arrow

३ करोडको गाडी चढ्ने प्रदेश अर्थमन्त्री आङबो मुख्यमन्त्रीको आँखामा, पुनर्गठनमा हटाइदै

logo
प्रकाशित २०७६ मंसिर ११ बुधबार
indra-aangbo.gif

फिदिम । केपी ओलीको सरकारले केही दिन अघि गरेको मन्त्रीपरिषद पुनर्गठनको चर्चा सेलाउन नपाउँदै प्रदेश नं १ सरकारले पनि मन्त्रिमण्डल पुनर्गठन गर्ने भएको छ । संघिय सरकारका मन्त्रीहरु फेरबदल गरेजस्तै प्रदेशका मुख्यमन्त्री शेरधन राईले पनि सरकारका मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका हुन्।

नेकपाको सचिवालय बैठकमा प्रदेश सरकारका मन्त्रीहरु हेरफेर गर्ने बिषयमा छलफल भएको नेताहरुले बताएका छन् । ‘प्रदेशको मन्त्रिमण्डल पुनर्गठनको बिषयमा सचिवालयको बैठकमा घनिभुत रुपमा छलफल भएको छ,’ उनले भने ‘निर्वाचन लगतै प्रदेश सरकारका मन्त्रीहरु परिवर्तन हुन्छन् ।’

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाउने निश्चित भएको बताइएको छ । त्यस्तै गरी सामाजिक बिकास मन्त्री जीवन घिमिरेलाई पनि मन्त्रीबाट हटाउने तयारी गरिएको हो ।

पाँचथरका बसन्त कुमार नेम्बाङले संघिय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेसँगै मन्त्री आङ्बोलाई हटाउने निश्चित भएको बताइएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री भएर आङ्बोले सबै जिल्लालाई समान रुपमा बजेट छुट्याउन नसकेको आरोप छ । उनले पाँचथरका टोल टोलमा करोडौं रकम छुट्ट्याएको तर अन्य जिल्लामा वजेट समानुपातिक ढंगले वितरण नगरेको आरोप लाग्दै आएको थियो। 

‘नियम मिचेर आङ्बोले बजेट बाँडफाड गरेकाले पार्टी नै बद्नाम भएको ठहर गरिएको छ,’ ती नेताले भने ‘पाँचथरले केन्द्रिय सरकारमा पनि इन्ट्रि पाएकाले यही मौकामा आङ्बोलाई मन्त्रीबाट हटाउने तयारी छ ।’ मन्त्री बनेपछि आङ्बोको जीवनशैली भड्किलो बन्दै गएको आरोप छ ।

आङ्बोले तीन करोडका गाडी चढ्ने गरेका छन् । मुख्यमन्त्री राईले चढ्ने भन्दा महंगो गाडी आङ्बोले चढेको बिषयमा मुख्यमन्त्री राईलाई पटकपटक जानकारी गराइएको थियो। यस बिषयमा पनि आङबो आलोचित छन् । 

मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेकाले प्रदेश नं १ को मन्त्रिमण्डललाई पुर्णता नदिएको बताइएको छ । प्रदेश १ मा जम्मा सात ओटा मन्त्रालय छन् । जसमध्ये कृषि मन्त्रालय र भौतिक पुर्वाधार मन्त्रालय अहिलेसम्म रिक्त छन् । मन्त्रिमण्डल पुनर्गठन पुनर्गठन सँगै यी मन्त्रालयलाई पनि पुर्णता दिने तयारी गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ