arrow

राइड थ्रु सिन्धुलीगढी सम्पन्न, २११ साइकलयात्री पुगे काठमाडौंबाट जनकपुर

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
Ride-through-sindhuli.jpg

सिन्धुली । समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको पशुपतिनाथबाट हिँडेका २ सय ११ जना साइकलयात्री तेस्रो दिन जनकपुर पुगेका थिए । साइकलयात्रीलाई काठमाडौंमा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्यि झण्डा र राइडथ्रु सिन्धुलीगढीको झण्डा विश्व साइकलयात्री पुस्कर शाहलाई दिएर विदाइ गरेका थिए । ती झण्डा जनकपुरमा विश्व साइकलयात्री पुस्कर शाहले पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीलाई हस्तान्तरण गरेका थिए । साइकलयात्रीलाई जनकपुरमा पूर्वउपप्रधानमन्त्री निधीले स्वागत गरेका थिए ।

जनकपुरमा आयोजित स्वागत कार्यक्रममा निधीले यस प्रकारको सद्भाव यात्राले मुलुकलाई सांस्कृतिक रुपमा जोड्ने बताए । तपाईंहरुले सरकारले गर्नुपर्ने काम गर्नु भएको छ, उनले भने, यसले पर्यटन प्रबर्धनमा उल्लेख्य रुपमा सघाउने छ ।

कार्यक्रममा साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई सांस्कृतिक सहर काठमाडौं र जनकपुरधाम, पहाड र तराई, ३ नम्बर प्रदेश र २ नम्बर प्रदेश जोड्न साइकल यात्रा आयोजना गरिएको बताए । अंग्रेजलाई पहिलो पटक परास्त गरेको स्थल ऐतिहासिक सिन्धुलीगढीहुँदै यो साइकलयात्रा सम्बन्ध मजबुत बनाउने सेतु पनि हो, उनले भने,  हरेक नेपालीलाई हाम्रो पुर्खाले बीरता देखाएको स्थल एक पटक पुग्न पर्ने सन्देश हामी साइकल यात्रा मार्फत दिन चाहन्छौं ।

जकपुरधाममा आयोजित स्वागत कार्यक्रममा मैथिल संस्कृति र कला समेटिएको झिँझिया नाइट्स् आयोजना गरिएको थियो । साइकल यात्राको सह आयोजक सानो पाइलाले संयोजन गरेको कार्यक्रममा मैथिल कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर साइकलयात्रीलाई मनोरंजन प्रदान गरेका थिए ।

यसअघि काठमाडौंको पशुपति मन्दिरदेखि ऐतिहासिक सिन्धुलीगढीहुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने साइकलयात्रालाई पर्यटनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री हरिवोल गजुरेल, सांसद गणेश पहाडीलगायतले पशुपतिनाथ मन्दिर परिसरबाट विदाइ गरको । त्यस अबसरमा मन्त्री भट्टराईले विश्व साइकलयात्री पुस्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै साइकलयात्राको नेतृत्व गर्ने देवेन्द्र बस्नेतलाई मन्त्री भट्टराईले राइड थु्र सिन्धुलीगढीको झण्डा हस्तान्तरण गरे । त्यस्तै पूर्वमन्त्री हरिवोल गजुरेलले महिला साइकलयात्रीको नेतृत्व गर्ने सजल प्रधानलाई राइड थ्रु सिन्धुलीगढी २०१९ को झण्डा हस्तान्तरण गरेका थिए । अर्का सांसद गणेश पहाडीले सबैभन्दा कम उमेरका १० बर्षिय साइकलयात्री सुयोगमानसिंह बस्न्यातलाई नेपालको झण्डा हस्तान्तरण गरे ।

साइकल यात्रीहरु पशुपति मन्दिर परिसरबाट सिनामंगल कोटेश्वरहुँदै भक्तपुर पुग्नेपछि भक्तपुर पर्यटन बोर्डले स्थानीय जुजु द्यौ (दही) ले स्वागत गरेको थियो । त्यसपछि साइकलयात्रीलाई बनेपामा सुलभ सहकारीले भब्य स्वागतसहित विहानको खाजा खुवाएको थियो । यस्तै हनुमान माविले काभ्रेभञ्ज्याङमा र नमोबुद्द नगरपालिकाले भकुन्डेबेसीमा स्वागत गरेका थिए । नेपाली सेनाले भकुण्डेबेसीमा साइकलयात्रीका लागि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । यात्राका क्रममा मंगलटारमा मानसरोबर श्रेष्ठले खाजासहित स्वागत गरेका थिए । त्यसपछि सिन्धुली जिल्ला प्रवेश गरेपका साइकलयात्रीलाई सुनकोसी गाउपालिकाले ऐतिहासिक कुशेश्वर महादेव मन्दिर परिसरमा भब्य स्वागत गरेको थियो । त्यहाँ सांसद लेखनाथ (राजन) दाहाल, सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहरालगायतले सबै साइकलयात्रीलाई सयपत्रीको मालाले स्वागत गरेका थिए । सुनकोशी गाऊपालिकाले साइकलयात्रीलाई बिहानको खाना त्यहीँ खुवाएको थियो । त्यसपछि साइकल यात्रीहरुलाई झाङाझोलीको पुरानो बजारमा स्थानीय बासिन्दाले माछा र अण्डाले स्वागत गरेका थिए । त्यहाँ स्थानीय उदाहरण क्लवले सइकलयात्रीको स्वागतमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । साइकलयात्रा यहाँ पुरानो बजारहुँदै मुलकोट निस्केको थियो ।

मुलकोटमा मुलकोट बिकास समाजको संयोजनमा साइकलयात्रीको स्वागतमा साँझ सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ राष्ट्यि कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा सहभागीहुने सबैलाई नेपाल टेलिकमले फोर जी सीम निशुल्क वितरण गरेको थियो । यात्राभर विश्व साइकलयात्री पुस्कर शाह सबैको आकर्षण बनेका छन् । उनीसँग सेल्फी खिच्न यात्राको बाटोमा भेटिएका स्थानीयहरु झुम्मिएका थिए ।

साइकलयात्रीलाई शनिबार बिहान मुलकोटबाट सांसद राजन दाहाल र सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले विदाइ गरेका थिए । त्यहाँबाट हिँडेका साइकल यात्रीलाई खुर्कोटमा सिन्धुलीय श्रेष्ठ समाजले खाजासहित फूलको माला र अविरले स्वागत गरेको थियो । पहिलो दिन सुनकोशीको किनारैकिनार तेर्सो बाटोमा गुडेका साइकलयात्री दोस्रो दिन सिन्धुलीगढीको उकालोमा परेका थिए । करिव १० किलोमिटर उकालोबाटो पार गर्न भने उनीहरुलाई झण्डै तीन घण्टा लागेको थियो ।

गोलंजोरको खनियाँखर्कमा साइकलयात्रीको सम्मानमा जुनार सुपर जोन कार्यक्रम र जुनार उत्पादक सहकारी संघले जनार महोत्वस राखेका थिए । जुनार महोत्सवमा प्रदेश पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीलाई जुनार बाँडेका थिए । यात्रीलाई जुनार उत्पादक सहकारीले जुसले स्वागत गरेको थियो । प्रदेश मन्त्री नेपालले ३ नम्बर प्रदेशको पर्यटन प्रबर्धन गर्न तयार गरिएको प्याराडाइज प्रदेश ३ नारा अंकित लोगो साइकलयात्रीलाई वितरण गरेका थिए । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली दोस्रो दिन ऐतिहासिक सिन्धुलीगढी पुग्दा प्रदेश पर्यटन मन्त्री अरुण नेपालले स्वागत गरेका थिए ।

साइकलयात्रीलाई सिन्धुलीमाढीमा कमलामाई नगरपालिकाका कार्यबाहक अध्यक्ष कर्ण घिसिङलगायतले स्वागत गरेका थिए । साइकलयात्रीको सम्मानमा स्थानीय नेपाली कलाघरले सिन्धुलीमाढीमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । साइकलयात्रीहरु कृष्ण विक्रम थापाले गाएको चर्चित गीत सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली मैं...गीतमा नाचेका थिए । विश्व साइकलयात्री पुस्कर शाहले समेत तीतेपाती झ्याप, झ्याप झ्याप...गीत गाएर साइकलयात्रीलाई नचाएका थिए ।

दोस्रो दिन सिन्धुलीमाढीमा बसेका साइकलयात्रीलाई भोलिपल्ट विहान नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ सिन्धुलीले विदाइ गरेको थियो । त्यसपछि यात्रीलाई माइस्थानमा कमलामाई कृषि तथा पशुपालन फार्मले स्वागत गरेको थियो । त्यसपछि चुरेमा श्रेष्ठ परिवारले स्वागत गरेका थिए । त्यहाँबाट टोली धनुषाको बाहुनमाराहुँदै महोत्तरीको बर्दिबास पुगेको थियो । त्यहाँ बार्दिबास नगरपालिका, नेपाल होटेल तथा पर्यटन व्यावसायी संघ महोत्तरी, नेपाल होटेल तथा पर्यटन व्यावसायि संघ प्रदेश नम्बर २ ले स्वागतसहित खाना खुवाएका थिए । धनुषाको ढल्केबरमा मिथिला नगरपालिकाका र सामुदायिक बन महासंघ प्रदेस नम्बर २ ले सबै साइकलयात्रीलाई मिथिलाको पहिचान गम्छा र फुलको मालाले स्वागत गरेका थिए । साइकलयात्रीको स्वागतमा सांसद् सत्रुधन महत्तो मिथिला नगरपालिकाका प्रमुख सहभागी थिए । त्यहाँ सांसद, मेयर र उपमेयर केहीबेर साइकलयात्रीसँगै साइकलमा यात्रा गरेका थिए । साइकलयात्रीलाई धारापानीमा समेत भब्य स्वागत गरिएको थियो । त्यहाँबाट साइकलयात्री धनुषाधाम मन्दिर दर्शन गरेर जनकपुरधाम पुगेका थिए ।

साइकल यात्रीलाई काठमाडौंदेखि जनकपुरधामसम्म पुग्दा बाटोमा पर्ने स्थानीय सरकार, संघसंस्था, सेना, प्रहरी, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरुले स्वतस्फुर्त भब्य स्वागत गरेका थिए ।

यस बर्षको साइकल यात्रामा महिलाको संख्या उल्लेख्य छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएकाले महिलाको संख्या धेरै भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थु्र सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्यि पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।

साइकलयात्रामा ९ बर्षका बालक शुभम्देखि ६६ बर्षका स्वनाम गुरुंग, बैशाखी टेकेर हिँड्ने शारीरिक रुपमा अशक्त पुरुषोत्तम साहुखलसम्म सहभागी थिए । यात्रामा ससस्त्र प्रहरीका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका बरिष्ठ उपरीक्षकलगायतका अधिकृतहरु, सेनाका बरिष्ठ अधिकृतहरु कलाकार, अभिनेतासमेत सहभागी छन् । यस बर्षको साइकलयात्रामा उत्साहजनक सहभागिताले आफूहरु निकै उत्साहित भएको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए । काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा पूरा गरेर आइतबार जनकपुरधाम पुगेका हुन् ।

तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना अनुसार ४ बर्षदेखि हरेक बर्ष राइड थ्रु सिन्धुलीगढी साइकलयात्रा आयोजना गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ