arrow

  प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत साग समापनमा सम्बोधन गर्ने, खेलाडीलाई पुरस्कारको घोषणा  

यस्तो छ समापनको तयारी 

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
sag-logo.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।      
     
अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले पत्रकार सम्मेलन गरी जानकारी दिए ।     
     
 सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्नेछन् । “प्रधानमन्त्रीले खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ ।

खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उनले भने । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालको भनाइ छ । 

बिमार भएर रोकिएको थियो घोषणा
प्रधानमन्त्री ओली बिरामी भएकै कारण मंसिर १० गते घोषणा गर्ने भनिएको खेलाडीहरुको राहतको प्याकेज रोकिएको थियो । ओलीलाई मंसिर १० गते अस्पताल भर्ना गरेर अप्रेशन गरिएको थियो । 

उनी मंसिर १५ गते उद्घाटनका लागि दशरथ रंगशाला आउन चाहन्थे । तर सकेनन् । उनले अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण हेरेका थिए । त्यही बेलुकी ओलीको स्वास्थ्य अन्त्यतै बिग्रिएर ज्यानै समेत नरहेको हल्ला बजारभरि पिटाइएको थियो । 

तब राति ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीद्धारा अस्पतालको बेडबाटै उद्घाटन हेरेको जानकारी दिइएको थियो । त्यतिमात्र होइन अनावश्यक हल्ला फिँजिएपछि ओलीले सानो भिडियो नै सार्वजनिक गर्नुपरेको थियो । 

के छ समापनको तयारी ?
सदस्यसचिव सिलवालले साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको बताए ।     
     
 सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गरे । मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मङ्गलबार समापन हुँदैछ ।

उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये आठ हजार टिकट बिक्री भइसकेको उनले जानकारी दिए । दक्षिणतर्र्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको सिलवालको भनाइ थियो ।     
     
 समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ । उक्त खेलमा भूटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ । समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था गरिएको सदस्य सचिव सिलवालले उल्लेख गरे । उनले पूर्वराष्ट्रिय खेलाडी, अन्य खेलका अन्तरराष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायतका लागि रङ्गशालामा सम्मानजनक प्रवेश र बस्ने व्यवस्था गरिने बताए ।     
     
 मध्यान्ह १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । समापन समारोह झण्डै डेढ घण्टाको हुने सिलवालले बताए ।

समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ