arrow

१३ औं सागको रिहर्सल अन्तिम चरणमा, स्वयंसेवकलाई विशेष प्रशिक्षण

काठमाडौंमा सोमबारदेखि बुधबारसम्म, पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
sag-volunteer-training.jpg

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेको छ । 

सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराएका छन् ।

काठमाडौंमा हुने विभिन्न खेलका लागि पाँच सय स्वयंसेवक परिचालन हुँदै छन् । उनीहरुलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न व्यक्तिले प्रयोग गर्ने एक्रिडेशन कार्ड, अनुशासन, नियम, कानून लगायतका विषयमा जानकारी गराएको थियो । 

रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन विकले प्रशिक्षण दिएका थिए । सोमबारदेखि सुरु भएको प्रशिक्षण तीन दिनसम्म चल्नेछ । 

प्रशिक्षणको पहिलो दिन २ सय १५ जना सहभागी थिए । बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने छ । 

त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन् । 

पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

अनअफिसियल २ सहित २९ खेल १३ औं सागमा खेलिने छन् । काठमाडौंमा १९, पोखरामा ९ र जनकपुरमा १ खेल हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ