arrow

वैकल्पिक राजनीतिले समात्न नसकेको जरो 

चप्पल पड़काएर राजनीति गर्नेहरूको अमेरिका, सिंगापुर गएर उपचार गर्ने हैसियत कसरी बन्यो ? 

logo
जगन कार्की,  
प्रकाशित २०७६ पुष ३ बिहिबार
jagan-karki.jpg

देशमा भ्रस्टाचारले यति जरो गाडेर बसेको छ कि त्यो यहाँ चर्चा गरेर सम्भव देखिन्न । नेपालको नयाँ संविधानमा समाजवाद उन्मुख लोकतान्त्रिक व्यवस्था भनियो तर यसका प्रक्रियालाई यसरी भ्रस्टीकरण गरिएको छ कि भनी साध्य छैन । एउटा इमान्दार कार्यकर्तालाई चुनावमा टिकट पाउन गारो छ । टिकट नै बिक्री हुने गरेका छन् । चुनाव यति महँगो बनाइयो कि पैसाको खोलो नबगाई जित्ने अवस्था छैन । टिकट पाएर जसरि पनि जित्न  भ्रस्टाचार सुरु हुन्छ । 

चुनाव जिते पछि ऋण तिर्न भ्रस्टाचार, जागीर खान भ्रस्टाचार, राजदूत पद नै किनबेच, शैक्षिक संस्था, अदालतदेखि सम्बैधानिक निकायहरुसम्म भागबन्डा छ । जताततै  सिण्डिकेट अनि भ्रष्टाचार छ । अब भन्नुस् तपाई के का लागि ? के हेरेर राजनीति गरि हिंडनु भा छ ? कस्तो विकल्प दिन खोजि राख्नु भाको छ ?

के वैकल्पिक राजनीति भनेको अरुलाई गाली गर्ने, पत्रपत्रिका टिभीमा ३ बित्ता उफ्रिने विरोध मात्र गरिराख्ने हो कि रचनात्मक राजनीति गर्नु हो ? राजनीति नै गर्ने भएपछि शक्ति आर्जन गर्ने, सत्तामा पुग्ने, राजनीति शास्त्रका सामान्य नियमसम्म त अनुशरण गर्नुस् । रोइ कराई गरेर, नैतिकताका फगत राग अलापेर मात्र लोभी पापीहरुसंग कहाँ प्रतिस्प्रधा गर्न सक्ने ? राजनीति नै गर्ने भए सर्वप्रथम राजनीतिक प्राणी बन्नुस् साथीहरु !

नेतृत्व भनेको जोखिम मोल्नु हो । भरोसा हो । आशा हो । साझा सपना देख्नु र देखाउनु हो । विश्वास हो । समर्पण हो । त्याग हो फेसबुके दन्त बझान । पत्रिकामा लेखिनेउपदेश र गाली मात्र हैन ।

हाम्रो देशका राजनीतिक दलका इमान्दारहरु पाखा लाग्ने । लगाइने र आफै आफै मिल्न नसकेर टुटफुटको अवस्थामा रहेका छन् । भ्रस्टहरु, माफियाहरु संगठित रुपमा छन् किनकि खाने कुरामा, शक्ति हत्याउने कुरामा एकता हुने सहज परम्परा छ । यसर्थ राज्य सत्ता, पार्टी सत्ता, हरेक संघ संस्थाहरुमा  कब्जा गर्न तिनीहरु सफल भएका छन् तपाई हामी सोझा सीधा गणेशमानका भेड़ा हौं ।

 सर्व प्रथम सताधारी नेकपाको कुरा गरौँ । इमान्दार कार्यकर्ता पाखा लगाइएका छन् भ्रस्टहरु कुर्सी ओगटेर बसेका छन् । लाभको पदहरु बिक्री हुने गरेका स्पस्ट खबर आउने गरेका छन् । जागीर लगाइदिने बिचौलियाहरु, ठेकेदारहरु, स्थानीय निकायका प्रतिनिधि आफै लागि परेका छन् ।राजधानीको बालुवाटार हुदै झापा दमकको  ख़बर होस् या निर्मला काण्डदेखि आफैले अक्षम भनी फ्याँकेका मन्त्रीहरूका काण्ड हुन् ।

कांग्रेस त अब झन् ठेकेदारहरुको पार्टी जस्तो भयो । यिनले स्वार्थको लागि माओवादीलाई मत हाल्ने र सांसदको टिकट बेच्ने । आफ्नै नेतालाई अन्तर्घात गर्ने । भ्रस्टाचारको बीज रोप्नेदेखि विकृतिका सुरुवातकर्ता नै हुन् । पुराना पार्टीहरुको विकृतिको फेहरिस्त अब यहाँ विश्लेषण गरेर समय बर्बाद गर्नु बेकार छ ।

गएको ५ वर्षको राजनीतिलाई मात्र नियाल्ने हो भने राजनीतिक विकल्पको लागि दुई किसिमको सम्भावना देखियो । पहिलो,  पुराना भएका पार्टीहरूमा आमूल परिवर्तन आएर पुराना दलहरुबाट नै विकल्पको राजनीतिको अभियानको सुरुवात । दोस्रो नयाँ दलहरुले नयाँ मुद्दा र फरक ढंगले काम गरेर । पहिलो विकल्प असम्भव जस्तो देखिए पनि विगत पांच वर्षको राजनीतिलाई हेर्दा जनताले वैकल्पिक नयाँ दलहरुलाई सजिलै स्वीकार नगरेको अवस्था  छ ।  

यसैबीच साझा तथा विवेकशील मिलेर बनेको पार्टी नै चरम व्यक्तिगत लालसाको सिकार भई फुट्नु, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी मुद्दाविहीन जस्तै बनी फेरि पुरानै पार्टीहरुको लयतिर लम्किनु पटक्कै गतिलो संकेत हैन । चरम पदलोलुपता नयाँ भनिएका दलहरुमा पनि देखिएको र भनाइ र गराई मार्फत जनताको मन जित्न नसकेको कम्जोर पक्ष त छंदैछ वैकल्पिक दलहरुले लोकतान्त्रिक दलका असल र विकल्प दिन सक्षम उम्मेदवारहरुलाई पनि च्यालेन्ज गरेर हराउन खोजेको आरोप लागेको छ । त्यस माथि सुकिलो मुकिलो विना योगदानको राजनीति गरेको आरोप त छँदैछ ।

गत साता बीबीसी नेपाली सेवामा नेपाली कांग्रेस हूँदै नयां शक्ति पार्टीसम्म पुगेर अनुभव हासिल गरेका रामेश्वर खनालले अफ़ना तीता अनुभव सुनाउदै अंझै २ दशक पुराना पार्टीको दबदबा रहने नयां भनाउंदाले नयां राजनीतिक खाका प्रस्तुत गर्न नसके हराउने तर्क राखे ।

साझा तथा बिवेकशीलका साथीहरूले चलाउनु भएको राजनीतिक चेतनाको अभियानले प्रचारप्रसारमा राम्रो गति लिएको देखिएतापनि जनजीविकाका मुद्दामा अरु दल र समूहसंग होहो मिलाउने मात्र देखिएर फितला जस्ता देखिएका छन् । जस्तै कि मेडिकल माफिया तह लगाउने काण्ड, निर्मला काण्ड, भ्रस्टाचार विरुद्धका आन्दोलन लगायतका मुद्दाहरु ।

यसर्थ साझा जस्ता वैकल्पिक राजनीति गर्न तम्सिएको दलले आफ्नो एउटा छुट्टै मुद्दा बोकेर मैदानमा जानु पर्छ जस्तो मलाई लागेको छ । अरु केहि माग र मुद्दा भन्दा सबैभन्दा प्रभावकारी  र देशकोलागि आवस्यक देखिएको भ्रस्टाचार विरोधी  आन्दोलन नै हो ।

यसका लागि नेपाल जस्तो देश र यहांका  जनताको राजनीतिक चेतनाको अवस्था अनुसार अलिकति चर्को नारा नै नउठाई जनसमर्थन प्राप्त गर्न नसकिने पनि विगतका धेरै आन्दोलनहरुले देखाएका छन् । यहाँहरु जस्ता असल र इमान्दार व्यक्तिहरुको यो अभियानमा सहयोग गर्न हजारौं युवाहरू तयार देखीएका छन तर ब्यक्तिगत प्रशंसा र आत्मरतीमा, सानो कोटरीमा रम्ने साना छाती भएका क़ेही सीमित व्यक्तिहरूलाई पार्टी संचालन , राजनीति र शक्ति आर्जन गर्ने तारिका या त थाह छैन या ठूलो समूह भएमा थाहा पाएर पनि आफ़्नो खाईपाई गुम्ने डरले अंगीकार गर्न डराएका छन ।

आफ्ना मौलिक योजना र मुद्दा  हुँदा गोलमटोल तर्क गरेर हराइने अवस्था रहन्न । जस्तै की १० बर्षे जनयुद्धले संबिधानसभा माग गरेको थियो । २०४६मा दलहरूको समय सांदर्भिक प्रजातन्त्रको माग थियो । स्पष्ट भिजन र मागकै कारण डा केसी आफ्ना मुद्दामा सफल भए । अहिले चलेको अकुपाई टुड़िखेल ढीलो चाँडो सफल हुने छ । बेलायतमा बोरिस जोन्सन र अमेरिकामा  डोनाल्ड ट्रंपको उदय र  सफलतामा आप्रवासीदेखि अवाक भएका जनताको चुरो भावना समेटेर एक सूत्रिय एजेन्डा उठाउनु नै मानिन्छ । हो, गोलमटोल मुद्दा  बोक्नेहरु कहिँ पनि सफल भएको उदाहरण नै छैन ।  

कुरोको चुरो यही अड़ेको छ

तपाईहरुका पानीको फोका जस्ता आम तथा सामान्य मागहरु  कांग्रेस र नेकपाले पनि फलाकेर हीडेकाछन ।  जस्तै सुशासन र भ्रस्टाचारको सामान्य कर्मकांडी विरोध होस् या लोक कल्याणकारी राज्यका पासाहरु यी सबै  पुराना दलहरूले फालि आएका चारा हुन् ।

तपाईहरूले देशमा विद्यमान राजनीतिको विकल्प मात्र दिन १ थान पार्टी दीने केही थान नेता थपिदीने मात्र कोसीस गर्नु भएको हो कि रु वैकल्पिक राजनीति गर्न खोज्नु भएको पहिला प्रस्ट हुनुस् । राजनीतिको विकल्प या विकल्पको राजनीति रु स्पष्ट हुन ज़रूरी छ ।

युरोपमा उदय भएका वैकल्पिक शक्तिहरु पुरातन शक्तिहरुले गरेका ज्यादती, सूचना, पहुंच र लोकतान्त्रिक प्रक्रियाको दुरुपयोग नै मुख्य कारण रहेको र यसका बिरुद्ध भरपर्दो माध्यम प्रदान गर्न सक्ने शक्तिहरु क्रमस उदय हुँदै गएको फ्रान्सिस्को बोन्गियो भानीको सन् २०१८ को एक  अध्ययनले देखाएको छ ।

पृथ्वीमा वातावारणीय समस्या, मानव अस्थित्वलाई नै लिएर पुँजीवाद र चल्तीको पार्टी राजनीतिको  लोकतान्त्रिक ब्यबस्थामा व्यापक भ्रस्टीकरण, दलीयकरण र दलहरु बीच चरम बिभाजनले गर्दा मानव र पर्यावरणका मुद्दा  ओझेलमा परेको भन्दै विश्वभर बढीरहेको एक्सतिङ्क्शन रिबेलियनलेगैर दलीय नागरिक साम्सदका नयां अवधारणाहरु पनि विकास गर्दै आएको अवस्था छ ।

अहिलेको विश्वमा तथा नेपालको समय सांदर्भिक माग जवाफदेहीता , पारदर्शी, समावेसी लोकतन्त्र र भ्रष्टाचारको अंत हो । भ्रष्टाचारका शृंखला हेर्नोस स् बालुवाटार , एनसेल, मेलम्ची हरेक रोड, ग़ल्ली पुगेकाछन । त्यो भन्दा ख़तरनाक त संस्थागत भ्रष्टाचार , अपराधको राजनीति र राजनीतिको अपराधीकरण डर लाग्दो  अवस्थामा छ ।

यसर्थ अब केवल भ्रष्टाचार विरुद्ध १ बूँदे माग राखेर जेल भरौं आन्दोलन चलाउनुस् । माग यति होस २०४६  साल अंझ त्यो भन्दा अघि २०३६ साल पछी शक्तिमा आएका सवै लाभको पदमा बसेका मन्त्री र उच्चस्तरीय  कर्मचारीको सम्पत्ति छानबिन गर्ने । जसमा जनस्तर बाट व्यापक उजुरी लिने अनि छानबिन गर्ने ।

चप्पल पड़काएर राजनीति गर्नेहरूको अमेरिका, सिंगापुर गएर उपचार गर्ने हैसियत कसरी बन्यो चीरफ़ार गर्ने । यो छानबिनको लागी एक छुट्टै शक्तिशाली नागरिक तहको आयोग गठन गर्ने र भ्रष्टाचारको सार्वजनिक सुनुवाइ गर्ने । वाइड बड़ी , एनसेल, कालो धन काण्ड , मेलम्ची लगायतका भ्रष्टाचारका मुद्दाको निष्पक्ष छानबिनको माग यही लोकपालले गर्ने सहित तत्काल सबै प्रदेशबाट जेल भरौं अभियान चलाउने ।

जसरी चिकित्सा क्षेत्रको बिक्रितीका लागी डा केसीको सत्याग्रहले धेरै हद सम्म सुधार पहल गर्यो यो क्षेत्रमा जस्तो विकृति हरेक ठाऊमा छन खै प्रभावकारी आंदोलन ? हाल नेपालमा देखापरेको अर्क़ो टडकारो बिषय हो जलवायु परिवर्तन र प्रदूषणको । आधुनिक कृषि प्रणालीमा भएको बेवास्ताको । खै तपाई जोडिनु भएको कृषकसंग ? गरिबका स्वास्थ्यको बीमाको खै भुईं तहका मानिस संग जोड़ीने तपाईका मुद्दा खै ? 

माइतीघर घेरेर विश्वको राजनीति हेर्ने अनि नक्कल गर्न खोजेर हुन्छ ? जनताका मौलिक मुद्दा, राजनीतिमा मौलिकता खै ? पुराना दलमा परिवर्तन चाहने कार्यकर्ताहरुले पनि लोकतन्त्र र जनजीविकाका सवालमा, राष्ट्रिय मुद्दाहरुमा विचार मिल्ने समूहहरुसंग कार्यगत एकता गर्ने ।

नेताले उम्मेदवार चुन्ने,  ठेकेदारी प्रथा अंत्य गर्न जनस्तरबाट आफनै नेतालाई पार्टी भित्र नै अभियोग लगाएर गलहत्याऊन मिल्ने वैधानिक व्यवस्था मिलाउने काम ज़रूरी  भएको छ ।  एकपटक परीक्षित नेतृत्वले अनिवार्य अवकास लिने नैतिकताको सिद्धांत विधानमा नै लेखने र कार्यान्वयन गर्ने जस्ता पहल गर्न  सकिन्छ  ।  पुराना पार्टीमा भएका करिब ५–५ जना परिक्षित मुख्य नेताहरुले मात्र इमान्दार भएर राजनीतिबाट अवकाश लिईदिने हो भने वैकल्पिकराजनीतिको लागि मार्गप्रशस्त भई हाल्ने छ । 

वैकल्पिक राजनीतिका सवालमा नेपालमा ग़लत बुझ्ने बुझाउने प्रयास भएको पाईयो । दलहरू आफ़ैमा निरन्तर परिवर्तित समय र परिस्थिति अनुकूलका विचार , सिद्धांत र नेतृत्वको विकल्प खोजी अघि बढ़ने विकल्पका संवाहक हुन । त्यसै भित्र पुराना नया बिचारको बहस र टकराव हूने गर्छ र ढीलो चाँडो बिकल्पको तय गर्छ । 

वैकल्पिक राजनीति भनेको नयाँ दल, चंद्रलोकबाट आएका नया नेता मात्र हैन पुराना दलहरुमा वैकल्पिक ढंगले राजनीति गर्ने शैली बदल्नु, प्रगतिशील तथा वैकल्पिक विचारहरुले पुराना विचारलाई रुपान्तरण गर्दै लैजानु र समग्र देश र जनताको हितमा वर्तमान जीविकाको हिसाबले हेरिने  राजनीतिलाई लोककल्याणकारी चरित्रमा बदल्नु पनि वैकल्पिक राजनीति हो अर्थात् भनौं पुरातन राजनीतिको विकल्प प्रस्तुत गर्नु हो  ।  

भनिन्छ  परिवर्तनका लागि, सच्चिनका लागि र रूपान्तरणका लागि कहिल्यै पनि समय घर्कदैन । सोचौं । (लेखकलाई फलो गर्न ट्विटर –@Jaganbimal)



नयाँ