arrow

पहिलो पटक सागको टेलिभिजन प्रशारण अधिकार, नेपाली मिडिया जिल्ल ! 

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
sag-tv-right.jpg

काठमाडौं । पहिलो दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको नेपालले सागको इतिहासमा अर्को कोसेढुंगा थपेको छ । नेपालमा हुने १३ औं सागबाट टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता गरिएको छ ।

पहिलोदेखि १२ औं सागसम्म टेलिभिजन प्रशारण अधिकार कसैलाई दिइएको थिए । आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसंग टेलिभिजन सम्झौता सम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकार सम्बन्धी सम्झौता भएको हो ।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रशारण अधिकार वापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्नेछ । 

त्यसवापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने छ । त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने छ । एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजन मार्फत सबैको खेलका प्रत्यक्ष प्रसारण गर्नेछ । यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ । एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ । 

दोश्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भयो । जसअनुसार एसएओसीले प्रशारण अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ । राखेप आफैले ल्याउने विज्ञापनमा भने कसैको अधिकारी हुने छैन ।

तेश्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसंग भएको थियो । उक्त एजेन्ट कम्पनीले प्रशारण र विज्ञापन वापतको कमिसन प्राप्त गर्ने छ ।

सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण सम्झौतालाई ऐतिहासिक भनेका छन् । 
‘साग खेलकुद नेपालबाटै सुरु भएको हो र साग खेलकुदको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदैछ । ओलम्पिकले पनि खेलको प्रसारण अधिकार विक्रि गरेपछ फड्को मारेको हो । अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ । एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानथाप हुन्छ । अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुवात भएको छ – एनओसी अध्यक्ष श्रेष्ठले भने ।

राखेपका सदस्यसचिव रमेश सिलवालले पनि यो एक ऐतिहासिक सम्झौता भएको कुरा दोहोर्याए । यो एउटा नौलो प्रयास हो । नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने पनि यस सम्झौताको उद्देश्य हो ।– सदस्यसचिव सिलवालको भनाई छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका एसएओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रशारण अधिकारी र विज्ञापनबाट प्राप्त रकम नेपाली खेलकुदको विकास कार्यक्रममा उपयोग गर्ने बताए । उनले भने– ‘काउन्सिलले प्राप्त आम्दानी नेपाली खेलकुद र खेलाडी हितमा प्रयोग गरिने छ ।’

यसैगरी एनके मिडियाका सीएमडि मलिकले साग जस्तो प्रतियोगिताको प्रसारण गर्न आप्mनो कम्पनीलाई विश्वास गरेकोमा नेपाल सरकार र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई धन्यवाद दिँदै सो विश्वासमा न्याय गर्ने बताए । उनले सागको सातै राष्ट्रमा १३ औं सागको प्रत्यक्ष प्रशारण हुने बताए । सागमार्फत् आफ्नो संस्थाले नेपालको बारेमा सकारात्मक सबै कुराहरु विश्वभर फैलाउने पनि उनले बताए ।

प्रशारण अधिकार 
    प्रशारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रशारण गर्न पाउने छैन । एनके मिडिय सीएमडि मलिकले खेल लगत्तै मिडियाका लागि भिडियाहरु उपलब्ध गराउने बताए । त्यस्तै एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए ।

नेपाली मिडिया जिल्लः 
यो निर्णयले नेपाली मिडिया जिल्ल परेका छन् । कसरी कभरेज गर्ने साग भनेर निकै ठूलो तयारी गरिरहेका नेपाली निजी मिडियालाई यो सम्झौताले निराश पारेको हो । 

घरेलु भूमिमा सागको कभरेज गर्नका लागि म्यानपावरसमेत मिलाइसकेका मिडियालाई यसले ठूलो झड्का दिएको पनि स्पष्टै देखिन्छ । 

आइतबार भएको पत्रकार सम्मेलनमा मिडियाकर्मी र राखेप सदस्यसचिव रमेश सिलवालबीच भनाभन समेत भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ