arrow
ADVERTISEMENT

नेतन्याहुलाई आफ्नै दलको नेतृत्वमा समेत चुनौती

logo
एएफपी,
प्रकाशित २०७६ पुष २ बुधबार
israel-PM-benjamin-netanyahu.jpg

अर यहुदा, इजरायल। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नै दक्षिणपन्थी दल लिकुड पार्टीको नेतृत्वका लागिसमेत चुनौतीको सामना गर्नुपर्ने भएको छ। लिकुड पार्टीका तर्फबाट सरकारमा सहभागी भैसकेका पूर्वमन्त्री गिडियन सारले नेतृत्वका लागि आफू अघि बढ्ने मङ्गलबार स्पष्ट सङ्केत गरेपछि लिकुड पार्टीमा नै आगामी नेतृत्वका लागि नेतन्याहुको विकल्प खोजिएको बुझ्न सकिन्छ।

एक बर्षको अन्तरालमा तीन निर्वाचन गर्दा ठूलो धनराशी खर्च गरेर पनि देशलाई स्थायी नेतृत्वका लागि वातावरण नभएको र नेतन्याहुमाथि भ्रष्टाचार अभियोग दर्ता भएको अवस्थामा गिडियनले पार्टीको नेतृत्वमा दावी गरेका हुन्। अब नेतन्याहुले पार्टीको तर्फबाट प्रधानमन्त्री बन्नको लागि पनि यही डिसेम्बर २५ मा हुने प्राइमरी मतदानबाट उनी निर्वाचित हुनुपर्छ।

“जनताले परिवर्तन चाहेका छन्,” सारले अर यहुदामा स्थानीय समय अनुसार सोमबार साँझ आफ्नो उम्मेदवारी दावीसहित गरेको एक कार्यक्रममा भने। उमेरले परिपक्व देखिने ५३ बर्षीय लिकुड पार्टीका नेता सारले नेतन्याहुको नेतृत्वको सरकारमा एक दशकभित्र विभिन्न मन्त्रालयको अनुभव हाँसिल गरेका छन्।

नेतन्याहुले लामो समयदेखि सारबाट आफूलाई चुनौती आउनसक्ने सम्भावनालाई यस पहिलेदेखि नै महशुष गर्दै आएको स्थानीय सञ्चारमाध्यममा आएका समाचारहरूमा उल्लेख गरिएको छ। पार्टीमा नेतन्याहुले गरेका राजनीतिक नियुक्तिलाई लिएर सारले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

तर गत महिना नेतन्याहुलाई पदीय मर्यादाविपरित कर छली गरेको, घुस लिएको र विश्वासघात गरेको आरोपसहित तीन भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो। तर आरोपको उनले खण्डन गर्दै आएका छन्। इजरायलको कानून अनुसार कुनै व्यक्तिलाई भ्रष्टाचार आरोप लागेकै भरमा पदबाट हट्नुपर्ने बाध्यता छैन। तर अरोप पुष्टि भएमा भने पदबाट स्वत हट्नुपर्ने हुन्छ। 

सारले प्राइमरी मतदानका लागि आफ्नो उम्मेदवारी छिट्टै गर्ने बताएका छन्। इजरायलमा गत अप्रिल र सेप्टेम्बरमा भएका निर्वाचनबाट कुनै पनि दललाई सरकारको नेतृत्वका लागि स्पस्ट बहुमत नआउँदा राष्ट्रपतिले पार्टीहरूलाई गठबन्धन सरकारका लागि गरेको मिति पनि केही दिन पहिले सकिएपछि मुलुकमा आगामी मार्च २ मा निर्वाचन हुने भएको छ।

सारले भने,“नेतन्याहु दुईपटकसम्म असफल हुनुभयो तर यो लिकुड पार्टीको नीतिका कारण नभै आफ्नै कमजोरीका कारण भएको हो। अब इजरायली लिकुड पार्टीले ‘पुनःजागरण गर्नुपर्छ।” “यदि हामीले परिवर्तन गरेनौँ भने इजरायलमा वामपन्थी राजनीति हावी हुनेछ।” सारको घोषणामा ठूलो सङ्ख्यामा पार्टीका कार्यकर्ताबाट समर्थन आएको उनको समूहले बताएको छ। इजरायलमा पछिल्लो समय वामपन्थी पार्टीहरूको जनमतमा सुधारका सङ्केत देखिन थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ