काठमाडौँ । काठमाडौँ, पोखरा र जनकपुरमा आइतबारदेखि शुरु भएको १३ औँ साग उद्घाटन समारोहलाई नेपालले नेपाल भ्रमण गर्न आह्वान गर्ने मञ्चका रुपमा राम्रैसँग उपयोग गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूर्ति गर्न दशरथ रङ्गशालामा आयोजित क्षेत्रीय खेलकूद प्रतियोगिता सागको उद्घाटन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कूटनीतिक अधिकारी र विदेशी खेलाडीका उपस्थितिमा नेपाल भ्रमणका लागि सबैलाई आह्वान गरे ।
उपप्रधानमन्त्री पोखरेलले नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य रसपान गरी आफ्ना मित्र र परिवारलाई नेपाल भ्रमण गराउन खेलाडीहरुलाई आग्रह गरे । उनले खेलकूदले सद्भाव र मित्रता बढाउने बताउँदै भने, “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको एकता र मित्रता पनि हो ।”
खेलकूदमन्त्री विश्वकर्माले नेपाल हवाई, हिउँ, जल आदिका कारणले खेलकूद केन्द्र बन्न सक्ने बताउँदै सागले पर्यटन विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राखेपका सदस्य सचिव सिलवालले नेपाल भ्रमण वर्षमा आएका खेलाडी र अन्य पदाधिकारीलाई नेपालको सौन्दर्य अवलोकन गरी फर्कन आह्वान गरे । उनले शान्ति, समृद्धि र मित्रता सागको आदर्श भएको पनि उल्लेख गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद श्रेष्ठले मिनी ओलम्पिक साग दक्षिण एशियाकै गर्व भएको बताए । सगरमाथा र गौतम बुद्धको देश नेपालमा भ्रमण गराउन खेलाडीका आफन्तहरुलाई उहाँले आग्रह गरे ।
यसरी सरकारले भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेशभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्माको भनाइ छ ।
काठमाडौं पोखरा र जनकपुरका २९ स्थानमा यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने तेह्रौँ सागमा नेपालका ५८४ सहित अफगानिस्तानबाहेक सार्कका सात राष्ट्रबाट करीब तीन हजार खेलाडीको सहभागिता छ ।