arrow

भुटानजस्तो अन्डरडगलाई हराएर नेपालले जित्ला त सागको स्वर्ण ? 

logo
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
sag-football-nepal.jpg

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको अन्तिम स्वर्णपदकको खेल पुरुष फुटबलबाटै हुँदैछ । दिउँसो ३ बजे दशरथ रंगशालामा नेपाल र भुटानबीच फाइनल भएपछि समापन कार्यक्रम सुरु हुनेछ । फुटबल समूह खेल भएकाले पनि यसको स्वर्ण महत्व बढी छ । 

दर्शकको समेत भीड रंगशालामा बढिरहको छ । ईसेवाले टिकट सबै बिक्री गरिसकेको छ । उत्तरतर्फको प्यारापिटको १२ हजार सिटमध्ये केही सिट खेलाडीका लागि छाडेर बाँकी बिक्री भइसकेको छ । 

दक्षिणतर्फको प्यारापिटमा दुई हजारमध्ये एक हजार सिटका लागि टिकट बिक्री गरेको राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको भनाइ छ । 

फुटबलको फाइनल खेल ठूलो दर्शकको उपस्थितिमा भब्य हुनेमा दुई मत छैन । 

कस्तो होला फाइनल ? 
फाइनल यसपटक निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । नेपालले लगातार दोस्रो स्वर्णपदक जित्ने लक्ष्य लिएको छ । नेपालले गत १२ औं संस्करणको फाइनलमा भारतलाई उसकै भूमिमा हराएर स्वर्णपदक जितेको थियो । 

यसपटक नेपाल घरेलु मैदानमै खेलिरहँदा जित अझ नजिक छ । त्यसमाथि पनि दर्शकको समर्थक नेपाललाई नै हुने स्वभाविक छ । 

खेलको नतिजाअनुसार हेर्ने भने भुटान अन्डर डग हो । पहिलो पटक फाइनलमा पुगेको भुटानले लिग चरणमा बंगलादेश, श्रीलंका र माल्दिभ्सलाई हराएको थियो । तर नेपालसंग ४–० को गोल अन्तरले पराजित भएको थियो । 

मध्यान्तरअघि १ गोल खाएको भुटानले मध्यान्तरपछि ३ गोल खाएको थियो । यसरी घरेलु टिमसंग अताल्लिएको भए पनि भुटानले यसपटक देखाएको प्रदर्शन ‘अन्डर डग’ कै हो । 

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान यसरी पनि लगाउन सकिन्छ कि पछिल्लो समय भुटानको खेल उत्कृष्ट हुँदै आएको छ । 

उमेर समूहमै भुटान सशक्त देखिएको छ । भुटानले यू–१६ र यु–१९ नेपाली टिमलाई पराजित गरिसकेको छ । दक्षिण एसियाली फुटबलमा राम्रो प्रभाव जमाईरहेको भुटानलाई कम आँक्नु नेपालको ठूलो भुल हुन सक्छ ।

राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जन पनि भुटानी टिमलाई कम नआँक्ने बताउँछन् । तर नेपालले जित्नेमा उनी विश्वस्त छन् । 

संयोग भन्नुपर्छ सन् १९९३ को सागमा नेपाललाई स्वर्ण दिलाउँदा बालगोपाल महत्वपूर्ण खेलाडी थिए । अहिले तिनै बालगोपाल प्रशिक्षक छन् । २६ वर्षको अन्तरालमा बालले खेलेको फरक भूमिकामा नेपालले स्वर्ण जित्यो भने अर्को इतिहास उनको नाममा लेखिने छ । 

भुटानी प्रशिक्षकले फाइनलमा पुगेसंगै एउटा घतलाग्दो प्रसंग सुनाएका थिए । उनले भनेका थिए फाइनलमा भुटानले नेपाललाई हैन बंगलादेशलाई देख्न चाहन्छ । 

किन ? भन्ने प्रश्नमा उनले भनेका थिए कि यदि बंगलादेश फाइनलमा पुग्यो भने नेपालीहरुको समर्थन हामीलाई हुनेछ ।

निकै चतुर उनको कुराले समर्थकको अर्थ कति रहेछ भन्ने देखाउँछ । दर्शकले पार्न सक्ने खेलको प्रभावबारे उनी राम्ररी बुझ्छन् । यो तथ्यले पनि भुटानमाथि नेपाल हामी हुन सक्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ