arrow

प्रविधिको रस्साकस्सीमा अमेरिका र चीन 

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ मंसिर २६ बिहिबार
china-6G.jpg

काठमाडौं। पछिल्लो समय अमेरिका र चीन व्यापारयुद्धमा छन्। झण्डै दुई वर्षदेखि जारी रहेको व्यापारयुद्ध समाधानका लागि दुई मुलुक वार्ताको क्रममा छन्। तर, उनीहरुको बीचमा व्यापार सम्झौता भने आगामी वर्षसम्म नहुने आशंका बढेको छ। उनीहरुको व्यापारयुद्धको केन्द्रमा प्रविधिलाई हेरिएको छ। व्यापार युद्धभन्दा पनि बढी उनीहरु प्रविधिको युद्धमा छन्। 

अमेरिकाले चीनलाई आफ्नो प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ। तर, चीन भने आफैं अमेरिकालाई प्रविधिमा पछि पार्नसक्ने भन्दै अघि बढिरहेको छ। त्यसैले अहिले फाइभजीलाई उनीहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। 

अहिलेको अवस्था चीन र अमेरिका एकले अर्कोलाई स्वीकार नगर्ने अवस्थामा पुगेका छन्। फाइभजीको पूर्वाधार विस्तारमा पनि अमेरिकाले चनियाँ कम्पनी हुवावेईमाथि प्रतिबन्धको निर्णय गरेको छ। त्यस्तै उसले अन्य मुलुकलाई पनि चिनियाँ प्रविधिको प्रयोग नगर्न निर्देशन दिइसकेको छ। त्यसैले अमेरिका–चीनको तनाव झनै बढेको छ। अमेरिकाको निर्देशनको कारण हुवावेईसँग विश्वका सबै मुलुकले खुलेर सम्झौता गर्न सकेका छैनन्। अष्ट्रेलिया र न्युजिल्याण्डले हुवावेईमाथिको प्रतिबन्ध लगाइसकेका छन् भने यूरोपेली मुलुक पनि प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा छलफलको क्रममा छन्। 

त्यसो त चीन पनि अमेरिकाप्रति उदार भने पक्कै छैन। उसले पनि अमेरिकी प्रविधिलाई आफ्नो मुलुकमा रोक्नका लागि विभिन्न किसिमको मापदण्ड तयार गरेको छ। धेरैजसो प्रविधिमा अहिले चीनको प्रतिबन्ध कायमै छ। यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीले मुलुकका सबै कार्यालयलाई विदेशी सफ्टवेयर तथा हार्डवेयर हटाउन निर्देशन दिएको छ। फाइनान्सियल टाइम्सका अनुसार चीनले अबको ३ बर्षभित्र उक्त प्रविधि हटाउन निर्देशन दिएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको यो निर्देशनले माइक्रोसफ्ट, एचपी र डेलजस्ता अमेरिकी प्रविधि कम्पनी प्रभावित बन्नेछन्।

चीनले सन् २०२० मा ३० प्रतिशत, २०२१ मा ५० र २०२२ मा बाँकी २० प्रतिशत विदेशी प्रविधि विस्थापित गरिने योजना अघि सारेको हो। विश्लेषकहरूका अनुसार चीनलाई विदेशी प्रविधि विस्थापित गर्न २ देखि ३ करोडसम्मको उपकरण आवश्यक पर्छ। समाचारमा उल्लेख गरिए अनुसार यस वर्षको शुरुआतमै कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयले यस्तो निर्देशन दिएको थियो। तर, अहिलेसम्म यो निर्देशन सार्वजनिक भने भएको थिएन। 

यसबारे अमेरिकी प्रविधि कम्पनीले र आधिकारिकरुपमा पनि कुनै जानकारी दिइएको छैन। तर, यसले आगामी दिनमा चीनमा अमेरिकी प्रविधिले प्रवेश पाउन निकै कठिन हुने पक्का छ। चीनको यो निर्णय अमेरिकासँगको व्यापार युद्धबाट बच्ने एक महत्वपूर्ण उपायको रूपमा अघि सारिएको हो। अमेरिकासँगको तनावको कारण सरकारी काममा कुनै किसिमको अवरोध सृजना नहोस् भन्ने चीनको चाहना छ। साथै राष्ट्रिय सुरक्षाको लागि पनि यो निर्णय फलदायी साबित हुने चीनको भनाइ छ। 

चिनियाँ प्रविधि कम्पनी हुवावेईले अहिले अमेरिकाको प्रतिबन्धको सामना गरिरहेको छ। साथै गत अक्टोबरमा अमेरिकाले चिनियाँ सीसीटीभी कम्पनीहरूलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यस्तोमा चीनले ल्याएको निर्णय धेरै हदसम्म अमेरिकालाई लक्षित रहेको देखिन्छ। 

चिनियाँ सरकारी कार्यालयमा धेरैजसो लेनोभोजस्ता चिनियाँ कम्प्युटर प्रयोग हुन्छन्। तर उनीहरूले माइक्रोसफ्ट विन्डोज सफ्टवेयर प्रयोग गर्ने गरेका छन्। साथै उनीहरूको हार्डवेयर डेल वा एचपीजस्ता कम्पनीको हुने गरेका छन्। चीनको यो कदमलाई अमेरिकाले कुन रूपमा हेर्छ भन्ने कुरा महत्वपूर्ण छ। विदेशी प्रविधि कम्पनीसँग चीनले लामो समयदेखि पक्षपात गर्दै आइरहेको र अमेरिकालाई पनि यो कुरा थाहा छ। यो घटनाले आगामी दिनमा दुई मुलुकको व्यापारिक तथा प्रविधिको तनाव झनै बढ्नसक्ने स्पष्ट छ।

यसै क्रममा दुवै मुलुक आफ्नो प्रविधिको विस्तारमा पनि जुटिसकेका छन्। अहिले उनीहरुको बीचमा फाइभजीको विस्तारमा रस्साकस्सी देखिएको छ। जसमा चीन अमेरिकाभन्दा अगाडि छ। अब प्रविधिमा पनि अमेरिकालाई अगाडि लाग्न नदिने दाउ चीनको छ। यस्तोमा चीनले छैटौं पुस्ताको दूरसंचार प्रविधि ६जीको औपचारिक अनुसन्धान शुरु गरिसकेको छ।

नयाँ अनुसन्धानले आगामी दिनमा पछिल्लो वायरलेस आविश्कारलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको चिनियाँ सरकारी मिडियाले बताएका छन्। चीनको मन्त्रालय तथा अनुसन्धान संस्थाहरुले राष्ट्रियस्तरमा सिक्सजी टेक्नोलोजी रिसर्च एण्ड डेभलपमेन्ट ग्रुप बनाउन छलफल गरेका थिए। उक्त छलफलमा एकेडेमिया, अनुसन्धान संस्थाहरु, व्यवसायहरुलगायत ३७ जना वैज्ञानिकहरु तथा प्रविधि विज्ञहरु सहभागी छन्। उनीहरुले ६जीको अनुसन्धान र विकासका साथसाथै सरकारी नीतिहरुलगायतमा पनि सुझाव र सल्लाह दिनेछन्।

अल्ट्रा फास्ट मोबाइल सर्भिसहरुमा सम्बद्ध नयाँ टेक्नोलोजीहरु पछिल्ला दिनहरुमा अमेरिका र चीनबिचको महत्वपूर्ण विवादको विषय हुँदै आएको छ। विश्वभर विभिन्न मुलुकहरु भर्खर मात्रै फाइभजी नेक्स्ट जेनेरेशन वायरलेस नेटवर्क संचालन गर्न तछाडमछाड गरिरहेका छन्। जुन टेक्नोलोजीले अहिलेको ४जी भन्दा १० गुणा तीव्र गतिमा डाटा ट्रान्सफर गर्न सक्छ। त्यसैगरि यसले सेल्फ ड्राइभिंग कारहरु र एग्युमेन्ट रियालिटी जस्ता नयाँ प्रविधिलाई पनि सहयोग गर्नेछ।

गएको अप्रिल महिनामा दक्षिण कोरियाले अमेरिका र चीनलाई पछि पार्दै विश्वको पहिलो ५जी नेटवर्क व्यवसायीकरुपमा संचालन गरेको घोषणा गरेको थियो। तर अमेरिकी टेलिकम कम्पनीहरुले सो दाबीलाई खारेज गरेका थिए। चीनले देशका प्रमुख ३ टेलिकम कम्पनीले ५जी मोबाइल फोन सेवा देशैभर शुरु गरेको भोलिपल्ट नै ६जी टेक्नोलोजी अनुसन्धान शुरु गरेको हो।

यसअघि चीनले आगामी वर्ष मात्र फाइभजी लन्च गर्ने बताउँदै आएको भएपनि अमेरिकासँगको बढ्दो विवादका कारण चीनले त्यसलाई तीव्रगतिमा बढाएको थियो। ६जीमा अनुसन्धान गर्ने चीन मात्र छैन, यसअघि फिनिस सरकारले गत वर्ष नै ‘सिक्स जेनेसिस’ प्रोग्राम शुरु गरेको थियो।

केहि विज्ञहरुका अनुसार ६जी ठोस रुपमा देखिनको लागि पनि अझै करिब १० वर्ष लाग्छ। चीनले पनि सन् २०३० सम्ममा ६जी नेटवर्क ल्याउने बताइसकेको छ। यो प्रविधि फाइभजीभन्दा १०० गुणा बढी तीव्र हुने देशको अग्रणी टेलिकम्युनिकेसन विज्ञले खुलासा गरेका छन्।

६जीको विकास प्रक्रियालाई तीव्र गति दिनका लागि थप विकसित विधि फेला परेमा सन् २०३० अघि नै त्यसलाई सार्वजनिक गरिने सम्भावना रहेको चिनियाँ अधिकारीहरुले बताइसकेका छन्। यसले पनि चीन प्रविधिमा अमेरिकाभन्दा अगाडि रहने दाउमा रहेको स्पष्ट देखिन्छ। यसअघि चीनले आफ्नो प्रविधि चोरेको आरोप लगाउँदै आएको अमेरिकाका लागि यो गतिलो जवाफ हुने चीनको विश्वास छ। 

त्यसका साथै अन्य प्रविधिको क्षेत्रमा पनि चीन र अमेरिकाको बीचमा निकै ठूलो प्रतिस्पर्धा देखिन्छ। अमेरिकी कम्पनीहरुले अहिले धेरैजसो अनलाइन, इन्टरनेटमा आफ्नो प्रभाव जमाउँदै आएकोमा अहिले अलिबाबा, इबेलगायतका चिनियाँ प्रविधि कम्पनीको व्यापार उल्लेख्यरुपमा विस्तार भइरहेको छ। यसले पनि पछिल्लो समय चीनले आफ्नो व्यापारमा गरेको सुधारलाई स्पष्टसँग देख्न सकिन्छ। अमेरिका र चीनको बीचमा चलिरहेको यस किसिमको प्रतिस्पर्धाको केही फाइदा भने अवश्य पनि समग्र विश्वलाई हुनेमा दुईमत नहोला। चीन र अमेरिकाको यो प्रतिस्पर्धाले प्रविधिको विकास छिटो हुनेछ र यसबाट समग्र विश्वले फाइदा उठाउन सक्छन्। उनीहरुले विकास गरेको प्रविधि अन्य मुलुकले प्रयोग गर्नेछन्।

यसले समग्र विश्वलाई प्रविधिको हिसाबमा नयाँ युगमा लैजानेछ। अमेरिका र चीनको लागि यस किसिमको प्रतिस्पर्धाले कति नाफा वा नोक्सानी के हुन्छ त्यो उनीहरुकै हिसाबले बताउला तर समग्र विश्वको लागि स्वस्थरुपमा प्रविधिको प्रतिस्पर्धा हुनु राम्रै विषय हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ