arrow

राज्‍य संरक्षित दलाली : ज्योतीले मुख खोलुन्, सरकारले कारबाही गरोस्

ज्योती पक्राउ प्रकरण: राज्य संरक्षित दलालीको चरम रुप

logo
केदार सुवेदी,
प्रकाशित २०७६ मंसिर १ आइतबार
rupjoti.jpg

प्रसिद्ध औद्योगिक घराना ज्योती समूहका एक प्रमुख  रुप ज्योती  नौ दिन (२१ –२९) को  प्रहरी थुनापछि मुक्त भए । तर पत्तो नै भएन उनी के कारणले थुनामा परे र के कसरी मुक्त भए ? म किन पक्राउ परेको भनी उनले अदालतमा सोधेको प्रश्न पनि अनुत्तरित नै रह्यो । जस्तोसुकै एउटा नागरिकलाइ आफु पक्राउ परेको कारण थाहा हुन पर्ने हो तर अदालतले यसको उत्तर नदिइनै उनी नौ दिन जेलमा बसे र फेरी थुनाको आदेश दिने त्यो अदालतालई थाहै नभै उनी रिहा पनि भए । यस्तो किन र कसरी भयो ?

यो प्रश्न कुनै व्यक्ति विशेषसंग मात्र सम्वन्धित छैन ।  सामान्यतया अदालतको आदेशले थुनामा परेका उनी थुनामुक्त हुन चाहिँ अदालत चाहिएन। अदालतको आदेशबाट थुनामा परे र अदालत बाहिरको कारोवारबाट थुनामुक्त भए । एउटा नागरिकमाथि ज्यादतीको यो कस्तो रुप हो भन्ने प्रश्न पनि यसकारण निरुत्तरित नै रहन गयो ।

साधारण रुपले बुझिए अनुसार उनलाई थुना आदेश दिँदा ठगीको मुद्धा थियो । उनी थुना पर्दाको कारण मानिएको ठगिएको भनिएको रकमको थैलो भने वितेको वर्ष दिनदेखि त्यही अदालतमा नै छ सम्बन्धितलाई दिनु भनी उनैले बुझाएका कारण । त्यही कारण यता उनी पटकपटक म्याद थपिएर नौ दिन थुना समय पुर्‍याइयो ।

ज्योति पक्राउ परे । अदालतको आदेशमा नौ दिन जेल बसे र त्यस्तो आदेश दिने त्यही अदालतको अर्को आदेश नभैकन नै छुटे । यो घटनाको सामान्य बुझाइ यति नै होला तर यहींबाट एउटा गम्भीर प्रश्न खडा हुन्छ –कतै यो काल पल्किने घटना त होइन ? विवरणहरुले नै वताइरहेका छन् यो राज्यबाट संरक्षित दलालीको चरुम रुप पनि हो ।

नौदिने थुना पछि रिहा भएका ज्योतीले थुना छेउमै भने हिरासतमा हुँदा लेनदेनमा कुनै सहमति भएको छैन । ‘उहाँले जाहेरी फिर्ता लिनुभएछ, त्यो पनि मलाई राम्रोसँग थाहा छैन, मलाई यति थाहा छ, प्रहरीले मलाई छोड्यो,’ ज्योतीले रिहाइपछि विभिन्न माध्यममा भनेका कुरा हुन यी जो प्रकाशित पनि भएका छन् । ‘म आफू यसमा संलग्न भइनँ, मैले मेरो कोही प्रतिनिधि पनि पठाइनँ, उहाँले किन जाहेरी फिर्ता लिनुभयो, उहाँलाई नै जानकारी होला ।’

ठगीको आरोप लागेर पक्राउ परेका ज्योतीको यो प्रतिकृयाले यस्तो उजुरी पर्नु भन्दा पहिले स्थिति जहाँ थियो त्यही पुगेको वताउँछ । कुनै पनि मुद्धामा  मिलापत्र हुनु आफैँमा कुनै अस्वाभाविक कुरा होइन । यो ठाउँमा अस्वाभाविक के देखियो भने ठगी गरेका भनी आरोप लागेका व्यक्तिसंग आरोप लगाउने व्यक्तिको प्रत्यक्ष-अप्रत्यक्ष भेटघाट र कुनै वार्ता आदि केही नभै यो कुरा मिलेको वताइयो । जुन व्यक्तिलाई प्रहरीले जुन कारणले प्रमुख दोषी मानि थुनिरहेको छ यस्ता दोषी र उजुरकर्ता बीच कतै भेटघाट नै नभै प्रहरीले मिलापत्र भएको मानेर छाडिदियो । प्रमुखमात्र होइन दोषी मानिएका ज्योतीले भनेको यो अर्थात मिलापत्रको कार्यमा आफना प्रतिनिधिको समेत संलग्नता नरहेको भन्ने भनाइले त उनको यो पक्राउ र यतिका दिनसम्मको थुनालाई झनै रहस्यको विषय बनाइदियो ।

करिव एक करोडको हाराहारी (१ करोड २६ लाख) को बिगो रहेको यो मुद्धाको सेरोफेरोमा देशको एक नम्वरमा रहेको औद्यौगिक घरानाको एउटा पुरै परिवारलाई डामिएको थियो । सामान्य रुपले बुझ्न सकिन्छ कुनै कम्पनीले कसैको ठगी गरेका भए त्यो कम्पनीको सञ्चालक दोषी होला तर यो ठाउँमा त्यो परिवारको ११ जना सदस्यमध्ये सबै माथि नै यस्तै गर्न खोजिएको भन्ने समाचार आए । त्यसमध्येका रुप ज्योतीका त बाबुछोरी नै परे । यदि सवै व्यक्तिले ठगी गरेका भए सबै दोषीका भागि हुन्छन र हुनुपनि पर्छ तर यो ठाउँमा उजुरीकर्ता आफैले पनि कम्पनीलाई अघि सारिएको अवस्था थियो ।

त्यसकारण पनि यो समग्र प्रकृयाको प्रारम्भ र पृष्ठभूमि नै शंकास्पद रहेको विवरणले नै वताइरहेका छन । राज्यशक्तिको दुरुपयोग गरेर उच्चतहका दलालहरुले घरानीयाहरुलाई तर्साएर नाजायज असुली गर्न खोजिएको अवस्थाका चित्रहरु  देखिन थाले। यसले सर्वसाधारण नागरिक तहमा समेत चिन्ता बढन थालको हुनुपर्छ। यता बाबुछोरी थुनामा परिसकेपछि र पटकपटक म्याद थपिदै गइएको चरणमा परिवारका बाँकी सदस्यलाई पनि प्रहरीले खोजिरहेको सन्देश दिन थालियो र त्यसलाई चरममा पुर्‍याइयो । त्यसपछि अज्ञात ठाउँमा अज्ञात व्यक्तिसंग अज्ञातरुपको सम्झौता भएको भनेर यस्तो रिहाइ भयो।

यस सन्दर्भमा केही उदाहरण:
एक: ‘मल्लले डा. ज्योतीविरुद्ध ठगी अभियोगमा जाहेरी दर्ता गराउन नसकेपछि शक्तिकेन्द्र धाएको खुलाए । ‘प्रहरीले जाहेरी लिनै मानेन, डा. ज्योतीले मलाई ठगेका थिए, यो कुरा मैले राष्ट्रपति, उपराष्ट्रपति र गृहमन्त्रीसम्मलाई भेटेर भनें, उहाँहरूले सहयोग पनि गरिदिनुभयो, गृहमन्त्रीले प्रहरी हेडक्वार्टरमा पत्र नै लेखेर यो ठगी मुद्दाको जाहेरी प्रहरीले किन नलिएको भनेर सोध्नुभएको थियो, त्यसपछि मात्रै प्रहरीले जाहेरी लिएको थियो,’ मल्लले भने । मल्लले डा. रूप ज्योतीसहित परिवारका ११ जना सदस्यविरुद्ध नै ठगीको जाहेरी दिएका भए पनि पद्म ज्योतीप्रति भने सद्भाव देखाए । (शिलापत्र २८ कार्तिक)

दुई: ‘शान्ति सुरक्षा कायम गर्नुका साथै अपराधी र बदमासहरूलाई नेपाल प्रहरीले ठेगान लगाइरहेका बेला ‘भीआईपी’ ठगहरूलाई बचाउन भूमिगत गिरोह सक्रिय भएको खुलासा भएको छ । हाउजिङ ठगी काण्डमा पक्राउ परेका पूर्वअर्थ राज्यमन्त्री रुप ज्योतीलाई बचाउन केही युवाहरू सक्रिय भएर लागेको स्रोतले जनाएको छ । रुप ज्योतीलाई बचाउन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सक्रिय भएर लागेको स्रोतको दाबी छ । प्रतीक र दीपेशले ‘भीआईपी ठग’ रुप ज्योतीलाई बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना गराई उजुरीकर्तासँग सेटिङ मिलाएर छुटाउने खेलखण्ड शुरु गरेका हुन् । यसका लागि ठूलो रकम चलखेल भएको उच्च स्रोतले जनाएको छ ।’ (रिपव्लिक दैनिक, कार्तिक २२)

तीन: ‘आजभन्दा १४–१५ महिना अघि पूर्वमाओवादीका तीन–चार कार्यकर्ता आएर रूप ज्योतीलाई विज्ञेन्द्रकृष्णले मागेजति पैसा दिन दबाब दिएको ज्योती परिवार निकट एक व्यक्तिले बताए । एकपटक त नेपाल कम्युनिष्ट पार्टीका पूर्वसांसद पनि यो मुद्दा मिलाउनुहोस् छिटै भन्न आएका थिए,’ ती व्यक्तिले भने ।’ (सेतोपाटी २६ कार्तिक)

माथि उल्लेख भएका यी तीन उद्धरणले नै वताउँछन यी व्यवसायीलाई थुन्ने काम राज्यको शक्तिको दुरुपयोगबाट भयो । त्यस्तो दुरुपयोगको प्रयोगबाट परिवारलाईनै आतंकित बनाएर मोटो रकम असुल गर्न खोजिएको सन्दर्भ यहाँनेर जोडिन आउछ । आफु ठगिएको भनी उजुरी दिने व्यक्तिले ‘गृहमन्त्रीले प्रहरी हेडक्वार्टरमा पत्र नै लेखेर यो ठगी मुद्दाको जाहेरी प्रहरीले किन नलिएको भनेर सोध्नुभएको थियो’ भनेपछि दोस्रो उद्धरणमा नाम किटानी भएका राज्य सञ्चालकहरुका पुत्रको संलग्नता आफै देखिने भयो नै ।

यतिसानो विषयमा राष्ट्रपति र उपराष्ट्रपतिले भेटेको र सहयोग गरेका भन्ने कुरा सामान्य होइन । यी पद कार्यकारी होइनन् तर यो ठाउँमा कार्यकारीको भूमिका देखाएछन सम्बन्धित व्यक्तिले भनेको मान्ने हो भने ।

रुपज्योति माथि जसले जस्तो आरोप लगाएका हुन् त्यो वास्तवमा नै उनले र उनकी छोरीले अथवा भनौं त्यो पुरै परिवार ११ सदस्यले नै त्यस्तो ठगी गरेका हुन् कि होइनन् भन्नेमा कतै बुझबुझारथ नै नगरी गृहमन्त्रीले ठगीमा कार्वाही गर्नु भनी लिखित निर्देशन के आधारमा दिए भन्ने खोज्दै गइयो भने देशमा डरलाग्दो चित्र प्रकट हुने छ । राज्यशक्तिको खुला प्रयोग गरेर त्यसबाट आतंक सृर्जना गरि राज्य संरक्षित दलालहरुले ख्यातिप्राप्त घरानीयाहरुबाट नाजायज फाइदा लिन खोजिएको वा लिइएको यो घटना सामान्य होइन । यसका बारे ज्योतीले पनि मुख खोल्नु पर्छ र राज्यले पनि  खोजतलास गर्नपर्छ । त्यसो भएन भने प्रतिवन्धित दल नेकपाका विप्लवले जंगलबाट वन्दुक देखाएर बलपूर्वक रकम असूली गर्ने गरेका भन्दा यो ठाउँमा फरक के भयो ?

संक्षिप्त घटना
घटनाको विवरणले ज्योतीपरिवार राज्यबाट यसरुपले पीडितहुनुपर्ने देखाउँदैन । सामान्य आँखाले नै देखिने कुराहो यो घटनामा यो परिवारनै यो रुपले दण्डित दण्डित हुनु पर्ने देखाउँदैन । कुनै व्यक्तिले घर बनाउन एउटा कम्पनीलाइ बैना वापत केही पैसा दिए । तर पछि त्यो कम्पनीले बैनालिएको अनुसारको घर दिएन, पैसानै फिर्ता दिन खोज्यो । पहिले पैसा दिने व्यक्तिले घरै मागेर पैसा फिर्ता लिन मानेनन् । नेपालको कानुन अनुसार घरघरानामा छ भने अरुका नाममा पास भएको घरजग्गा आफन्तले निखने खरिदकर्ताबाट फिर्ता पाउँछन । यहाँ स्थिति कस्तोसम्म देखियो भने पैसा फिर्ता गर्न खोज्दा नबुझे पछि अदालतमा राखिदिइयो । जुन अदालतमा यो रकम सम्वन्धित पक्ष माग्न आएमा दिनका लागि राखिएकोछ त्यही अदालतबाट यता चाहिँ फेरी त्यही रकम ठगी गरेको भनेर थुना आदेश दियो । सरकारदेखि अदालतसम्म लागेको यो ज्योतीप्रकरणको विषय वास्तवमानै त्यसकारण सामान्य र तत्कालनै विर्सने खालको छैन । त्यसैकारण होला व्यवसायीहरूका संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर, नाडा अटोमोबाइल्स एसोसिएसन जस्ता संस्थाले ज्योतीविरुद्ध राज्यले दुर्व्यवहार गरेको आशयको वक्तव्य नै जारी गरे ।

राज्य शक्तिको चरम प्रयोग
भाइ पकाउ परे । भाइकी छोरी पनि पक्राउ परिन । त्यतिले पुगेन । दाइलाई समेत पक्राउपूर्जी जारी गरियो र त्यसक्रममै परिवारका सबै सदस्य पर्ने वताइयो । राज्यको शक्ति नलागि यस्तो संभव नहोला । कुनै कारोवार गर्ने एउटा कम्पनिले केही गल्ती गरे त्यसका साधारण शेयरहोल्डरहरु र अझ उनका परिवारलाई  नै जेलमा हालिदिने काम भएको खास गरी उद्योग बाणिज्य क्षेत्रमा यो पहिलो पटक नै हुनुपर्छ । चरम शक्ति प्रयोग वा दुरुपयोग भएको यो घटनाको वास्तवमा नै छानविन भएन भने यसले आउँदा दिनमा झनै डरलाग्दा घटनाकहरु जन्माउने देखिन्छ ।

तर्साउने खेलको प्रारम्भ
ज्योतीसमूह यो देशको त्यस्तो औद्योगिक घराना हो जो  यो बेलासम्म आफ्नो इथिक्समा चलिरहेको छ । यो घरानाले आफनो प्रारम्भकालमै जनताको स्वास्थ्यमा असर पार्ने वस्तु जतिसुकै नाफा कमाउने खालका हुन् तिनको उत्पादन नगर्ने भन्ने संकल्प गरेका थियो । सो कुरा यसको नाती पुस्तासम्मले धानिरहेकोछ अहिलेसम्म नै । यो त्यस्तो घराना हो जो बलजफ्ती गर्न खोज्दा दरवारलाई समेत जवाफ दिएको थियो रानीले चन्दा भनी मोटो रकम माग्दा । यसका लागि यो घरानाका सस्थापक स्व. मणिहर्ष ज्योती उनको जीवनकाल भरी चर्चामा रहे । कर छली लगायतका कुनैपनि अमान्य काम गरेका भनी यो घरानामा कहिल्यै कसैले आरोप लगाउन सकेन । अहिले पक्राउ परेका रुप ज्योती विपश्यनाका नेपालका गुरु हुन । राजाले राज्यमन्त्री बनाउन खोज्दा उनले पहिले आफना गुरुसंग सोधेका थिए र गुरुको अनुमतिपछि मात्र त्यो पद स्वीकारेका कुरा त्यसबेला चर्चित थियो । यस्ता व्यक्ति आरोप अनुसारको रकम नतिरेर देशै छाडेर भाग्छन भनेर अनुमान गरी थुनामा पठाइयो यो आफैमा स्वतन्त्र विवेक प्रयोग भएको हो होइन भन्ने प्रश्न उठ्छ नै ।  

यस्तो घरानामाथि समेत यस्तो भयो भने अरुका लागि के होला भन्ने सन्देश दिएको बुझिन्छ यो घट्नाबाट । यसमा राज्य नै लागेको छ भन्ने त ‘गृहमन्त्रीले प्रहरी हेडक्वार्टरमा पत्र नै लेखेर यो ठगी मुद्दाको जाहेरी प्रहरीले किन नलिएको भनेर सोध्नुभएको थियो’ भन्ने स्वयम उजुरकर्ताको भनाइले नै वताइरहेको छ । यस्तो बेला स्वाभाविक छ ज्योती समूह राज्यको  कि त्यसभन्दा अझ पर राज्यद्वारा संरक्षित दलालीको शिकार भयो भन्ने प्रश्न त उठ्छ नै ।

यसमा रकमकलमको कति लेनदेन भयो भन्नेले पनि धेरै अर्थ राख्छ । यो एउटा मुद्धामामात्र पाच सात करोडको लेनदेन भएको भन्ने चर्चा आएको छ बाहिर । यसबारे ज्योती समूहले पनि मुख खोल्नु पर्छ र यस्तो काममा सत्ताको दुरुपयोग भएको हो भने राज्यले पनि यसको खोजतलास गर्नु पर्छ ।

मान्यता अनुसार देवानी मुद्दामा बिगो बराबर धरौटी राख्ने कसैलाई पनि थुनामा राख्नु जरुरी नहुनु पर्ने हो । तर यहाँ थुनामै राख्ने काम भयो । यसले यतिबेलाको राजनीतिक पद्धति वा राज्यको कार्यशैलीबढी नै नियन्त्रणमुखी भएको हो कि भन्ने तर्फपनि चर्चा सुरु भएको छ यतिबेला ।

शासकहरु बाहेक यो देशमा अरु कोही पनि स्वतन्त्र छैनन् भन्ने सन्देश निरन्तर प्रवाह भैरकेको छ । त्यो कुनै एक ठाउँ होइन सबैतिर नै लागु छ । त्यसका उदाहरण दिएर साध्य छैन ।

पछिल्लो समय अवकास पाएका कर्मचारीले बोल्न नपाउने बोले भने पेन्सन काटिने कानुन प्रस्ताव भएकोछ । कानुनै बनाएर नागरिकको मौलिक हक हनन गर्न थालिएपछिको अवस्था कति नियन्त्रित हो भन्ने उल्लेख भैरहनु नपर्ला । यो कुरा ज्योती प्रकरणमा पनि जोडिन सक्तछ । ज्योती समूह भनेको कुनै व्यक्ति विशेष होइन । यो उद्योगव्यवसायको पर्याय संस्था हो । स्वाभाविक छ उद्योग व्यवसाय त्यसको आफनो धर्म र क्षेत्र बाहेका राज्यका सन्दर्भमा स्वतन्त्र हुन्छ । तर उद्यमीलाई यसरी तर्क विना थुनेर सरकारले जनतालाई जस्तो सन्देश दिन खोजेको छ त्यो गम्भीर आपत्तिको विषय हुनुपर्छ । देशमा यतिबेला जुन सिद्धान्तको शासन छ त्यसले राज्यका सबै अंग र जनजीवनको सबै पक्षको नियन्त्रण गर्छ । त्यसो नहुँदो होत फेरी पनि भनौ एउटा कम्पनीको एउटा कसैले गरेको एउटा कामको दोष त्यो कम्पनीका सवै शेयरहोल्डर र शेयर होल्डरका पनि सबैपरिवार कार्वाहीमा पर्ने भन्ने  कहाँ होला भन्ने प्रश्नको उत्तर खोज्ने बेला हो यो । खासगरी ज्योती ग्रुपले त यसलाई अभियाननै बनाउन सुझाव दिन थालिएको छ । यो घटनाले स्वाभाविक छ अरू व्यवसायी पनि यसरी सरकारको विवेकहीन कोपभाजन हुनबाट सधै जोगिइरहलान भन्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ