arrow

संसदको हिउँदे अधिवेशन, यस्तो छ पहिलो दिनको तालिका

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनमा सभामुख चयन पहिलो प्राथमिकतामा छ । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए । 

उक्त दिनदेखि सभामुख पद खाली छ । महरा हाल पूर्पक्षका लागि जेलमा छन् । उनले आफू बाहिर बसेर मुद्दा लड्न पाउनु पर्ने मागसहित पुनरावेदनमा गए पनि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गरिदिएको छ । 

संसदको पहिलो दिन 
संसदको पहिलो दिन राष्ट्रपतिबाट प्राप्त पत्र पढेर शोक प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छिन् ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेछिन् । उनलाई राजीनामा दिनका लागि नेकपाका नेताहरुले पहल गरे पनि सफल नभएपछि उनले नै अध्यक्षता गर्नेछिन् । 

बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ ।

उपसभामुखले समेत राजीनामा दिएको भए ज्येष्ठ सांसदले अध्यक्षता गर्नेथिए । उपसभामुखले राजीनामा नदिएकाले सभामुख चयन प्रक्रिया केही असहज हुनेछ । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने संविधानमा उल्लेख छ । 

एक स्रोतका अनुसार सभामुख नेकपाले लिएर उपसभामुख राजपालाई दिन सक्ने सम्भावना पनि छ । 

के के हुन्छ यसपटकको अधिवेशनमा ?
संसद सचिवालयका अनुसार यो अधिवेशन कानुन निर्माणमा केन्द्रीत हुनेछ।  प्रतिनिधिसभामा मात्रै २७ विधेयक छन् । तीमध्ये ८ सांसदहरुका हातमा, १५ समितिमा र दुईवटा भर्खरै दर्ता भएका छन्। राष्ट्रियसभामा ६ विधेयक छन्। तीमध्ये हालै दुई वटा दर्ता भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ