arrow

सागमा नेपाली फुटबल टोलीको घोषणा, को को परे, कसले नखेल्ने ? थाल्यो रंगशालामा अभ्यास  

logo
प्रकाशित २०७६ मंसिर १० मंगलबार
football-nepa-sag.jpg

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ अन्तिम टोलीको घोषणा भएको छ । सोमबार मुख्य प्रशिक्षक बालगोपाल महर्जनले मिडफिल्डर सुजल श्रेष्ठलाई कप्तानी सुम्पिदै खेलाडीहरु घोषित गरेका हुन् । 

को को परे ? 
सुजल श्रेष्ठ, विकेश कुथु, विक्रम लामा, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, छिरिङ गुरुङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापामगर, सुनील बल र राजीव लोप्चन रहेका छन् ।

को अटेनन् ? 
अनुशासनको कारबाहीका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई प्रशिक्षक महर्जनले राष्ट्रिय खेलकुद परिषद राखेपसंग समन्वय गरेर सागबाट हटाइएको छ ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि अनुशासनको कारबाहीमा परेका विमलसहित मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशीले साग नखेल्ने पक्का भएको हो ।

कुवेतसँगको खेलका लागि भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लबमा गएर मदिरा सेवन गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाले टिममा रहेका चार खेलाडीलाई कारबाही गर्दै टिमबाट हटाएको थियो । भारतमा सन् २०१६ मा भएको १२ औं सागमा नेपालले स्वर्णपदक जित्दा तिनैजना खेलाडीहरु टिममा रहेका थिए । मिडफिल्डर सन्तोष तामाङ भने साग खेल्ने टिममा रहेका थिएनन् । 

सिनियर को को ? 
सागको नियमअनुसार २३ वर्षमाथिका तीन खेलाडीमात्र टोलीमा समेट्न पाइने प्रावधान छ । ती तीन खेलाडीमा कप्तान सुजलसँगै गोलकिपर विकेश कुथु र मिडफिल्डर विक्रम लामा रहेका छन् ।

दशरथ रंगालामा अभ्यास 
नेपाली टोलीले पहिलो पटक सोमबार दशरथ रंगशालामा अभ्यास गरेको छ । २०७२ सालको महाभूकम्पपछि क्षतविक्षत भएको रंगशालामा फुटबल हुन सकेको थिएन । 

कप्तान सुजलले फेरि रंगशालामा खेल्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । उनी टिमको तयारी राम्रो भएको र सागमा स्वर्ण जित्नका लागि खेल्ने बताउँछन् ।

टिमको तयारीबारे उनले भने, ‘विगत ४ महिनाबाट तयारी गरिरहेका छौं । स्वर्ण जित्ने लक्ष्य छ । त्यसकै लागि तयारी गरिरहेका छौं ।’ 

प्रशिक्षक महर्जन पनि टिमको तयारी राम्रो भएको बताउँछन् । उनले भारतले नखेल्ने भएपछि भने खेलाडीहरुले खल्लो महसुस गरेको बताए । उनले भने, ‘भारतले नखेल्ने भएछ । केटाहरुले फेरि भारतलाई हराएर उपाधि जित्न पाएको भए मजा हुन्थ्यो भन्दै थिए ।’

रंगशालामा खेल्न पाउँदा नेपाली खेलाडीहरु उत्साही हुनु स्वभाविकै हो । यसअघि गत मंसिर ३ मा रंगशाला तयार नहुँदा नेपालले भुटानलाई होम गेम बनाएर विश्वकप छनोटको खेल कुवेतसंग खेलेको थियो । 
कति टिम ? 
भारतले अन्तिम समयमा नखेल्ने बतायो । यसले गर्दा यसअघि एन्फाले जारी गरेको खेलतालिका पनि बिग्रिएको छ । अब फेरि नयाँ तालिका सार्वजनिक गर्नुपर्नेछ । 

भारतले हात झिकेपछि अब नेपालसहित पाँच राष्ट्रमात्र हुनेछन् । सागमा बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स हुनेछन् । पाकिस्तानले यसअघि नै नखेल्ने जनाएको थियो । 

पाँच टिममात्र भएपछि अब ‘राउन्ड रोबिन लिग’का आधारमा प्रतियोगिता हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ