१३ औं सागमा कम्तीमा ५० स्वर्ण जित्ने नेपालको लक्ष्य, ११३५ पदकमा भिडन्त, अनअफिसियल दुईसहित २९ खेल
प्रकाशित २०७६ मंसिर १ आइतबार
547
Shares
काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन अब ठ्याक्कै १४ दिन बाँकी छ । शनिबारदेखि काउन्ट डाउन पनि सुरु गरिएको छ ।
शनिबार प्रचार प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३ औं साग आयोजक समितिका सदस्य–सचिव रमेशकुमार सिलवालले सो बारे जानकारी गराए । सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको छ ।
सदस्य–सचिव सिलवालले १३ औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोश्रो स्थान हात पारेको थियो ।
सोही अवसरमा सदस्य–सचिव सिलवालले साग खेल सारा नेपालीहरुको गौरवको विषय रहेको बताउदै यसलाई सफल पार्न सबै पक्षसंग आव्हान गरे ।
उनले भने– ‘साग गेम्स एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै पक्ष मिलेर सागलाई सफल पारौं ।’
दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने तिथि रहेकाले त्यसपछि मात्र खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने बताए ।
उनले उत्साहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको पनि बताए । उनले प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको पनि बताए ।
सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ । २० बर्ष अगाडि जम्मा १२ खेल समावेश गरि आठौं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ ।
सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार बिदेशी पाहुनालाई हामी स्वागत गर्दैछौं । काठमाडौंसहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ ।
काठमाडौंमा २१, पोखरामा ९ र जनकपुरमा १ खेलको आयोजना हुनेछ । (फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ ।) प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको आयोजनासंगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाईएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ ।
विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झण्डै दोब्बर भत्ताको ब्यवस्था गरिएको छ । नेपाल सरकारबाट १३ साग आयोजनाको निम्ति करिब साढे ४ अर्व रुपैयाको बजेट निकासा भएको छ । जसमा पुर्वाधार निर्माणको निम्ति १ अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति ३ अर्व ६५ करोड बजेट रहेको छ । आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ ।
पत्रकार सम्मेलनपछि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उद्घाटन गरिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्य–सचिव रमेशकुमार सिलवालले रिबिन काटेपछि डिस्प्लेमा प्रोमो प्रशारण भएको थियो ।