arrow

आगामी पुसदेखि बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने

logo
प्रकाशित २०७२ चैत २८ आइतबार
Bahiri_chakrapath_545087030.jpg.jpeg
काठमाडौँ । चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ । अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी बनाइने गरी प्राविधिक नाप जाँच गरिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमामैयाँ मानन्धरले राससलाई जानकारी दिए । 
 
“आठ लेन, ५० मि चौडाइको सडकमा साइकल लेनको पनि व्यवस्था गरिएको छ, बाहिरी चक्रपथको दायाँबायाँ २५० मि जग्गा एकीकरण गरी ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गरिनेछ”–मानन्धरले भने । चक्रपथ काठमाडौँमा वागमती (चोभार), गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोङ्गबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी क्षेत्र भएर जानेछ । 
 
भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमीबाट दधिकोट हुँदै अगाडि बढ्नेछ । ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै वागमती चोभारसम्म जाने गरी नापजाँचको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । 
 
चक्रपथलाई जोड्न ३४ वटा पक्की पुल एवम् हालको चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा मार्ग हुने जानकारीसमेत आयोजना प्रमुख मानन्धरले दिए । चक्रपथ बनाउने क्रममा ६२ हजार रोपनी जग्गालाई व्यवस्थित बस्तीका रुपमा विकास गरिनेछ । निर्माणको लागि लागत रु छ अर्ब ३६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आव २०६५/०६६ मै चोभारबाट सतुङ्गुलसम्म छ किमी निर्माणको काम स्थलगत रुपमा गर्न लागिएकामा कीर्तिपुर नगरपालिकाले खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने माग गरेपछि खेतीयोग्य जमिन बचाएर फेरि नापजाँच भएको आयोजनाले जनाएको छ । रासस  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ