arrow

चर्चित आर्थिक अपराधका ७२ सालको कुण्डली

विदेशी भुमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाउँदै राष्ट्रिय एकता तथा नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट

logo
सुदर्शन अर्याल
प्रकाशित २०७२ चैत ३० मंगलबार
Police_Crime.jpg.jpeg
काठमाडौं । नेपालमा लामो समयदेखि संगठित रूपमा आर्थिक अपराधमा संलग्न रहेकाहरूमध्ये यो वर्ष केही प्रहरीको फन्दामा परेका छन् । आर्थिक वर्ष सुरू हुनुभन्दा एक महिना अगाडि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख बनेर भित्रिएका सर्वेन्द्रको छोटो समयमा नै गरिएका कतिपय कदमहरू एउटा दूरगामी महत्व राख्ने खालका थिए भने सो कदमबाट लामो समयदेखि संगठीत रूपमा अपराधमा संलग्न रहेकाहरूकोलागि यो वर्ष त्यति सुखद् रहेन भने त्यस्ता व्यक्ति तथा समुहहरूबाट पीडित नेपाली जनताले भने केहीहदसम्म भनेपनि सन्तोषको सास फेर्ने मौका पाएका छन् । 
 
गत असार ४ गते महाशाखाको साँचो ताला लिएको दिनदेखि चैतको अन्तिमसम्म महाशाखाले धेरै आर्थिक अपराधमा संलग्न अपराधिहरूलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी महाशाखाले गरेका सफल छानविनका घटनाहरूलाई एकमुस्ट अध्ययन गर्दा दुईसय ५० वटा भन्दा बढी सफल अनुसन्धान तथा कारबाहीहरू भएको देखिन्छ ।
 
लामो समयदेखि सर्वसाधारणलाई ठगी गर्दै आएका विभिन्न पेट्रोलपम्प सञ्चालकदेखि उपभोग्य बस्तु कालोबजारीको आरोपित हुँदै म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडिहरूसम्म कारबाहीको दायरामा परेका छन् । खेलाडीहहरू पक्राउ गरिएको घटनामा पनि त्यसमा आर्थिक कारोबार नै सबैभन्दा महत्वपूर्ण रहेकोले यसलाई पनि आर्थिक गतिविधिमा राखिएको छ । 
 
मिलेमतो गरेर देशलाई हराउने आफू कमाउने खेलाडीहरु पक्राउ
यता फूटवलमा दिनदिनै गिर्दै जाँदा नेपाली खेलप्रेमीहरूमा फूटवलमा भन्दा क्रिकेट तर्फको आकर्षण बढ्न थालिसकेको थियो । कोही सरकारी सेवा सुविधाको कुरा गर्थे त कोही खेलाडिको उमेरको कुरा गर्थे । तर म्याच फिक्सिङ र खेलाडिहरूको आत्मघाती निर्णयको कल्पनासम्म पनि कसैले गरेका थिएनन् ।
 
कसैले पनि नसोचेको कुरा भयो असोज २७ गते । सो दिनको महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले अन्तराष्ट्रिय फुटवल प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गरी अवैध अन्तराष्ट्रिय एजेन्टहरुसँग सम्पर्क गरी राष्ट्रघाती निर्णय गरेको आरोपमा अन्जन के.सी. समेत भएको राज्य विरुद्धको कसुर अपराध मुद्दामा प्रतिवादी नेपाली राष्ट्रिय फुटवल टिमका पुर्व खेलाडीहरु विकास सिंह क्षेत्री, अन्जन के.सी. तथा नेपाली राष्ट्रिय फुटवल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरु सन्दिप राई र रितेश थापालाई पक्राउ गर्‍यो । 
 
प्रहरीले ‘विदेशी भुमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाउँदै राष्ट्रिय एकता तथा नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पु–याउने उद्देश्यले म्याच फिक्सिङ गरेको’ आरोपमा ती खेलाडीहरूलाई पक्राउ गरेको घटनाले पुरै देश तरंङित भयो भने आपराधिक गतिविधिमा संलग्नहरूको होस हवास नै उड्यो ।
 
प्रहरीले उनीहरूविरूद्ध अन्तराष्ट्रिय फुलवल खेल हार्ने योजना वनाई कुख्यात एजेन्टबाट वेस्टर्न युनियन मनि ट्रान्सफर तथा साईबर मनि ट्रान्सफर समेतमा रकम हाल्न लगाई निजहरुले भागवण्डा गर्ने र खेल खेली नियोजित रूपमा हार्ने गरेको राज्य विरुद्धको कसुर अपराधमा अनुसन्धानको सिलसिलामा उनीहरूलाई पक्राउ गरी राज्य विरुद्धको कसुर अपराध मुद्दामा आवश्यक अनुसन्धान कारवाहीको लागि असोज २८ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको थियो ।
 
हुण्डी कारोबारीमाथि कारबाही  
त्यसैगरी हुण्डी मार्फत् कारोबार गरी राज्यको राजश्वमा गिरावट आउनेगरी काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न कम्पनीहरूले नेपाल राष्ट्र वैंकबाट इजाजत लिंदा अनिवार्य रूपमा पालना गर्नुपर्ने सर्तहरूको उलङ्घन गरी कारोवार गर्ने गरेको आरोपमा हुण्डी कारोबारी पक्राउ परेको घटनाले पनि आर्थिक अपराध नियन्त्रणमा धेरै महत्वपूर्ण कदम चालेको छ ।
 
प्रचलित कानुन विपरित हुण्डीको कारोवार समेत गरी राजश्व छलि गर्ने गरेको भन्ने विशेष सूचनाको महाशाखाले फाल्गुन १७ गते काठमाडौंको महाबौद्धबाट पवन जमलियाले सन्चालन गरेको न्यु पायल ईम्पेक्स लागायतका कम्पनीहरूलाई पक्राउ गर्‍यो यो पनि प्रहरीको महत्वपूर्ण कदम हो । 
 
यसरी काठमाण्डौ उपत्यका भित्र गैरकानुनी तवरले ठूलो मात्रामा हुण्डीको कारोवार गरी ठुलो रकम विदेशिएको र राष्ट्रलाई नै नोक्सान गराउने विभिन्न स्थानका हुण्डी सञ्चालकहरूको कार्यालयमा छापा हानी न्युरोड खिचापोखरीस्थित मिलाप चन्द जैनका सञ्चालक शंकरलाल कोठारी, ठमेलस्थित नर्थ प्वाईन्ट मनी एक्चेन्जका सन्चालक राजाराम पाण्डे, ठहिटीस्थित ओम मनी एक्चेन्जका सन्चालक राकेश वैद्य, न्युरोड खिचापोखरीको निलगिरी रेमिट प्रा.लि.का किरण कुमार, सुन्धारास्थित देउराली मनी एक्चेन्जका सन्चालक नवराज गुरूङ्ग, देउराली ट्राभल्स एण्ड टुर्सका जेवहाल हक, काठमाडौंको न्यूरोड वस्ने केशरी चन्द कुचेरिया, पशुपती सुनचाँदी खार्नी पसलका नन्दु कुमार मर्गलाई प्रहरीले पक्राउ गरेको थियो ।
 
त्यस्तै, न्युरोडस्थित रविन्द्र सुवेदी र पृथ्वी बहादुर रावतले सन्चालन गरेको कंगारू एक्सप्रेस प्रा.लि.मा पनि छापा मारेर प्रहरीले अबैध हुण्डीबाट पठाउन लागेको रकम बरामद गरेको थियो । 
 
पेट्रोलपम्पको ठगियुगमा धक्का
महाशाखाले गरेको विशेष अप्रेसनले पेट्रोलपम्प सञ्चालकको ठगि युगमा ठूलो धक्का दिएको छ । मिटर विगारेर सुक्ष्म तरिकाले ठगि गर्दै आएका विभिन्न पेट्रोलपम्पको ठगियुगमाथि पनि महाशाखाले विशेष अपे्रसन मार्फत् कारबाहीको दायरामा ल्याएर पाता कसेको छ । यसरी विभिन्न स्थानमा विगत लामो समयदेखि अवैध तवरले पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा तेलको मात्रा र नाप कम गर्ने उपकरणहरु (रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन) जडान गरी गराई उपभोक्ता ठग्ने कार्यमा विभिन्न पेट्रोल पम्पका संचालक तथा सो कार्यमा संलग्न प्राविधिकहरु समेतलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो ।
 
यसरी पक्राउ परेका पेट्रोल पम्पका प्राविधिकहरुमा भारत मोतीहारी घर भई हाल कोटेश्वर बस्ने नसिम सिद्दिकी, भारत गोरखपुर, गोरखनाथ थानाघर भई हाल बालकुमारी बस्ने अयुव आलम, भारत विहार, मोतिहारी थानाघर भई हाल बालकुमारी बस्ने मिन्टु भन्ने हमिद हुसेन, भारत विहार, मोतिहारी थाना घर भई हाल बालकुमारी बस्ने  फेनहरा मोहम्मद अबरार, रौतहट, कनकपुर घर भई हाल बालकुमारी बस्ने शेख ईम्तिहाज रहेका छन् ।
 
त्यस्तै गरी पक्राउ पर्ने सञ्चालकहरूमा बनेपाका शैलेन्द्र नाथ बादे– गायत्रीदेवी आयल स्टोर्स, काभ्रे ढुङ्गखर्कका शिव तिमल्सिना– श्री महालक्ष्मी विश्वकर्मा ट्रेडर्स, चाँपागाउँ, ललितपुरको बालकुमारी बस्ने गोपाल महर्जन–यूनिक फ्युल सेन्टर, बालकुमारी, चितवन भरतपुर घर भई हाल बालाजुमा बस्ने युनुष प्रधान– त्रिशक्ति फ्युल सेन्टर, सानेपा, मकवानपुर, आग्राका हाल तिनथाना बस्ने कल्याण खड्का–क्रिष्टल फ्युल सप्लायर्स, भक्तपुर बस्ने पूण्यराम बखाडेया– भक्तपुर फ्युल सेन्टर, काठमाण्डौ, टोखा सिताराम घिमीरे– न्यू बंगलामुखी आयल स्टोर्स सर्लाही कालिन्चोर घर भई हाल शान्तिनगर बस्ने बागमती पेट्रोलियम डिलर्स एसोसिएसनको कार्यालय सचिव हेम बिक्रम बराल रहेका थिए ।
 
मेनपावरको लूट माथि धावा
काठामाडौं उपत्यका भित्र रहेका बिभिन्न मेन पावर कम्पनीहरुले बैदेशिक रोजगारमा जाने युवा युवतीहरुलाई एउटा कामको लागि श्रम स्विकृति लिई अन्य काममा लगाउने, ईजाजत बेगरका मुलुकहरुमा भारतको बाटो गरि कामदार पठाउने गरेको, भिजिट भिसामा रोजगारीको लागि बिदेश पठाई अलपत्र पार्दै आएको, नेपाल सरकारले निर्णय गरेको फ्रि भिषा, फ्रि टिकट र प्रतिव्यक्ति दस हजार मात्रै लिनु पर्नेमा गैरकानूनीरुपमा ठूलो रकम लिई ठगी गर्ने गरेको सूचना तथा पिडितहरुको उजुरीको आधारमा विभिन्न मेनपावर व्यवसायीहरूलाई महाशाखाले पक्राउ गरेको छ ।
 
ती मेनपावरहरुले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा अत्याधिक बढी रकम लिई बिभिन्न ब्यक्तिहरुलाई ठगी गरेको प्रहरीको आरोप छ । प्रहरीको आरोप अनुसार यसरी ठगि गर्ने मेन पावर कम्पनीहरूमा साना ईन्टरनेश्नल रिक्रुटीङ्ग सर्भिस प्रा.लि.का संचालक महम्मद मुस्ताक मियाँ, सिनामंगल स्थित अल सेक्योर मेन पावर रिक्रिटमेन्ट प्रा. लि.का संचालक दिल कुमार श्रेष्ठ, शिखर म्यान पावर सर्भिसेस प्रा.लि.का संचालक अनुराज प्रधान, लाईफ लाईन ओभरसिजका संचालक यम बहादुर बुढाथोकी, नेपाल रिक्रुटिङ्ग सर्भिसेस प्रा.लि.की संचालक शोभा कार्की, गोरखा नेपाल प्लेस्मेन्ट सर्भिसेस प्रा.लि.का संचालक दिनेश श्रेष्ठ, बसुन्धारामा रहेको मोबिरा एच.आर. सर्भिसेस प्रा.लि.का संचालक अनिल कुमार राई रहेका छन् ।
 
त्यस्तै, भेरी एण्ड कर्णाली ईन्टरनेश्नल प्रा.लि.का संचालक बर्ष ३७ की कल्पना रावत लगायत ११ मेनपावर व्यवसायीहरू पक्राउ परेका छन् ।  
 
कन्सल्टेन्सी नाममा ठग्नेहरु उपर डण्डा
त्यसै गरी महाशाखाले गरेको विशेष अप्रसनमा विभिन्न कन्सल्टेन्सीको नाममा ठगि भन्दा गर्दै आएका कन्सल्टेन्सी सञ्चालकहरूलाई कार्वाहीको दायरामा ल्याएर प्रहरीले प्रशंसनीय काम गरेको छ । काठमाडौंको नयाँवानेश्वर स्थित अहेड ईन्टरनेश्नल एजुकेशन प्रा.लि.का सञ्चालक निरज राई समेत सो कन्सल्टेन्सी मार्फत् शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धी निर्देशिका २०६८ को भावना र मर्म विपरित पढाई समय पछि जति पनि पार्ट टाईम जव पाईने, प्रति घण्टा १० डलर कमाई हुने, त्यहाँदेखि अमेरिका, क्यानाडा लगायतका युरोपियन राष्ट्रमा जानका लागि सजिलै भिषा लाग्ने जस्ता झुटो आश्वासन र प्रलोभन देखाई विद्यार्थीहरुबाट मोटो रकम लिई चिली लगायतका देशहरुमा विद्यार्थीहरु पठाई अलपत्र पार्ने गरेको आरोपमा पहिलो पटक पक्राउ गरेपछि कन्सल्टेन्सी सञ्चालकहरू पनि निरन्तर पक्राउ परिरहेका छन् ।
 
यसरी कन्सल्टेन्सी सञ्चालनका नाममा भएका गोरख धन्दा माथी प्रहरीको निगरानीले यस क्षेत्रलाई पनि सहि काम गर्न प्रेरणा मिलेको छ । 
 
अपराधी सक्रिय भए कि प्रहरी ?
पछिल्लो समय काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाले दैनिकजसो आपराधिक गतिविधिमा संलग्नहरूलाई पक्राउ गरेर मुद्धा चलाउने गरेको छ। जसले गर्दा प्रहरीको तथ्याङ्कमा अपराधका गतिविधि बढेको देखाएको छ । तर के साँच्चै अपराध बढेकै हुन् त ? महानगरीय अपराध महाशाखाका प्रमुख एपएसपी सर्वेन्द्र खनालले अपराधि पहिलेदेखि नै भएको भएपनि अहिले आएर तिनको उजागर मात्र धेरै भएको जनाए । उनले भने यसरी अपराधमा संलग्नहरु पक्राउ पर्दा अपराध नै घट्छ । यो अपराध बढेको हैन प्रहरीको सक्रियता मात्र बढेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ