काठमाडौं । मिस वर्ल्डको छिनोफानो शनिबार हुँदैछ । शनिबार (१४ डिसेम्बर) इंगल्याण्डको लण्डनस्थित एक्सेल हलमा हुने उक्त प्रतियोगितामा ताज कसले जित्ला भन्ने चासो बढ्दै गएको छ ।
नेपालबाट अनुष्का श्रेष्ठले दरिलो उपस्थिति जनाएकी छिन् । उनले वाहीवाही पनि पाएकी छिन् ।
त्योभन्दा अगाडि मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ को ‘मल्टिमिडिया अवार्ड’ जितेकी छिन् ।
मल्टिमिडिया अवार्ड जितेसँगै अनुष्का शीर्ष ३० भित्र अट्न सफल भएकी छिन् । अनुष्काले यसअघि ‘हेड टु हेड’ च्यालेन्ज समेत जितेकी थिइन् । ११२ देशका प्रतिस्पर्धीबीच छानिँदै उनी ४० बाट ३० मा आइसकेकी छिन् ।
अब भोटिङमा सबैभन्दा बढी मत पाएमा अनुष्का सीधै शीर्ष २० मा समेत प्रवेश गर्नेछिन् । तर त्यसका लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।
उनी ‘ब्युटी विथ अ पर्पोस’ को शीर्ष १० मा पनि परेकी छिन् ।
माहोल फरक
गत वर्ष नेपालबाट श्रृंखला खतिवडाले पनि मल्टिमिडिया अवार्ड जितेकी थिइन् । उनका लागि उनका बाबु एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद विरोध खतिवडाले क्याम्पेन नै चलाएका थिए ।
उनी आफै मिस वर्ल्ड आयोजना भएको स्थल चीन पुगेका थिए । भोटिङका लागि आब्हान गरेका थिए । अनुष्काले भलै त्यो माहोल पाइनन् तर उनलाई भोटिङ गर्ने नेपाली मनहरुको भने कमी नभएको स्पष्टै छ ।
श्रृंखलाले हासिल गरेको सफलता नेपाली सहभागीहरुमध्येकै सर्वाधिक सफलता थियो । अहिले त्यही लय अनुष्काले समातिन् । अझै माथि पुग्न सकून् ।