arrow

भारतद्वारा बंगलादेश भारी अन्तरले पराजित

logo
एएनआई,
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
kohli-team-india-test.jpg

इन्दोर। भारतले बंगलादेशलाई पहिलो टेस्ट क्रिकेटमा एक इनिङ र १३० रनले पराजित गरेको छ। इन्दोरस्थित होल्कार क्रिकेट रंगशालामा खेलिएको यस खेलमा भारतले बंगलादेशलाई तीन दिनभित्रै पराजित गरेको हो। टेस्ट क्रिकेटमा भारतको यो लगातार छैटौं जित हो। यो जितसँगै यसअघि नै विश्व टेस्ट वरियताको पहिलो स्थानमा रहेको भारतले आफ्नो स्थानलाई अझ सुदृढ बनाएको छ।

भारतभन्दा ३४३ रनले पछि रहेको अवस्थामा तेस्रो दिनको खेल शुरु गरेको बंगलादेशको शुरुआत राम्रो हुन सकेन। बंगलादेशका दुवै प्रारम्भिक ब्याट्सम्यान इमरुल कायेस र शदमान इस्लाम सात ओभरकै अन्तरालमा आउट भएका थिए।

मोहम्मद मिथुन र मोमिनुल हकले केही ओभरसम्म संघर्ष गरेपनि मोमिनुल हक भारतीय बलर मोहम्मद शामीको बलमा आउट भएपछि बंगलादेश टिमको अवस्था अझ नाजूक बनेको थियो। लगत्तै अर्को ओभरमा शामीले मिथुनलाई व्यक्तिगत १८ रनमै आउट गरेका थिए।

त्यसपछि महमुदुल्लाह र मुस्फिकर रहिमबीच २८ रनको साझेदारी भएको थियो। एकपछि अर्का ब्याट्सम्यान आउट भएपनि मुस्फिकर रहिमले संघर्षपूर्ण ६४ रन बनाए। भारतीय बलरहरु रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद शामीले चार विकेट लिए।

यसअघि भारतले ६ विकेटको क्षतिमा ४९३ रन बनाएर पालि समाप्तिको घोषणा गरेको थियो। भारतका लागि मयन्क अग्रवालले सर्वाधिक २४३ रन बनाएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले पहिलो इनिङमा १५० रन मात्र बनाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ