arrow

जसले हासिल गर्दैछ ८६ प्रतिशतको आर्थिक वृद्धि

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
guyana-map.jpg

काठमाडौं। पछिल्लो समय विश्व अर्थतन्त्र सुस्ताउँदो क्रममा छ। यस्तोमा चीन, भारतलगायतका मुलुको अर्थतन्त्र पनि थप सुस्ताउँदै गएका छन्। विश्वका ठूला वित्तीय संस्थाले गरेको प्रक्षेपणले पनि विश्व अर्थतन्त्र सुस्ताउँदै गएको देखाउँछ। अमेरिका–चीन व्यापारयुद्ध, ब्रेक्जिट, खाडी क्षेत्रको तनाव र विश्वभर मौलाउँदै गएको संरक्षणवादी नीतिको कारण समग्र अर्थतन्त्र प्रभावित बन्न पुगेको हो। यस्तोमा अझै पनि यो समस्या समाधानको कुनै स्पष्ट संकेत पनि देखिँदैन। यसले विश्व अर्थतन्त्रलाई थप समस्यामा पार्न सक्छ।

यिनै समस्याको कारण विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेका मलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण पनि वित्तीय संस्थाले घटाउँदै लगेका छन्। अहिले चीनको अर्थतन्त्र झण्डै ३० वर्षयताकै सुस्त गतिमा अघि बढ्ने अवस्थामा पुगेको छ। त्यस्तै अर्को तीव्र गतिको आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक भारत पनि ६ प्रतिशतभन्दा कम आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।

विश्वभर अहिले आर्थिक क्षेत्रमा समस्या देखिए पनि सबैभन्दा प्रभावित दक्षिण अमेरिकाको क्षेत्र बन्न पुगेको हो। अहिले दक्षिण अमेरिकी मुलुक चरम आर्थिक संकटको सामना गरिरहेका छन्। चाहे त्यो अर्जेन्टिना होस् वा ब्रजिल सबैको अवस्था उस्तै छ।

त्यहाँको राजनीतिक द्वन्द्वको कारण पनि यो क्षेत्र आर्थिक वृद्धिको हिसाबमा पछि परेको हो। तर, संसारलाई आश्चर्यमै पार्नसक्ने एक मुलुक पनि दक्षिण अमेरिकामै छ। त्यो मुलुकको नाम हो–गुयाना। यो विश्वकै सबैभन्दा सानो मुलुकमध्येको एक हो। यो मुलुक अहिले विश्वकै सबैभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गर्ने संघारमा छ।

गुयानाको अर्थतन्त्र आगामी वर्ष ८६ प्रतिशत बढ्ने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बताएको छ। केवल ७ लाख ८० हजार मात्र जनसंख्या रहेको यो मुलुकको आर्थिक वृद्धिदर यस वर्ष केवल ४ दशमलव ४ प्रतिशत रहने अनुमान छ। गुयानाको अर्थतन्त्रबारे अहिले गरिएको प्रक्षेपणको गति चीनको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा १४ गुणा बढी हो।

पछिल्लो समय आईएमएफले गरेको यो प्रक्षेपणले गुयाना विश्वको एक उदाहरणीय मुलुक बन्नसक्ने देखिन्छ। यो मुलुकले अबको पाँच वर्षमा आफ्नो अर्थतन्त्रको आकार तीन गुणा पुर्‍याउनेछ। आकारको हिसाबमा हेर्ने हो भने यो उपलब्धि निकै महत्वपूर्ण हो।

भारतले अबको पाँच वर्षमा आफ्नो अर्थतन्त्र दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। तर, उसले लक्ष्य पूरा गर्न ठूलो चुनौती रहेको विश्लेषकहरुले बताइसकेका छन्। यसबाट पनि अर्थतन्त्र तीन गुणा बढाउने योजना कतिको महत्वपूर्ण हो भन्ने कुरा पुष्टि हुन्छ।

एक अन्तर्वाताको क्रममा गुयानाका अर्थमन्त्री विन्स्टन जोर्डनले आफूहरु निकै कमजोर अवस्थाबाट महत्वपूर्ण आर्थिक फड्को मार्ने प्रयासमा रहेको बताए। गुयाना दक्षिण अमेरिकाको एकमात्र अंग्रेजी भाषा बोलिने मुलुक हो। यो मुलुकले सन् २०१५ मा मात्र मुलुकमा रहेको तेल रिजर्व पत्ता लगाएको थियो। त्यतिबेलासम्म मुलुकले कच्चा तेल उत्पादन गर्दैनथ्यो।

जबकी यो मुलुकको छिमेकी भेनेजुयला विश्वको सबैभन्दा ठूलो तेल रिजर्भ भएको मुलुक थियो। अहिले गुयानाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ अर्ब डलर मात्र छ। तर, सन् २०२४ सम्म उसको जीडीपी १५ अर्ब डलर पुग्ने अपेक्षा छ। यस किसिमको आर्थिक सुधार त्यत्तिकै हासिल हुन लागेको भने होइन।

त्यसका लागि गुयानाले आफ्नो महत्वपूर्ण योजना पनि अघि सारेको छ। यी योजनाको आधारमा रहेर नै आईएमएफले आगामी वर्षको लागि उक्त प्रक्षेपण गरेको हो। सरकारले राजस्वबाट उठ्ने रकम सडक निर्माणका लागि प्रयोग गर्ने योजना बनाएको छ। अहिले निर्माण गरिन लागेको सडकले मुलुकको दुई समुद्री किनाराका सहरलाई जोड्नेछ।

साथै मुलुकको सुन, हीरा र मोतीको खानी पत्ता लगाउन पनि सहयोगी भूमिका निर्वाह गर्नेछ। अबको पाँच वर्षमा मुलुको अर्थतन्त्रमा तेलले मात्र ४० प्रतिशतको हिस्सा ओगट्ने आईएमएफको प्रक्षेपण छ।

यद्यपि अहिले गरिएको प्रक्षेपण सर्वेसर्वा भने होइन। आईएमएफले अहिले गरिएको प्रक्षेपणमा आगामी दिनमा उल्लेख्य सुधार हुनसक्ने बताएको छ। मुलुकको तेल उत्पादनमा केही मात्र फरक परेको खण्डमा मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नसक्ने आईएमएफको भनाइ छ।

अहिले यो मुलुकको तेल उत्खननका लागि अमेरिका चीनलगायतका कम्पनीहरुले काम गरिरहेका छन्। एक्जोन कम्पनीले आगामी महीनाबाट पहिलो तेल कुवाबाट तेल निकाल्न शुरु हुने बताएको छ। सन् २०२५ सम्म गुयानाले प्रतिदिन ७ लाख ५० हजार ब्यारेल प्रतिदिनको दरले तेल उत्पादन गर्ने अनुमान गरिएको छ।

गुयानाको तेल उत्खननका लागि टोटल, एसए, टुलो आयल र रेप्सोल एसएलगायतका कम्पनीले काम गरिरहेका छन्। सरकारले शुरुवातमा वार्षिक ३० करोड डलर आम्दानी हुने बताएको छ। यो आम्दानी सन् २०२२ मा दोस्रो चरणको तेल उत्खननको काम शुरु भएपछि भने दोब्बर पुग्ने गुयानाको सरकारले बताएको छ। यो रकम सोझै मुलुकको सर्भेरियन वेल्थ फन्डमा जम्मा हुनेछ। यो कोषको स्थापना गत वर्ष सरकारले गरेको थियो। यो कोषले तेलको बजारमा आउनसक्ने कुनै पनि समस्याको समाधानको लागि सहयोगी भूमिका निर्वाह गर्नसक्ने बताइएको छ।

गुयानाको लागि तेलको बजार निकै महत्वपूर्ण बजार हो। सन् २०१५ मा पहिलोपटक तेल रहेको पत्ता लगाएसँगै उसले आफ्नो तेल उत्खननलाई तीव्ररुपमा काम अघि बढाएर उत्पादन शुरु गर्न लागेको हो। मुलुकको प्राकृतिक स्रोतको पहिचान र उच्चतम सदुपयोगको माध्यमबाट आर्थिक सफलता हासिल गर्ने दाउमा गुयाना देखिन्छ।

गुयानामा तेल भएजस्तै नेपालमा पनि पानी छ। त्यसको सहयोगमा गर्नसक्ने विभिन्न किसिमका कामहरु छन्। जसबाट उल्लेख्यमात्रामा आर्थिक लाभ पनि लिन सकिन्छ। आफ्नो प्राकृतिक स्रोतको उपयोगका लागि राम्रो योजना आउन केही वर्ष लाग्ला तर त्यसपछि त्यसले दिने फाइदाले भने मुलुकको अर्थतन्त्रमा पनि महत्वपूर्ण सुधारको लागि सहयोग पुग्छ। यसले मुलुकलाई पनि केही मात्रामा आत्मनिर्भर बनाउन पनि सघाउ पुग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ