arrow

दाल-चामलसँग हारेका नेपाली मजदुरको पीडा

संघीयताले नचिनेको मजदुरका भोका पेट

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
majdur1.jpg

जन्मस्थान छोडेर अर्को देशमा मजदुरी गर्न हिँडेका मान्छेले भिन्न भूगोल, भाषा, संस्कृति र परिवेशमा बाँच्नका लागि गरेका सङ्घर्ष नै लेखको पेटबोली हो । जन्मभूमि छोड्न बाध्य पारिएका र उनीहरुका नसुनिएका आवाजलाई मेलै टिपोट गरेकोछु । लेखमा प्रवासमा मजदुरको सङ्घर्षको कथाबाहेक उनीहरुसंग सम्बन्धीत मेरो अनुभव-भोगाई  र यात्रा–विवरण पनि मिसिएको छ ।

यात्रा बर्णन निजी भएपनि यसमार्फत मैले भोका पेट र नाङ्गो शरिर भएका नेपाली   मजदुरहरुको  समाजिक कहालीलाग्दो कथा भनेको छु । नेपाली समाजको वर्तमान परिवेशमा  मजदुर सङ्घर्षलाई नियाल्ने प्रयास गरेको छु ।

टाढैबाट एउटा दयालु दृश्य मेरो आँखामा घुमिरहेको थियो । त्यो दयालु दृश्यले मेरा आँखा रसाइरहेका थिए । म केहीबेर टोलाईरहे । हेर्दा समान्य झैं लाग्थ्यो । गहिरो संग नियालेर हेर्दा त्यो दृश्य भावुक थियो । त्यो दृश्यमा म आफ्नोपन महसुस गर्दैथिए । म आफै नियास्रो भैसकेको थियो । सोच्ने क्रम ज्यादै बढ्यो । मुटु भक्कानीरहेको थियो ।  आँखामा पिलपिल आसु चुहिरहेका थिए । मलाई त्यो दृश्यले मेरो देशको स्वाभिमान, समृद्धि र त्यो दृश्यको गहिराईले एउटा कथा कोर्न कलमको साहरा लिनुपर्ने देखेको थिए । कहालीलाग्दो त्यो दृश्यको फोटो लिन पाए हुन्थ्यो कि भन्ने छटपटी भैरहेको थियो ।

दृश्य टाढैबाट पनि क्यामेरामा कैद गर्न सकिन्थ्यो तर, टन्टलापुर घाम लागिरहेकोले दृश्य चम्कीरहेको थियो । मोवाइलको क्यामेरा खोल्ने र बन्द गर्ने क्रम चलिरहेको थियो । शहरमा मान्छेहहरुको भिड थियो । फोटो खिच्न हिच्कीचाइरहेको थिए । जहाँसम्महोस् त्यो दृश्यमा  आफ्नै मान्छेहरु होलान् भन्ने लागिरहेको थियो । एकिन चाँहि हुनसकेको थिएन । अन्तिममा  नजिककमा गएर मैले बाहना बनाएर बोल्ने कोसिस गरे । मैले सोधे–”नगरपालिका जानेका रास्ता किधर है“ उनले मलाई नगरपालिका जाने बाटो नेपाली भाषामा राम्रोसंग बतायो । मलाई जुन कुराले छिचोलिरहेको थियो त्यही कुरा भेटियो । आफ्नोपन महसुस भयो । त्यो त मेरो बाहना मात्रै थियो । अन्तिम उद्देश्य त उनको फोटो  खिच्ने र भालाकुसारी गर्ने नै     थियो । मेलै केही बेरसम्म कुराकानी गरेर उनकै अनुमतिमा फोटो पनि खिचे ।

भारतको पिथौरागड शहरको कुरा हो ।  २ जना युवा र २ अलिक पाको उमेरका थिए ।  मैलै आफ्नो व्यक्तिगत कामलाई केही समय थाती राखे । उनीहरुको नियास्रो मुहारमा पसिना तप्प–तप्प चुहीरहेको थियो । पहिरन हेर्दा मैलाले भरिएका थिए । सवैको हातमा नाम्लो र पिठ्युमा बोरा थियो ।  कामको प्रकृति देख्दा अभाव र गरीबीको बेदनाको झल्को दिइरहेको थियो । शहरमा ठुल–ठूला महलहरु थिए । अरु मानिसहरुको भन्दा मैले भेटेका मान्छेहरुको कमजोर अवस्था थियो । लखतरान भएर पुरै अनुहारमा साँझ परेको थियो ।  शहरमा कोही  सुटबुटमा कसिएका थिए, कोही उत्ताउलो पहिरनमा थिए ।

शहरको कुरा यातायातका साधनको निकै भिडभाड र कोलाहल थियो ।  त्यही कोलाहल र भिडभाडका बीच सडक छेउमा गन्हाउने फोहोरको थुप्रो र बालुवाको चाङ थियो । दाल चामलका लागि भिड्नु परेको त्यो नाम्लो र बोराको साहरा, गन्हाउने फोहोरको थुप्रो, त्यो बालुवाको चाङ संगको जीउनु पर्ने जीवन केवल पेटका लागि मात्र थियो । टन्टलापुर घामको दोफहर  र  तप्प–तप्प गरी खसीरहेको त्यो पसिना हेर्दा मेरो देश नेपालको राष्ट्रियता, मेरो देशको स्वाभिमान, मेरो देशको तिनकुने झण्डा, टलक्क टल्कीने हिमालका मयावती डाडा र कालीमा कलकल बगीरहेको पानीलाई सम्झी टोलाए ।  म संग  कुनै अर्को शब्द नै थिएन सोध्नकालागि । उनी मध्येबाटै एकजना शेर नाम गरेको व्यक्तिले  पाइन्टको खल्तीबाट सुर्ती निकाले । थोरै हत्केलामाथि राखेर चुट्कीभरिको सुर्तीलाई तरक्क निचोड्यो । अनि तल्लो ओठको दायाँतिर हाल्यो । जिव्रोले राम्ररी मिलाएपछि  थुक्क गरेर थुक्यो  । अर्कोले सलाई कोरेर विडी जलाएर मज्जाले विडी तान्यो ।  मलाई पनि सोधी हाल्यो–

शेर– तपाई के गर्नु हुन्छ ? तपाई पत्रकार हो र ?

म आफै– हैन म पत्रकार त होइन । तर, गरीब, मजदुर, पीडितका पक्षमा कलम चलाउछु र कहिलेकाही सभासभारोहमा गरीब, मजदुरका पक्षमा आवाज  उठाउछु ।  

शेर– ए ! हजुर त्यसो भए हामी पनि घरमा खान नपाएर बालबच्चा हुर्काउन मजदुरी गर्दैछौं ?  भारी बोक्ने हाम्रो दैनिकी बनिसक्यो, यो बालुवाको चाङ देख्नुभयो । यस्तै भारीबोक्ने र विहानबेलुकाको छाक टार्न प्रवासमा आइपुगेका हौं । हाम्रो बारेमा पनि सोचिदिनुहोला  ।   हाम्रा पनि कहिले दिन आउलान  त ?

म आफैं : घर कता हो ?  

शेर : बैतडी पुरचौंडी भट्ना हो । तपाईको घर कता हो ?

म आफैं : मेरो घर पनि  बैतडी नै हो, मलाई तपाईहरुको अवस्था देखेर दया जाग्यो त्यसकारण म तपाईहरुको नजिक आएको हुँ, आवाज त उठाउँला तर, हाम्रो सरकार अन्धो र बहिरो छ । तैपनि आफ्नो कोशीस गरुँला ।  

शेर : सरकार त सुन्ने पक्षमा छैन । स्थानीय निर्वाचनको बेला घरमा सिंहदरवार आउँछ, घरघरमा रोजगारी दिन्छौं, विदेश जानुपर्दैन, सवैलाई गास, बास र कपासको व्यवस्था सहजरुपमा प्रदान गर्नेछौं भनेर बाचा कबोल गरेका थिए । तर, निर्वाचित भइसके पश्चात् बोलिपनि बन्द भयो । निर्वाचन जितेकाहरुको आफ्नै सुरसार छ । रोजगारी त परको कुरा हो । मजदुरीमा पनि विभेद भयो ।  घरतिरको अवस्था नाजुक छ । साहुँबाट उदारोमा किनेको दाल–चामल–नुन–तेलको पैंसा तिर्न मजदुरी गर्न भारत आएका हौं । हामी संग अर्को कुनै विकल्प नै छैन । छोराछोरी हुर्काउन, शिक्षा दिन पनि धेरै समस्या छ । जबसम्म पाखुरा चल्छ तवसम्म  मजदुरी गर्नुनै छ । न त गरीखान खेत छ, न रोजगारी । हाम्रो गरीवी बुझ्ने जनप्रतिनिधि नै भएन । सङ्घीयता आयो समृद्धि हुन्छ भन्थे । त्यो पनि कता हरायो थाहाछैन ।  

फेरी शेरले दुखेसो पोख्दै थपे– निर्वाचनको बेला सवैका घरघरमा पर्चा–पम्पलेट र चुनाव चिन्हहरुले रंगीएका थिए । प्रचारप्रसारमा टोलटोलमा गाँउलेसंग भोट माग्न हिँडेका थिए । बाहुन क्षेत्रीसंग खसी काटेर खानदिने बाचामा भोट मागे,  कसैलाई जाँडरक्सी खुवाएर भोट फुत्काए । दलित र गरिबलाई दुई–चारसय दिएर भोट किने । र, गाउँमा विकास गर्ने लोभ मज्जाले फिँजाए । चुनावको दिन आमाले भोट हाल्न नसक्दा डोकोमा  बोकेर मतदान गराए । तर, अहिले विकास जनप्रतिनिधि र आफन्तकालागि मात्रछ । हामीलाई यो सङ्घीयता संग कुनै साइनो छ जस्तो लाग्दैन उनले भने ।    

धेरै बेरसम्म कुरा भयो । मेलै फेरी सोधे अर्काको देशमा यसरी फोहरसंग मजदुरी गर्नुभन्दा त आफ्नै देशमा मजदुरी पाइहालिन्छ नि ? किन यति टाढा आएर दु:ख पाउनु भयो ? उहाँहरुले रुन्चे स्वर लगाएर भने गाउँमा कुनै रोजगारी छैन । भएको सडक–रोजगारी पनि डोजरले सकियो । बाँकि बाटाघाटा, कुवा, पुलपुलेसा आफन्तहरुलाई मात्र दिन्छन् ।  मजदुरीमा पनि विभेद छ ।  पैंसा आउने कुनै बाटो छैन । महङ्गी दिन दोगुना रात चौगुना भएकोछ । भोको पेटले साफा, फोहोर केही पनि भन्दैन् ।  

म आफैं :  प्रवासमा मजदुरी गर्नुपरेकोछ । सडकपेटीमा काम गर्दा हेपिनुपर्छ होला । आफ्नो स्वास्थ्यको ख्याल गर्नु । आफ्नो जिउधनको रक्षा गर्नु  भनरे सम्झाए र सहानुभुती दिए ।

पात्रमात्र फरक हुन ।  काठमाण्डौं स्थित अन्तर्राष्ट्रिय विमानस्थलको  प्रस्थान कक्षनेर ट्रलीमा झोला हालेर अधिकांश नेपालीहरु मजदुरी गर्न खाडीमुलुक तिर जाने लाइनमा हुन्छन् । कतिले रोजगारी पाउछन, कतिको भिसा नै नक्कली परेको हुन्छ । कति घर फर्किदा सकुसल  फर्किन्छन् । कसैको लास बरफ बक्समा प्याक भएर आउछ । कसैले बाबुआमाको अवस्था राम्रो देख्न पाउछन, कसैका बाबुआमा भने नेपाल फर्कदासम्म उच्च रक्तचाप र मधुमेह, मुटुको भल्भमा समस्या, कमजोर कीडनी जस्ता थुप्रै समस्याहरु झेलीरहेका हुन्छन् । कसैको भने आमाबुवा स्वर्गबास भइसकेका हुन्छन् ।  बाबाआमाको कपडा सुमसुम्याउन र बालाई जलाईएको घाटमा  गएर धीत मरुन्जेल रुन बाहेकको अर्को कुनै विकल्प देख्दैन् प्रवासका मजदुर ।

सदाका लागि जन्मथलो छाडेर आएकाहरुको दु:खलाई म प्रतिशतमा ढाल्न सक्दीनँ । छोराछोरी, आमाबुवा छाडेर प्रवास आएकाहरुको आँसुलाई म ग्राफमा पनि उतार्न सक्दिन । लोग्ने स्वास्नीको पीडादायी विछोडलाई  म  पाइचार्टमा पनि देखाउन सक्दिनँ । सिर्फ  मजदुरहरुको दाल–चामल–नुन–तेल संगको पराजीत जीवनलाई समृद्धिको यात्रा संग जोड्न सरकारलाई आग्रह मात्र गर्न सक्दछु ।

प्रसङ्ग नेपाली मजदुरहरुको र नेपालको समृद्धिको हो । नेपालको संविधान २०७२ को प्रस्तावनामा सामन्ती, निरङ्कुस, केन्द्रीकृत  र एकात्मक राज्यव्यवस्थाले सृजना गरेको सवै प्रकारका  विभेद र उत्पीडनको अन्त गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोेलिक विविधतायुक्त विशेषतालाई आत्मसात्गरी विविधता बीचको एकता,  सामाजिक सांस्कृतिक  ऐक्यबद्धता, सहिष्णुता र सद्भघावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै, बर्गीय जातिय , क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सवै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै  जनताको प्रतिष्प्रर्धात्मक  बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार,   आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निस्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुसासन, विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्न संविधानसभाबाट पारित गरि नेपालको संविधान जारी भएको छ ।

  संविधानको प्रस्तावनामा नै समाजबाद उन्मुख राष्ट्र घोषणा गरिएको छ । समाजबादको व्यवहारिक प्रयोग भने देखिदैन । नेपालमा स्थापित राजनीतिक पार्टीहरुले आफ्नो  सिद्धान्तको पैरबी र समाजबादको ब्याख्या गरिएको भएता पनि व्यवहारिक रुपमा त्यो हुन सकिरहेको छैन ।  जो समाजका निम्न बर्ग छन उनलाई आजका मितिमा पनि दाल–चामल–आलु–प्याज को जिन्दगीसंग पराजीति भएर ठाँउ छोडी भारतका गल्लीहरुमा मजदुरी गर्न बाध्य छन्  । पराजीत जीवनलाई न त समाजबादको बारेमा ज्ञान छ न सङ्घीयता र समृद्धीका बारेमा । अहिलेका समृद्धिका नाराहरु ब्यवहारमुखी नभएकाले गरिब, निमुखा, मजदुरहरुलाई जीवन धान्न सकस भएको छ ।  

सत्ता र शक्तिको राप लिनेहरु भाषण, नारा र तर्कमा समाजबाद, समृद्धि र राष्ट्रियताकका कुरा गर्छन् । वास्तवमा ति भाषणका कलाकारहरुले नै समाजबादको उल्टो प्रयोग गरिरहेका छन् साथै राष्ट्रियताका सन्दर्भमा सत्ता बाहिर हुँदा राष्ट्रियताको ढोल पिट्ने  र सरकारमा हुँदा कालापानी, लिपुलेकको नक्सा परिमार्जन भइरहदा  थरकमान हुने परम्पराले  निरन्तरता पाएको छ । राष्ट्रबादको नाराले सरकारको कुर्सीमा पुग्ने । कुर्सीमा पुगेपछि लम्पसार हुने चरित्र नेपालको लागि शुभ संकेत होइन । तीनकुने झण्डामा  अंकित चन्द्र र सुर्यले देखाएको राष्ट्र र नेपाली जनता ब्रह्माण्डमा चन्द्र र सुर्यको अस्तित्व रहुञ्जेल रहनेछन्  र यसमा भएको रातो रंगले विरताको प्रदर्शन, स्वतन्त्रता र प्रेम देखाउछ । यो नेपाली राष्ट्रिय तिनकुने झण्डा संग सवै हुँदाखाने मदजुर, गरिबहरुको गहिरो आत्मीयता छ । सवै यसै तीनकुने झण्डाको स्वाभिमान भित्र अटाएका छन् । राष्ट्रिय झण्डाको मानमर्दन हुने काम कसैबाट हुनु हुन्न । अहिलेको बहुमतको सरकारले राजनीतिक परिपक्वताका साथ समृद्धिको अभियानमा गरिब, मजदुरहरुलाई सहभागी गराउँदै नेपालीको शिर सागरमाथा झैं उचो राख्ने  साहस गर्नुपर्छ । राष्ट्रियता बचाउन गरिब, मजदुरहरुलाई विकासको मुलधारमा ल्याएर आत्मनिर्भर बनाउनुपर्छ । परनिर्भरताले नै राष्ट्रियता धरापमा पर्दै गएको छ ।  नत्र भने भोका पेटले र नाङ्गो आङले नेतालाई सधैं सरापीरहनेछन् नेपाली गरिव मजदुर ।

(लेखक भट्ट नेपाल तरुणदल बैतडीका जिल्ला उपाध्यक्ष हुन ।)



नयाँ