेपछि मैले कौतुहल र रोमांच भावका साथ धरहरालाई केहीबेरसम्म नियालेको थिएँ र टुप्पैसम्म त्यसका तला पनि गनेको थिएँ । 

मलाई पुग्नु थियो, बागबजार । सोध्दै, खोज्दै पैदलै वीर अस्पतालनेर पुग्दा साउने झरी पर्‍यो र म खुलामंचतिर दौडिएँ । काठमाडौंमा मलाई पहिलो पटक त्यही खुलामंचले ओत दिएको थियो, जहाँ केही असहाय, शसक्त र दीन दुःखीहरु सुतीरहेका थिए । 

२०४६ साल चैत्र २६ गते राती राजा वीरेन्द्रबाट बहुदलको घोषणा भयो । भोलीपल्ट खुलामंचमा आयोजित विजयसभामा मैले पहिलो पटक हजारौं जनताको अपार शक्ति देखें । आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह, नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई, महामन्त्री गिरिजाप्रसाद कोइराला, बाममोर्चाकी नेतृ सहाना प्रधान, मनमोहन अधिकारी, राधाकृष्ण मैनाली, तुलसीलाल अमात्य आदि नेताहरुसँग त्यही खुलामंचमै मेरो पहिलो साक्षात्कार भएको थियो र उनीहरुका जोशीला भाषण र जनताको तालीको गडगडाहट सुन्ने मौका पाएको थिएँ । खुलामंचले नै ममा राजनीतिक चेतना विजारोपण गरिदिएको थियो । 

प्रजातन्त्र पुनस्थापनायताका दिनहरुमा खु्लामंच अभिव्यक्ति स्वतन्त्रता उपभोगको मुख्य केन्द्र बन्यो । काठमाडौं महानगरपालिकाका तात्कालीन उपमेयर नविन्द्रराज जोशीको पहलमा त्यहाँ रहेको हङकङ बजार हटाइएपछि खुलामंच झन बढी खुला भएको थियो । नजिकैको रत्नराज्य कलेजमा पढदा हामी साथीहरु गफ गर्दै खुलामंच पुग्थ्यौं र चौरमा माघको पारिलो घाम ताप्दै सुन्ताला र बदाम खान्थ्यौं । केहीबेर त्यही सुतेर साँझपख गणेशथाननेर मिठो बासनादार मःम खाएर डेरामा फर्कन्थ्यौं । 

रत्नपार्क र रानी पोखरीको विचमा रहेका रिमझिम भोजनालयलगायतका पसल, होटेलहरु भत्काइएपछि त्यहाँ गणेशमान शान्ति बाटिका बन्यो र खुलामंच आसपासको क्षेत्र केही खुला भयो । रत्नपार्क, खुलामंच आदि क्षेत्रमा शिलाजीत बेच्ने चटके र नांगलो पसलेबाहेक खासै व्यापारिक चहल पहल थिएन । खुलामंच साँच्चै खुला थियो, जहाँ गएर थाकेका बटुवाहरु सुस्ताउन पाउँथे । दुःखी जिवनका उच्छवास र सुस्केरा सुसेल्न पाउँथे । धादिङ, काभ्रे या रानीपैवा र त्रिशुलीतिरबाट डोकोमा तरकारी, फलफूल बोकेर आएकाहरु त्यही खुलामंचमा भारी बिसाएर आराम गर्थे । बिहान बिहान टुँडीखेलमा प्रभातफेरी गर्ने, फुटवल खेल्ने र व्यायाम गर्नेहरुको बाक्लै भीड हुन्थ्यो । यो पँक्तिकार ति दिनमा धेरै पटक टुँडीखेलको खुला घाँसे मैदानमा दुइ तिन घन्टा मस्तसँग सुतेको छ, फ्रेस हावा खाँदै । बिना रोकटोक, बिना होहल्ला, शान्त र स्वच्छ परिवेशमा । 

माफीयाको मनपरी 
कालान्तरमा विस्तारै यो क्षेत्र साँघुरो हुँदै गयो । टुँडीखेलको ठिक पारी काठमाडौं मललगायतका अग्ला भवनहरु बने । सैनिक अस्पतालमा पनि नयाँ अग्ला संरचना बन्यो । व्यापारीक सोचले सरकारी जग्गा भरीन थाले, सरकारी भवनहरु अग्लीन थाले । 
रत्नपार्कमा शौचालय निर्माणका नाममा खाजा घर र जुत्ता पसलहरु खुल्न थाले । खुलामंच छेउछाउमा पनि सार्वजनिक शौचालय निर्माणसँगै जुत्ता, कपडा र खाजा पसलहरु खुले । आकाशे पुलले यस क्षेत्रलाई झन संकुचीत बनायो भने आकाशे पुलमुनीका पसलहरुले परिवेश झन खुम्च्याए । आम जनताका लागि निर्वाध घुमफिर गर्न पाइने रत्नपार्कमासमेत प्रवेश गर्न अचेल शुल्क तिर्नुपर्छ । गोजीमा दाम छैन भने सार्वजनिक शौचालयको उपभोग गर्न पाइदैन । सैनिक मुख्यालयमा नयाँ नयाँ संरचनाहरु बनेकाले त्यो क्षेत्र पनि खुम्चीदै गयो । यसरी कुनैबेलाको रानीपोखरीदेखि दशरथ रंगशालासम्मको खुला परेड मैदानमा लोभीपापीका स्वार्थका स्तम्भ खडा भए, भइरहे । 

यहाँसम्म त काठमाडौंबासीले सहेकै थिए, तर तीन चार वर्ष यता खुलामंचको खुलापनको दोहन मात्र हैन, बलात्कार नै हुन थाल्यो । पुरानो बसपार्कमा व्यापारिक ‘काठमाडौं टावर’ बनाउने भन्दै ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले ठेक्का लियो र पुरानो बसपार्कलाई खुलामंच सारियो । तर, साढे चार वर्ष बितिसक्दा पनि टावर निर्माणको काम सुरु भएन, बरु ठेकेदार कम्पनीले खुलामंचमा अनधिकृत रुपमा ४० वटा पक्की व्यापारीक सटर निर्माण गर्दै भाडा उठाउन थाल्यो । सटरमा पसल खोल्नेहरुसँग प्रति सटर सलामी भन्दै ६ देखि ११ लाखसम्म उठाइयो र सटर भाडा पनि मासिक ६ देखि २० हजारसम्म उठाउन थालियो । 

ऐतिहासिक, पुरातात्विक, राजनीतिक र साँस्कृतिक विरासतका रुपमा रहेको टुँडीखेलको अभिन्न अँग खुलामंचलाई कुनै छट्टु ठेकेदारले दुहुनो गाई बनाइरहेको देखेपछि काठमाडौंबासी विरोधमा उत्रिए । काठमाडौं महानगरपालिकाले बुझेर पनि बुझ पचाएर कुनै कारवाही नगरिरहेको बेला जनताको विरोधले काम गर्‍यो र महानगरपालिका ति सटर र टहरा भत्काउन बाध्य भयो । 

Image may contain: one or more people and crowd

अकुपाई टुँडीखेल 
केही समय सामसुम भएको खुलामंचको मुद्दा त्यसबेला पुनः बल्झीयो, जब महानगरपालिकाकै मिलेमतोमा खुलामंचमा पुनः अतिक्रमण हुन थाल्यो । राजधानीका खाली सरकारी जमीनमा अवैध संरचना बनाएर नाफा कमाउन पल्किएका माफीयाहरु फेरी सलबलाएपछि र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आफै त्यसको मतियार बनेपछि यतिबेला नागरिक स्तरबाट खुलामंच खाली गराउने अभियान सुरु भएको छ, जुन अपरिहार्य र स्वागतयोग्य कदम हो । 

टुँडीखेल अतिक्रमण रोक्न नागरिक दबाब अपरिहार्य थियो, त्यसैले शनिवार ‘अकुपाई टुँडीखेल अभियान’ अन्तर्गत खुलामंच र रत्नपार्कलाई मानव साँगलोले घेरीयो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व मन्त्रीहरु हिसिला यमी, भिमसेनदास प्रधान, गगन थापा, कामनपा उपप्रमुख हरिप्रभा खड्कीलगायतको सहभागिता रहेको कार्यक्रममा राजधानीबासीको बाक्लो उपस्थिति थियो । 

अब यो अभियानलाई यसरी निरन्तरता दिइयोस् कि रानीपोखरीदेखि दशरथ रंगशालासम्मको पुरै भुभाग खुला होस् । महानगरको विचमा सैनिक मुख्यालय आवश्यक नभएकाले त्यसलाई त्यहाँबाट अन्यत्र सार्न सकिन्छ र रानीपोखरीदेखि रंगशालासम्म एउटै बिशाल जगर्स पार्क निर्माण गर्न सकिन्छ, जहाँ राजधानीबासी मर्निङ वकका लागि निर्वाध जान सकून् । राजधानीका लागि यो जिवन्त फोक्सो बन्नसक्छ र २०७२ वैशाखको जस्तो महाविनाशकारी भुकम्प आउँदा त्यो जिवन रक्षक र आश्रयको थलो बन्नसक्छ । राजधानीको जन घनत्वलाई ख्याल गरेर पनि अब यो क्षेत्र खुला गराउनैपर्छ । 

अहा, रानीपोखरीदेखि रंगशालासम्म पुरै खुला पार्क बन्यो भने यो पर्यटकको मुख्य आकर्षण बन्नसक्छ । अझ, भृकुटी मण्डपमा समेत माफीया डनहरुले कौडीको मोलमा हडपेका फनपार्क र अनावश्यक व्यापारीक संरचना भत्काएर त्यसलाई पनि रमणीय पार्क बनाउने हो भने काठमाडौंलाई यत्ति खुलापनले नै पर्याप्त अक्सीजन दिनसक्छ । 

भूमिगत पार्किङ
यो विशाल पार्क बनेपछि यही पार्कमुनी सवारी साधनहरुका लागि भूमिगत पार्कीङ सेन्टर बनाउन सकिन्छ, जसले राजधानीमा उत्पन्न पार्किङ समस्या समाधान गर्नसक्छ । पूर्व उर्जा सचिव हरिराम कोइरालाले राजधानीको माटोमा सुरुङ खन्न मिल्ने अभ्यास गरिसकेका छन् । उनकै पहलमा पशुपति, गुहेश्वरीबाट सुरुङ खनेर ढलको पानीलाई तिलगंगा पारी बागमतीमा मिसाइएको हो, जसले काठमाडौंको माटो सुरुङ खन्नका लागि उपयुक्त छ भन्ने पुष्टी गर्छ । भविश्यमा रानीपोखरीदेखि रंगशालासम्मको विशाल बगैचा मुनी भूमिगत पार्किङ सेन्टर, डिपार्टमेन्टल स्टोर आदि निर्माण गर्न पनि त सकिन्छ । तर, यसका लागि पहिलो शर्त हो, टुँडीखेलको खुृलापन, टुँडीखेलको मुक्ति । अकुपाई टुँडीखेल । 



नयाँ