arrow

यसरी पुगे नक्कली रिपोर्ट बनाउने दुई डाक्टर झ्यालखाना

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ३ बिहिबार
janakpur-doctor.jpg

जनकपुरधाम । अञ्चल अस्पताल जनकपुरका दुई डाक्टरलाई जेलको सजाय सुनाइएको छ ।  

बलात्कार मुद्दामा २०७५  भदौ ८ गतेमा अञ्चल अस्पतालमा गराएको स्वास्थ्य परीक्षणपछि जनकपुरधाम अञ्चल अस्पतालमा कार्यरत हाल निलम्बीत डा. विजय कुमार सिँह र डा. रम्भा गोईतले बालिका बलात्कारको नक्कली रिपोर्ट बनाएका आरोपलाई अदालतले सदर गर्दै दोषी ठहर गरेको छ।

विशेष अदालत काठमान्डौंका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको छ ।  उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थिए।

२०७५ साल ८ भदौमा धनुषा जिल्ला  जनकनन्दनी गाउँपालिका वडा नम्बर २ बल्हागोठमा १२ वर्षीया बालिका बलात्कृत भएकोमा भोलिपल्ट बिहानै जनकपुर अञ्चल अस्पताल पुर्‍याइएकी बालिकाको डाक्टरद्वय विजयकुमार सिंह र रम्भा गोइतले स्वास्थ्य परीक्षण गरे । शारीरिक परीक्षण प्रतिवेदनमा पीडित बालिकाको यौनाङ्ग ‘नर्मल’ रहेको अर्थात् बलात्कार नभएको बताए ।

अञ्चल अस्पतालको प्रतिवेदनमाथि विश्वास नलागेर घटना भएको १६ दिनपछि बालिकालाई २४ भदौमा जिल्ला अस्पताल सिरहा लगियो । त्यहाँका डाक्टर  राकेशकुमार सिंहको परीक्षण प्रतिवेदनमा ‘हाइमन रप्चर’ (योनिच्छेद च्यातिएको) भएको, गाला र ओठमा घाउ देखिएको तथा वीर्य कोष फेला परेका बताए ।

यसरी जनकपुर अञ्चल अस्पतालको प्रतिवेदन उल्टाउने गरी सिरहा अस्पतालबाट फरक परीक्षण प्रतिवेदन आएपछि अञ्चल अस्पतालका डा. सिंह र डा. गोइतको लापरवाही उदांगिएपछि मुद्दा परेको थियो ।  

अपराधीलाई जोगाउन उनीहरुले गलत प्रतिवेदन तयार पारि दिएको अध्ययनमा पाइएको थियो । जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक–फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

धनुषाको जनकनन्दनी गाउँपालिकामा काकीसँग बस्दै आएकी १२ वर्षीया बालिकालाई २०७५ भदौमा घरमा सुतिरहेका बेला २३ वर्षीय किरण खत्वेले बलात्कार गरेका थिए । आमाको मृत्यु भएको र बुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी काकीसँगै बस्दै आएकी थिइन् ।

 तर ती बालिकासँग घटनापछि बालिकालाई स्वास्थ्य परीक्षणको लागि इलाका प्रहरी कार्यालय खजुरीले भदौँ ९ गते जनकपुर अञ्चल अस्पताल लगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ