arrow

भ्रमण वर्ष २०२० का लागि अनेसास प्रचारको गतिलो माध्यम बन्न सक्छ : अध्यक्ष राधेश्याम लेकाली

logo
प्रकाशित २०७६ मंसिर ९ सोमबार
radhe-shayam-lekali-inls.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले भ्रमण वर्ष २०२० लाई अनेसासले सबैभन्दा सशक्त भूमिका खेल्ने दावी गरेका छन्। सरकारले विश्वभरबाट धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याएर भ्रमण वर्ष २०२० लाई सफल बनाउने दावी गरिरहँदा यसको प्रचारप्रसारमा अनेसासले महत्वपूर्ण भूमिका खेल्न सक्ने लेकालीले बताएका हुन्। आखिर अनेसासले कसरी भ्रमण वर्षलाई सफल बनाउन सक्छ ? के हो अनेसास ? यसको उद्धेश्य के हो ? लगायतबारे अनेसासका केन्द्रीय अध्यक्ष लेकालीसंग हाम्राकुराडटकमले कुराकानी गरेको छ–

के हो अनेसास ?
अनेसास सबै साहित्यिक सदस्यहरु भएको ठाउँ हो। अरु ठाउँमा त असाहित्यिकहरु पनि छन्। पाठकहरु पनि छन्। नेपाल च्याप्टरमा चाहिं सबै साहित्यिक व्यक्तिहरु नै छन्। नेपाल च्याप्टरमा ३७० भन्दा बढी सदस्य छन्। वासिङटन डिसीमा ३०० को हाराहारीमा छन्। जापानमा छन् १५० को हाराहारीमा। अष्ट्रेलियाभरिमा छन् २०० भन्दा बढी छन्। बेलायतमा छन् १०० को हाराहारीमा। युरोपमा छन् डेढ दुई सय। अनेसासमा जम्माजम्मी १७ सय जती छन्। यसमा लगभग ७० जना ट्रस्टी छौं। हामी एक हजार डलर तिरेका छौं। लाइफटाइम हो। अरुले १०० डलर तिरेपछि लाइफटाइम मेम्बर बन्न पाउँछन्। सय डलर तिरेपछि च्याप्टरको पनि र केन्द्रको पनि आजीवन सदस्य हो। च्याप्टर बन्द भयो भने पनि केन्द्रको सदस्य रहिरहन्छ।

यसका सयौं प्रकाशनहरु छन्। अनेसास डबली भनेर हरेक आइतबार रेडियो अनेसास डबली आउने गर्छ। अनलाइन संस्करण अनेसास दर्पण पनि छ। http://inls.org/ वेभसाइट पनि छ। यसका पुरस्कारहरु छन् थुप्रै। बेष्ट बुक अवार्ड छन्। पहिले २० वटा थिए। अहिलेदेखि बेष्टबुक अवार्ड भनेर दुई हजार डलरको दियौं। एउटा डायस्पोरामा बस्नेलाई ११ सयको बेष्टबुक अवार्ड दिन थाल्यौं। पाँच वटा हजार हजार  डलरकाका छन्। तीन वटा पाँच सय डलरका छन्। त्योदेखि बाहेक २५ सय डलरको छ साहित्यिक पुरस्कार। अर्को २१ सय ११ डलरको छ। त्योदेखि बाहेक महिला सम्मेलनमा हामीले एक जना महिलालाई हजार डलरको अवार्ड दिन थाल्यौं। नवरत्न पुरस्कार भनेर नौ जना महिलालाई दुई दुई सय डलरको पुरस्कार दिन्छौं। बच्चाहरुका लागि पनि दुई दुई सय डलरको छ। प्रतियोगिताहरुमा पनि हामी पुरस्कार दिन्छौं। बाल कविता पुरस्कार छ। अनेसास विशिष्ट सम्मान पनि छ।

त्योदेखि बाहेक यसको अन्तर्राष्ट्रिय सम्मलेनहरु छन्। अन्तर्राष्ट्रिय नेपाली सम्मेलन बेलायतमा गर्‍यैं। छैटौं सम्मेलन थियो त्यो। अन्तर्राष्ट्रिय महिला सम्मेलन हुन्छ। तेस्रो सम्मेलन हामीले सिक्किममा गरेका थियौं। अर्कौ अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन हुन्छ। अब जापानमा आगामी जनवरीमा गर्दैछौं। क्षेत्रीय स्तरको साहित्य सम्मेलन हुन्छ। एसियाको दोस्रो दार्जिलिङमा गर्‍यौं। युरोपको बेल्जियममा गर्‍यौं। अर्को तयारी हुँदैछ। त्यस्तै अमेरिकामा, अष्ट्रेलियामा पनि हुन्छ। क्षेत्रीय स्तरमा पनि गतिविधि हुन्छन्। अनि सबै च्याप्टरमा हामीले बर्सेनि भानु जयन्ती, मोती जयन्ती, देवकोटा जयन्ती अनिवार्य रुपमा गर्दै आएका छौं। योदेखि बाहेक यसको वार्षिकोत्सव हुन्छ। निर्वाचन हुन्छ। हरेक दुई वर्षमा कार्यसमितिको निर्वाचन हुन्छ। त्यस्तै बोर्ड अफ ट्रस्टीको हरेक चार वर्षमा निर्वाचन हुन्छ। यी सामान्य परिचयमात्र भए।

यीदेखि बाहेक च्याप्टरहरुले आफ्ना कार्यक्रम गर्छन्। पुरस्कारहरु राख्छन्। प्रकाशनहरु गर्छन्। नेपाल च्याप्टरले पनि ४० बढी किताबहरु प्रकाशन गरिसकेको छ। पुरस्कार राखेको छ। त्योदेखि बाहेक विभिन्न कार्यक्रम गरेकै छ। अनि केन्द्रको अर्को छ। आम्ना र नासासंग मिलेर केन्द्रले हरेक वर्ष कार्यक्रम गर्छ। आन्मा र नासा दुईवटा छुट्टै संस्था हुन्। यहाँबाट पहिले उपप्रधानमन्त्री जान्थे। यसपटक मुख्यमन्त्री लगियो। शेरधन राईलाई। एएनएसंग यसले कार्यक्रम गर्छ हरेक दुई वर्षमा। 

अरु काम केही गरेको छ ? 
यसले कतिपय ठाउँमा नेपाली पाठशालाहरु संचालन गरेको छ। कति ठाउँमा अरुले संचालन गरेकामा सहयोग पनि गरेको छ। नयाँ पुस्तालाई कसरी नेपाली भाषा सिकाउने भनेर काम गरिरहेको छ। यो चिन्तामा हामी लागेका छौं सबैले शुद्ध नेपाली बोलुन्। पाठशालाको लागि एउटा छुट्टै कोर्ष बनाएका छौं। निकै अध्ययन गरेका बनाएका हौं। बच्चाहरुलाई कसरी पढाउने भनेर तयार गरिएको हो। सबैतिर एउटै कोर्ष लागु गर्न लाग्दैछौं। बेसिक कोर्ष हो। त्यसपछि हामीले सांस्कृतिक पक्षलाई पनि जोड दिएका छौं। सांस्कृतिक समिति नै गठन गरेका छौं। यसको उद्धेश्य के भनेदेखि साहित्यिक कार्यक्रम गर्दा सांस्कृतिक कार्यक्रमप्रति आकर्षित हुन्छन् र सबैभन्दा बढी आउँछन् भनेर त्यो गरेको हो। अभिभावकसंग बच्चा आएपछि बच्चाले पनि केही न केही सिक्छ। र बच्चाको पनि प्रतिस्पर्धा गराउँछौं। ताकि नाच्दा पनि नेपाली गीत गाउनु पर्‍यो। नेपाली बोल्नुपर्‍यो। त्यसले पनि भाषालाई मद्धत पुर्‍याउँछ। 

अनेसासले आफ्नो उद्धेश्य अनुरुप कत्तिको काम गरेको छ ? 
उद्धेश्य चाहिं के छ भने नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने हो ? नेपाली भाषीहरुलाई एउटा छातामा ल्याउने हो। र नेपाली भाषी साहित्यकारहरुको एउटा मञ्च खडा गर्ने हो। त्यो कुरामा यो अत्यन्त सफल भएको छ। किनकि हाम्रो विश्वभरिको उपस्थिति छ यसले त्यो पूरा गर्छ। अन्तर्राष्ट्रियकरण गर्ने क्रममा हामीले २०२६ सालअघिका २० वटा कथाहरुलाई अंग्रेजीमा अनुवाद गरेर सिल्भर क्यास्केट भनेर बजारमै ल्याइसकेका छौं। बेलायतमा हामीले लोकार्पण गरेका थियौं। नियात्रा र अन्य विधामा पनि लागेका छौं। जहाँजहाँ कार्यक्रम गर्छौं त्यहाँका स्थानीय लेखक र भाषीलाई पनि समेट्ने प्रयास गरेका छौं। जापानमा जाँदा हामीले त्यहाँका प्रोफेसरलाई समेट्छौं। न्यूह्याम्पसायरमा कार्यक्रम गर्दा त्यहाँका गभर्नर र सिनेटर आएका थिए। न्यूयोर्कमा पनि त्यहाँका गर्भनर र मेयर पनि आएका थिए। डीसीमा पनि आएका थिए। अहिले हामीले सबै स्थानीयलाई पनि बोलाएका छौं। नेपालीहरुको पनि ठूलो समूदाय भएकाले त्यहाँका स्थानीयले नेपालीलाई चासो दिन थाले। नेपाली साहित्यिको अन्तर्राष्ट्रियकरण भनेको हाम्रो साहित्यलाई उनीहरुको भाषामा लगिदिनु पर्‍यो। र त्यसको प्रचारप्रसार गरिदिनुपर्‍यो। 

प्रचारप्रसारमा अनेसासले धेरै सहयोग गर्न सक्छ हैन ? 
हो। साँच्चै भन्ने हो भने अहिले सरकारले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण गर्न चाह्यो भने एउटा ठूलो अवसर पनि हो। उनीहरुले केही खर्च गर्न नै पर्दैन। अहिले भ्रमण वर्ष २०२० कै कुरा गर्ने हो भने करोडौं रुपैयाँ खर्च गरेर उनीहरुले के के प्रदर्शन गर्छन् सकियो। यहाँबाट मन्त्रीहरु जान्छन् के के खर्च गर्छन् सकियो। तर हाम्रो त त्यहाँ स्थायी रुपले शाखाहरु छन् नि त। हाम्रो प्लेटफर्म प्रयोग गर्‍यो भने त त्यहाँ हरेक कार्यक्रम भइरहेको हुन्छ। झाँकी निकाल्ने त हाम्रोलागि सामान्य हुन्थ्यो। तर सरकारले हाम्रो प्लेटफर्म युज गरेर भिजिट इयर २०२० सफल बनाउन सक्ने थियो।

सरकारसंग कुनै समन्वय हुन सकेन ?
मैले पर्यटन बोर्डमा गएर कुरा त राखेको छु। उहाँले पोजेटिभ लिनुभाछ। तर अहिलेसम्म कुरा अगाडि बढेको छैन। अहिले बाणिज्य दूतहरु, पर्यटन दूतहरु के के हुँदोरहेछ राजनीतिक तहको। त्यस्तो नियुक्ति गर्दा केही त व्यक्तित्व भएका पनि नियुक्त भएका छन् जस्तो प्रेमराजा महत। उनले पैसा खुवाइरहनु पर्दैन। तर धेरै मान्छेहरुले मन्त्रीलाई भेटी चढाएर हुँदा रहेछन्। उनीहरुमार्फत काम हुँदा आर्थिक चलखेल हुँदो हो। हामीलाई दियो भने त दुई करोड किन चाहियो त्यसको दश प्रतिशत भए पुग्छ। त्यस्तै दोस्रो नम्बरमा सरकारसंग मैले उठाएको गम्भीर कुरा के छ भन्दा हरेक दुतावासमा नभए पनि प्रभावशाली देशहरुका दूतावासमा सांस्कृतिक सहचारीको व्यवस्था गरियोस्। त्यसो गर्दा एउटा साहित्यकारले जागिर पनि पाए। जति उसले जति विदेश घुम्छ त्यति नै उसले आफ्नो लेखनमा खारिएर आउँछ।

लेखक त्यहाँ गइसकेपछि उसले त साहित्यकारहरुसंग समन्वय गर्छ। उसले स्थानीय साहित्यकार र लेखकहरुको बीचमा पुलको काम गरिदिन सक्छ। दूतावासमा लाइब्रेरीको सोच पनि गरिएको छ। यदि सांस्कृतिक सहचारी भयो भने उसलाई किताबको माया हुन्छ। उसले दूतावासमा लाइब्रेरी राम्ररी संचालन गर्न सक्छ। यी दुई काम भए भने नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि जुन राजमार्ग हो त्यो खुल्छ। अन्तर्राष्ट्रियकरण भन्न बित्तिकै छ्यापछ्याप्ती अंग्रेजी किताबहरु निस्केका छन्। तर त्यो बजारमा बिक्दैन। बिक्ने खालका किताबको पहिचान गर्नुपर्‍यो र त्यसको सही अनुवाद गर्नुपर्‍यो। 

अनुवाद भनेको रिक्रिएसन हो। त्यसका लागि ठाडो अनुवादले हुँदैन। अहिले लक्ष्मीप्रसाद देवकोटाका किताबहरु नै नोबेल पुरस्कारका लागि अयोग्य छन् भनेर हामीले कसरी भन्ने ? जबकि त्यहाँ हामीले पुर्‍याएका छैनौं। रविन्द्रनाथ टैगोरको पनि कयौं वर्षपछि उनैले अनुवाद गरे रे भन्ने सुनेको थिएँ। विश्व बजारमा पुगेपछि बल्ल उनले नोबेल पुरस्कार पाएछन्। चीन, भियतनाम, कोरिया लगायत जुन जुन देशकाले नोबेल पुरस्कार पाएका छन् सबै अनुवाद भएर गएपछिमात्र पाएका छन्। म आएपछि यसबारे कुरा उठाइरहेको छु। अंग्रेजीमा हामीले नै गर्न सकेका छैनौं। व्यक्तिहरुको गरेका छौं तर सिल्भर क्यास्केट नै पहिलो हो।

हामीले ‘गौरी’ को कोरिया भाषामा अनुवाद पनि गरेका छौं। ६० कविहरुको मुक्तक कोरियाली भाषामा अनुवाद भएको थियो डेढ वर्षअगाडि। मुनामदन चिनियाँ, असमी लगायतका भाषामा अनुवाद भएको छ। तर त्यसको मार्केट नै हामील गर्न सकेका छैनौं। साझा जस्तो प्रकाशन आउनु पर्‍यो व्यवसायीकका लागि। तर साझा त राजनीतिक प्रवेशले थला पर्‍यो। अहिले त किताबमा लगाइएको करले धरासायी बनाइएको छ।

अनेसासले नेपाली साहित्यलाई योगदान दिएजस्तो लाग्छ ? 
विश्वमा कुनै अभियानकै रुपमा आएको कुनै संस्था हो भने त्यो अनेसास हो। यसलाई रोक्छु भनेर पनि रोकिँदैन। छेक्छु भनेर पनि छेकिँदैन। दवाएर राख्नु भनेर पनि दबिँदैन। सदस्य संख्या, संस्थागत संरचनाले ढलेर ढल्दैन। कहिलेकाहिं असन्तुष्ट मान्छेहरु पनि हुन्छन्। पुरस्कार कसैलाई दियो अर्को रिसाउँछ। असन्तुष्टहरु टुक्रिएर अर्को संस्था खोलेका पनि छन्। विश्व साहित्य महासंघ त्यसमा एक हो। संस्थाभित्र पारदर्शीता अनिवार्य तत्व हो। संस्थामा निश्पक्षता हुनुपर्छ। त्यसको पक्षमा म छु। म अर्कोकुरा संस्थाले गर्ने हरेक गतिविधिहरु सार्वजनिक हुनुपर्छ भन्ने प्रयासमा म छु। काम गर्नेले नै गल्ति गर्छ भन्ने पक्षमा म छु। १७ सय सदस्यहरु आजीवन हुनु भनेको नट अ जोक। साधारण सदस्यहरु भने धेरै छन्। जो बाहिरका च्याप्टरमा वार्षिक सदस्य हुन्छन्। नेपालमा बनाइएको छैन। हाम्रोमा स्थायी कार्यालय त छैन। 

अमेरिकामा हाम्रो हेड अफिस हो। दुई वर्षदेखि मेरै घरमा निःशुल्क राखेको छु। अमेरिकामा घर बनाउने सोचमा छौं र नेपालमा एउटा फ्ल्याट लिन खोजिरहेका छौं कमर्शियल फ्ल्याट। मैले तीन दिनमा सात लाख पुर्‍याएको थिएँ। अमेरिकामा भएको कार्यक्रममा मैले नै तीन लाख दिन्छु भनेको थिएँ।

समस्या के छ ? 
सिस्टम। कहिलेकाहीं सिस्टम फेलुअर हुन्छ। यसपटक पुरस्कारलाई व्यवस्थित गर्ने भन्दाभन्दै झन्नै फेलुअर भयौं। केन्द्रीय समिति र पुरस्कार समितिबीच धन्यै बेमेल भयो। विधानले एउटा कुरा भन्या छ ब्यवहारमा अर्को निर्णय भएको छ। संस्था चलाउने सिस्टमले हो। निर्वाचन पनि यसको समस्या हो। निर्वाचन हुँदा आपसमा भिडन्त हुने। अनि निर्वाचन भएपछि विजेताले काम गर्न नपाउने। त्यस्तै केन्द्रीय सचिवालयमा प्रशासन नहुनु। प्रशासनिक दक्षता भएको सचिवालय नहुनु कमजोरी हो। निर्वाचितले संस्था चलाएर हुँदा संस्था चलाउन त्यसको प्रशासनिक इकाइ अनिवार्य छ। डाटा अपडेट हुन्थ्यो। 

प्रशासन हुन्थो। सचिवालय सबैको पहुँचमा हुनुपर्‍यो। त्यो नेपालमै हुनुपर्‍यो। सबैको पहुँचमा नेपालमात्र छ। अमेरिकाको वासिङटनमा सचिवालय बनाए पनि डेनबराका मान्छे त्यहाँ पुग्दैनन्। टेक्ससका मान्छे पुग्दैनन्। न्यूयोर्ककै पुग्न गार्‍हो छ। तर नेपाल यस्तो ठाउँ हो जहाँ विश्वभरिका मान्छे आउँछन्। भेटघाट गर्ने ठाउँ हुन्थ्यो। झोला बिसाउने ठाउँ हुन्थ्यो। त्यसकै कन्सेप्ट अनुसार डायस्पोरा डेस्क राखिएको हो। 

यसकै कारण हो नेपालमा सदस्य राख्नुपरेको ?
नेपालमा सदस्य राख्नु परेको कारण यसका संस्थापकहरुमध्ये लभ गाउँले, शिव सत्याल लगायत अमेरिका बसे पनि पछिल्लो पटक नेपालमा बसे। यसका संस्थापकहरुले नै नेपाल च्याप्टर खोले। उनीहरुले त्यतिबेला संस्था खोल्दा डायस्पोराका लागि भनिए पनि नेपाली साहित्यको गतिविधि गर्ने भनेरै खोलेका हुन्। विधानमा डायस्पोराको भनेर उल्लेख छैन। उहाँहरुले नै सदस्यता वितरण गर्नुभएको थियो। पछिल्लो पटक म आइसकेपछि सन् २०१० देखि आकर्षण विशेष भयो। र सदस्य संख्या बढ्दै गयो। बढ्नुको पछाडि दुई वटा कारण छन्। एउटा त स्वयं नेपालमै बनेका छन्। अर्को विदेशमा रहेर सदस्य बनेकाहरु नेपाल फर्केर सदस्य बनेका छन्। विदेशमा काम गर्न बसेकाहरु निरन्तर त बस्दैनन्। नेपाल आएपछि सदस्य बनेका छन्। नेपालीमात्र हैनन् विभिन्न देशमा बनेकाहरु भेला भएका छन्। अर्को कुरा पुरस्कार लिन गएकाहरु त्यहीं सदस्यता लिएर नेपालमा आवद्धता लिएका हुन्।

एनआएएनएका यहाँ सदस्य नहुने तर अनेसासको ?
एनआरएनएका पनि छन् यहाँ सदस्य। उदाहरणका लागि भगवती बस्ने इजरायलको एनआएएनएको सदस्य थिइन्। उनी नेपालमै स्थायी रुपमा बस्छिन्। उनी सक्रिय छिन् त एनआरएनएमा। साहित्य विभागको उनी संयोजक नै भइन्। अनेसासको पनि उनी सदस्य हुन्। उनी यहाँको सदस्य हुन्।

भोलिको योजना के छ ? 
हामी अहिले सम्मेलनकै योजनामा छौं। प्रकाशन, अनुवाद कृतिहरुको तयारी, विदेशी लेखकहरुसंग सहकार्यको प्रयास, नियमित कामहरु छन्। चुनावमा आउँदा भनेको थिएँ कि भोटरको भेरिफिकेसन बन्द गरौं। पहिले नै तय गरौं। त्यसो भयो भने कार्यकालमा असर पर्दैन। विधान स्पष्ट गरौं। संशोधन समिति निर्माण गरे पनि समितिले नबुझाएका कारण समस्या भएको छ। अनेसासलाई कतिवटा च्याप्टर छन् र कति बन्द छन् त्यसको खाका जरुरी छ। कतिपय त बन्द भएका छन्। चीनमा च्याप्टर छ कि छैन जस्तो छ। मुम्बईमा च्याप्टर छ कि छैन जस्तो छ। बंगलादेशमा पनि निश्चित समयमा च्याप्टर थियो। उनीहरु फर्केर नेपाल आएपछि त्यत्तिकै रह्यो। धेरै च्याप्टर पनि छन्। नेपालमा एउटै मात्र बनायौं। अमेरिका, भारतहरुमा राज्यपिच्छे नै छन्। अष्ट्रेलियामा पनि पाँच वटा छन् च्याप्टर। नेपालमा पनि चार वटा थिए। म आएपछि एउटा मर्ज गर्‍यौं। 

अन्त्यमा केही ?
अनेसासलाई हेर्ने दृष्टिकोणमा सबै सकारात्मक हुनुपर्छ। संस्था आफैमा खराव हुँदैन। व्यक्ति खराव हुन्छ। व्यक्तिको आउने जाने क्रम चलिरहन्छ। संस्थाले गरेका निर्णयहरु सबै सही छन् भनेर पनि नचिनिदिनुस्। तर संस्थाले गरेका राम्रा कामको पनि प्रशंसा गरिदिनुस्। जुन हेर्ने दृष्टिकोण छ त्यसमा सकारात्मक सोच राखिदिनुहोस् भनेर आग्रह गर्दछु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ