arrow

सुल्झिन नसकेको अमेरिका–चीन व्यापार युद्ध, फाइदा कसलाई ?

सस्तो श्रमशक्तिको फाइदामा भियतनाम

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७६ मंसिर १८ बुधबार
usa-china1.jpg

काठमाडौं । अमेरिका र चीनको बीचमा डेढ वर्षदेखि व्यापारयुद्ध चलिरहेको छ । यो क्रममा दुवै मुलुकले एकअर्कामाथि अर्बौं डलरको अतिरिक्त आयात कर लगाएका छन् । अझै पनि यो समस्या सुल्झिन सकेको छैन । यस्तोमा अमेरिका र चीनको अर्थतन्त्रमा पनि यो व्यापारयुद्धले नकारात्मक प्रभाव पार्दै आएको छ ।

अमेरिका–चीन व्यापारयुद्धले दुई मुलुकको मात्र होइन, समग्र विश्वको अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । त्यसैले यो समस्या समाधानको लागि दुवै मुलुकले प्रयास पनि गरिरहेका छन् । तर, सन् २०२० को अमेरिकाको राष्ट्रपतीय निर्वाचनअघि यो सम्झौता हुने सम्भावना निकै कम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं बताइसकेका छन् । यसले व्यापारयुद्धमा झन् ठूलो अन्योल थपेको छ । चीन र अमेरिकाको बीचमा व्यपारयुद्ध समाधानको लागि एक दर्जनभन्दा बढी वार्ता भइसकेका छन् । तर, कुनै पनि वार्ता फलदायी हुन सकेका छैनन् । रमाइलो पक्ष के छ भने वार्ता भइरहेकै अवस्थामा एउटा मुलुकले अर्को मुलुकमाथि र उसका प्रविधि कम्पनीमाथि प्रतिबन्धको घोषणा गर्दै आएका छन् ।

अहिले पनि दुवै मुलुकले व्यापार सम्झौताको निकै नजिक रहेको दाबी गरिरहेका छन् । अहिलेको वार्ता र सम्बन्धित अधिकारीले भने सम्झौताको सम्भावना निकै कमजोर रहेको संकेत गरेका छन् । चीन अमेरिकाले लगाएको सबै अतिरिक्त कर फिर्ता गरेको खण्डमा व्यापार सम्झौता गर्ने पक्षमा छ । तर, अमेरिका थप कर पनि लगाउने र सम्झौता लागू भएपछि मात्र थप कर नलगाउने पक्षमा देखिन्छ । यसले गर्दा उनीहरुको व्यापार सम्झौता प्रभावित भएको सहजै बुझ्न सकिन्छ । चीनले व्यापार सम्झौताको लागि कर फिर्ताको अड्डी लिएपछि भने ट्रम्पले बरु व्यापार सम्झौताको लागि एक वर्षको प्रतीक्षालाई उचित मानेका हुन् ।

दुई मुलुकको व्यापारयुद्धबारे अहिलेको अवस्थामा अब के होला ? भन्ने आशंका बढ्दो छ । यो आशंका जति लामो समयसम्म रह्यो, त्यति लामो समयसम्म समग्र विश्व अर्थतन्त्र प्रभावित बन्नसक्ने स्पष्ट छ । अमेरिका–चीन व्यापारयुद्धको कारण आर्थिक क्षेत्र दिनानुदिन कमजोर बन्दै गएको विभिन्न वित्तीय संस्थाहरुको प्रक्षेपणले देखाएको छ । तर, विश्वका केही मुलुक यस्ता छन् जसले भने व्यापारयुद्धको फाइदा उठाउन पनि सक्ने देखिन्छ ।

व्यापारयुद्धको फाइदा !

त्यसो त व्यापारयुद्धको फाइदा प्रत्यक्षरुपमा अमेरिकालाई भइरहेको दाबी अमेरिकी राष्ट्रपति ट्रम्पको छ । तर, आर्थिक सूचकहरुले भने अमेरिकी अर्थतन्त्र पनि कमजोर अवस्थामा रहेको देखाएको छ । केही विश्लेषकहरु चीनलाई आर्थिक सुधारमा रोक्न नसकिने दाबी गर्दै आएका छन् । आर्थिक सूचक हेर्ने हो भने चीनको पनि अवस्था राम्रो छैन । केही समयअघि सार्वजनिक भएको तथ्यांकले चीनको अर्थतन्त्र २७ वर्षकै सुस्त रहेको देखाएको थियो । यस्तोमा चीन र अमेरिका दुवैलाई यो व्यापारयुद्धको फाइदा नरहेको सहजै बुझ्न सकिन्छ । अब तीव्र गतिमा विस्तार भइरहेको चीनको अर्थतन्त्रको स्थान कुन मुलुकले लिन्छ होला ? भन्ने बहसको विषय बनेको छ ।

सबैभन्दा तीव्र गतिको आर्थिक सुधारमा चीनको स्थान लिने मुलुकमा भारत, इन्डोनेसिया, भियतनामलगायतका मुलुकहरु छन् । तर, त्यत्तिकै भन्नुमा त्यसलाई व्यवहारमा उतार्नुमा भने निकै फरक छ । अहिले तीव्र गतिको आर्थिक सुधार हासिल हुने अनुमान गरिएको मुलुकका पनि आफ्नै किसिमको समस्या छ ।

चीनलाई चुनौती दिने अवस्था छैन

केही समयअघि ब्लूमवर्ग इकोनोमिक्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अहिले कुनै पनि मुलुक चीनलाई चुनौती दिन सक्ने अवस्थामा नरहेको देखाएको छ । चीनले हासिल गरेको सफलता जुन कुनै मुलुकले हासिल गर्न नसक्ने उक्त प्रतिवेदनले देखाएको छ । तर, केही मुलुक चीनले अहिले सामना गरिरहेको नोक्सानीको फाइदा लिन तम्तयार भएर बसेका छन् । यी मुलुकहरु पनि आफ्नो संरचनात्मक समस्याजस्ता समस्याको दलदलमा फसेका छन् । त्यसका साथै यी मुलुक राजनीतिक स्थिरताको लागि पनि संघर्ष गरिरहेका छन् ।

चीनको अनुकूल विगत

चीनको लागि पनि यसअघिको समय निकै अनुकूल रहेको विश्लेषकहरु बताउँछन् । चीनको जस्तो सहज अवस्था भने अहिलेका मुलुकलाई नभएको उनीहरुको भनाइ छ । चीनको कारखाना, आपूर्तिकर्ता, लोजिस्टिक्स सेवा र यातायात पूर्वाधार पनि फरक फरक समयमा विकसित भएका थिए । जसमा अवैध धन तथा जापान, ताइवान र हङकङको प्रविधिको महत्वपूर्ण योगदान थियो । चीनको अर्थव्यवस्था यस्तो अवस्थामा सुधारिएको थियो । त्यतिबेला न वातावरणको चिन्ता थियो, न मजदूरको अधिकार न सरकारको कडाइको डर । त्यतिबेला चीनसँग अत्यधिक मात्रामा शिक्षित श्रमशक्ति थियो । साथै, तीन दशकमा उसले विश्व बजार आफ्नो पँहुच उल्लेख्य विस्तार गरेको थियो ।

भारतलाई अवसर

अमेरिका–चीन व्यापारयुद्धको फाइदा उठाउनसक्ने अर्को मुलुक भारत हो । व्यापक जनसंख्या पनि यसको एक महत्वपूर्ण कारण हो । तर, भारतको अवस्था चीनको भन्दा निकै कम छ । दोस्रो स्थानमा इन्डोनेसिया र तेस्रो स्थानमा भियतनाम छन् । यस्तोमा यी तीनै मुलुकका लागि चीनको स्थान लिनसक्ने महत्वपूर्ण अवसर छ । यसका लागि केही मुलुकहरुले अहिलेदेखि नै प्रयास शुरु गरिसकेका छन् ।

सस्तो श्रमशक्तिको फाइदामा भियतनाम

चीनको स्थान लिनसक्ने मुलुकमध्येको एक भियतनामलाई सस्तो श्रमशक्तिको फाइदा छ । तर, यो मुलुकको काम गर्ने संस्कृति निकै फरक किसिमको छ । जबकी चीनको श्रमशक्ति भियतनामको तुलनामा निकै दक्ष छ । चीनका मजदूरहरु काम समयमै काम गर्न पनि प्रतिबद्ध छन् । यो मामिलामा भियतनामका मजदूर पछाडि छन् ।

भारतको प्रयास

चीनलाई भएको नोक्सानीलाई आफ्नो फाइदामा परिणत गर्ने दिशामा भारत अघि अघि बढिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चुनौती दिने किसिमको अर्थतन्त्र विस्तारको प्रयास गरिरहेका छन् । उनले ‘मेक इन इन्डिया’बाट यसको शुरुवात गरेका छन् । यस्तोमा उनले भारतमा विदेशी कम्पनीको लगानी भित्र्याउने प्रयासमा छन् । त्यसका साथै विश्व बैंक डुइङ्ग बिजनेस वरीयतामा पनि भारतले उल्लेख्य सुधार गरेको थियो । तर, भारत पनि यो सूचीमा चीनभन्दा पछि छ । त्यसका साथै भारतले पाँच वर्षको अवधिमा अर्थतन्त्र ५० खर्ब डलर बनाउने प्रयासमा छ । यो प्रयास सफल हुन सकेको खण्डमा भारत चीनलाई चुनौती दिनसक्ने अवस्थामा पुग्नसक्छ । तर, व्यापारयुद्धको मारमा परेको मुलुकमध्ये भारत पनि एक हो ।

भारतको लागि अर्को समस्या पूर्वाधार विकास हो । यसले आगामी दिनमा आर्थिक क्षेत्रमा एक समस्या पार्नसक्छ । यस्तोमा उसको लागि पूर्वाधार क्षेत्रमा उल्लेख्य लगानी गर्नु निकै जरुरी देखिएको छ ।

अहिलेको अवस्थामा भने भियतनाम सबैभन्दा फाइदा उठाउने मुलुक हो । चीनको अमेरिकासँगको व्यापारयुद्धको कारण भियतनामको निर्यात उल्लेख्य मात्रामा वृद्धि भएको छ । तर, उसको दौड पनि लामो समयसम्म टिक्ने सम्भावना भने निकै कम छ । यसैबीच अमेरिकाले भियतनामको स्टील आयातमा ४ सय प्रतिशतको कर लगाइसकेको छ । यस्तोमा आगामी दिनमा अमेरिका तथा विश्वका अन्य मुलुकले गर्ने यस किसिमको कारबाहीका लागि भियतनाम तयार नरहेको विश्लेषकरुले बताउँदै आएका छन् ।

अमेरिका–चीन व्यापारयुद्धको अहिलेको अवस्थालाई हेर्ने हो भने कम्तीमा अबको एक वर्ष यो समस्या समाधान हुने सम्भावना निकै कम देखिन्छ । यस्तोमा कुनै मुलुकले उपयुक्त नीति लिएर अघि बढ्ने हो भने यो अवधिमा आर्थिक सुधारको लागि महत्वपूर्ण आर्थिक उपलब्धि सो अवधिमा हासिल हुन सक्छ । यसले मुलुकको समग्र अर्थतन्त्रमा नै सकारात्मक ऊर्जा पनि दिन सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ