arrow

नदी नियन्त्रण आपतकालिन कोषको ९० लाखमा सांसद साम्बा मुछिए

काम दिलाइदिए बापतको कमिशन नदिएपछि भुक्तानी रोकिएको ठेकेदारको आरोप

logo
प्रकाशित २०७६ मंसिर ८ आइतबार
samsad-samba.jpg

मोरङ । मोरङ १ (क) का प्रदेश सांसद कुलप्रसाद साम्बाले ९० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । कोशी तथा  बक्राहा नदी नियन्त्रण आयोजनाको आपतकालिन कोषको ९० लाख रुपैयाँ कागजपत्र मिलाएर विभिन्न ब्यक्तिका नाममा निकालेको उर्लाबारी ८ का केही युवाले आरोप लगाएका छन् । 

उर्लाबारी –८ का नारायण भनिने टंकबहादुर बस्नेत र इन्द्र लामाले बक्राहा नदीमा प्रकुपाइन लगाउन सोही कार्यालयबाट १६ लाख रुपैयाँ लिएका थिए । उक्त रकमको चाँजोपाँजो समेत साम्वाले नै मिलाएका थिए । 

त्यति मोटो रकम बस्नेत र लामाको मिलेमतोमा सकिएको भन्दै साम्वाले केही अखवारमा समाचार लेख्न लगाएका थिए । चेक बुझ्नु अघिदेखि नै १६ लाख एकलौटी रुपमा खान नपाउने सांसद र उनका वरिपरि रहेकाहरुले बताउँदै आएका थिए । तर, बस्नेत र लामाले सांसदको टिमलाई खर्च छुट्याएनन । खर्च नछुट्याएपछि सांसद साम्वाले नै केही अखबारमा उनीहरू विरूद्ध समाचार लेख्न लगाएको जानकारहरू बताउँछन् । 

१६ लाख लिन नै पापड बेल्नु पर्यो 
बस्नेत र लामा लगायतले  १६ लाख रुपैयाँबाट १ रुपैयाँ पनि सांसद र उनका आसेपासेलाई छुट्याएनन् । त्यसपछि आक्रोशित बनेका साम्वाले बस्नेतलाई पैसा रोक्न अनेकन तानाबाना बुनेको बस्नेत निकटले बताए । 

उनीहरुले कोशी बक्राहा आयोजनामा काम गरेका थिए। तर, बस्नेतले आधारशिला सप्लायर्स धरानबाट चेक पाए । पैसा पाउनु थियो पायौं भन्दै चेक साट्न धरान गएका बस्नेतले चेक नसाटिएपछि बैंकलाई कालो सूचीमा राख्ने र चेक अनादार गरेको भन्दै उजुरी गरे । नेपाल राष्ट्र बैंक सम्म पुगेर चेक अनादार गर्नेलाई हुने कानूनी कारबाहीका बारेमा जानकारी लिए ।  नेपाल बंगलादेश बिरुद्ध आक्रामक कानूनी उपचार खोज्दा खोज्दै बस्नेत र लामाको ठूलै खर्च भयो । 

चेक किन साटिएन ?
बक्राहा नदीमा प्रकुपाइन गरी अस्थायी तटबन्ध गरे वापत कोशी बक्राहा आयोजनाले दिनु पर्ने पैसा आधारशिला सप्लायर्सले भदौ २५ गते र ३० गते दुई बेग्ला बेग्लै चेकमा दियो । 

२५ गते १० लाख र ३० गते ६ लाख रुपियाँको चेक आधारशिला सप्लायर्सले टंकबहादुर बस्नेतका नाममा खिच्यो । नेपाल बंगलादेश बैंकको उक्त चेक साटिएन । बैंकले कहिले चेक बाउन्स भएको भन्दै फर्कायो भने कहिले हस्ताक्षर मिलेन भनेर फर्कायो । 

टंकबहादुर बस्नेतले भने, ‘हामीलाई पैसा नदिन सांसद देखि उनका पिए लगायत थुप्रै सरकारी मान्छे लागे । तर हामीले काम गरेको पैसा जसरी पनि लिने भन्दै बैंकलाई चेक अनादार र कालोसूचीमा हाल्ने गरी कानूनी प्रक्रिया खोजेपछि बैंकले नै बोलाएर पैसा दियो ।’

आयोजनाले दिनु पर्ने पैसा आधारशिला मार्फत 
प्रकुपाइन निर्माण गरेको पैसा कोशी बक्राहा नदी नियन्त्रण कार्यालयले जारी गरेको चेक मार्फत पाउनु पर्ने बस्नेत र लामाको भनाई छ । तर, आफूहरुलाई पछिल्लो पटक बंगलादेश बैंकले बोलाएर चेक साटिदियो लामाले बताए । यो  चेक दिने आधारशिला सप्लायर्स धरानसँग सांसदको के सम्बन्ध छ ? बस्नेत प्रश्न गर्छन् । 

उनले भने। ‘आधारशिला सप्लायर्स र आयोजना बीच के सम्बन्ध छ, हामीलाई थाहा छैन । उसले प्रकुपाइन बनाउने ठेक्का लिएको थाहा छैन । एक चपरी माटो र एक बोरा बालुवा हालेको थाहा छैन । तर पैसाको भान्से आधारशिला सप्लायर्स भएको छ। यत्रो आयोजनामा एउटा सिन्को नभाच्ने सप्लायर्स आयोजनाको पैसा बाढ्ने भान्से कसरी बन्यो, हामी नै अनविज्ञ छौं ।’ 

आपत्कालिन कोषको ९० लाख कहाँ छ ?
कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले गत वर्ष ९० लाख रुपियाँ नदी नियन्त्रणमा विनियोजन गरेको थियो । उक्त रकम मध्ये १६ लाख रुपैयाँ उर्लाबारी ८ को सन्थाल टोलमा खर्च भयो । 

बाँकी सबै रकम सांसद र उनका कार्यकर्ताको मिलि भगतमा खाएर सकिएको बस्नेत र लामाले दाबी गरेका छन् । बस्नेत र लामाले उक्त रकम सांसदले भ्रष्टाचार गरेर सिद्धयाएको दाबी गरेपनि आयोजनाले  उक्त रकमबाट झपडतल, टालिभट्टा, मौलीबारी र सुन्दरी चौकमा स्पर बनाउँदा खर्च भएको दाबी गरेको छ । 

तर, कार्यालयका पुराना डिई हाल सरुवा भई अन्यत्र गएकोले उक्त रकमको हिसाव पनि हाकिमको सरुवासागै डिसमिस बनाउने प्रयास गरिएको छ । पुराना कार्यालय प्रमुखले भनेको स्थानमा स्थलगत रिर्पोटिङ गर्न पुग्दा सो क्षेत्रमा कुनै काम नभएको पाइएको छ । 

कतै गठन भएन उपभोक्ता समिति 
उर्लाबारी ८ को सन्थाल बस्तीमा आपतकालीन काम भयो । सन्थाल बस्ती जोगियो । सांसद साम्वा रातभर बोरा ओडेर हाफपेन्टमै खोला छेक्न जुटे भनेर समाचार आयो । फोटो भाइरल बनाइयो । 

बिराटनगरबाट सञ्चारकर्मी बोलाएर ठूलै पत्रकार सम्मेलन गराइयो । तर, यो सबै गतिविधि बारे सोही वडाका बडाध्यक्ष कुलबहादुर कार्की र नगर प्रमुख खड्ग फागो बेखबर भए । पैसा भुक्तान लिने बेलामा पनि उपभोक्ता समिति गठन भएन । 

उर्लाबारी ८ मा मात्र होइन । पथरीशनिश्चरे ५ मौलीबारी, पथरीशनिश्चरे ३ को  सुन्दरी चोक र रतुवामाई ९ समेत उपभोक्ता समिति गठन भएन । सम्बन्धित वडाका बडाध्यक्ष समेत बेखबर भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ