arrow

इस्लामको विषयमा मुस्लिमले नै डर उत्पन्न गराएः मलेसियाका प्रधानमन्त्री महाथिर

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
mahathir-mohammad.jpg

काठमाडौं। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जिहाद, दमनकारी प्रशासन र नवउदारवाद मुस्लिम समाजको लागि सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। 

मलेसियामा भइरहेको क्वालालाम्पुर समीटमा सहभागि भइरहेका इस्लामिक देशका नेतृत्व तहलाई सम्वोधन गर्दै महाथिरले संसारभरका मुस्लिम समुदायले पाएको कष्टको लागि दुख प्रकट गरे। उनले मुस्लिम समुदाय केवल इस्लामोफोबिया र हिंसाको मात्र नभइ खराब प्रशासनसँग पनि जुधिरहेको बताए। महाथिरले संसारभर मुस्लिम समुदायले सम्मान गुमाएकोमा चिन्ता व्यक्त गरे। उनले भने, 'आज मुस्लिम समुदाय न मानव ज्ञानको स्रोत रहेको छ न कुनै मानव सभ्यताको मोडल रहेको छ।'

१८ औं शताब्दीदेखि २० औं शताब्दीको आधासम्म मुस्लिम देशहरुमा यूरोपीय शक्तिको प्रभुत्व रहेको थियो। महाथिरले भने, 'अब स्वतन्त्र हुँदा पनि हामी किन स्वतन्त्र देश जस्तै काम गर्न सकिरहेका छैनौ। अझै पनि हामी पनि औपनिवेशिक युगमा जस्तै गुलामी गर्न लागिपरेका छौं।' 

कतिपय साना मुस्लिम देशमा सरकार राम्रोसँग चल्न नसकेको उल्लेख गर्दै महाथिरले निरंकुश सरकार होस वा नहोस राम्रो प्रसासन चलाउन दमनकारी हुन आवश्यक नभएको बताए। उनले आफ्नो धर्म रक्षाको लागि मर्न तयार व्यक्तिहरुका कारण इस्लामप्रति डर बढिरहेकोमा चिन्ता व्यक्त गरे। आतंकको कुख्यात घटनाहरुले इस्लामको बारेमा विश्वको धारणा खराव भएकोमा ध्यान दिन उनले सबै मुस्लिम नेताहरुलाई सचेत गराए। 

मुस्लिम समुदायले जिहादको दावा गरेपनि परिणाममा भने मुस्लिमका बिरुद्ध अत्याचार झनै बढ्ने गरेको मलेशियाका प्रधानमन्त्री महाथिरले बताए। मुस्लिम समुदाय आफ्नै देशबाट बाहिरिने अवस्था सिर्जना भएको, शरणार्थीको रुपमा विभिन्न देशमा भौतारिनु परेको तथा ति देशहरुमा दमन र आलोचनाको शिकार हुनु परेको पनि उनले सम्झाए। मुस्लिम नेताहरुलाई सम्वोधन गर्दै उनले मुस्लिम समुदायले नै इस्लामको विषयमा डर उत्पन्न गराई इस्लामोफोबियाको लागि ठाउँ बनाएको बताए।

मुस्लिम समुदायको समस्यामाथि छलफल गर्न मलेसियाले बोलाएको समिटलाई इस्लामिक सहयोग संगठनको समानान्तर संगठनको रुपमा विकास गर्न खोजिएको भन्दै साउदी अरब भने रुष्ट रहेको छ। साउदीले इस्लामिक सहयोग संगठनको समानान्तर संगठनको रुपमा विकसित गरिएको समिटमा आफ्नो शत्रु देशहरु इरान र कतारलाई मञ्च दिइएकोमा आपत्ती जनाएको छ।

समिटका सहभागीका बिषयमा रुष्ट भएको साउदीबाट कोहि पनि प्रतिनिधी समीटमा सहभागि भएनन भने पाकिस्तानले पनि साउदी प्रभावमा परि समिटमा भाग लिएन। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समिटको मुखैमा आएर सहभागि नहुने जनाएका थिए। त्यसपछि महाथिरले स्पष्टिकरण दिदै मलेसियाको पहल कुनै पनि किसिमको मुस्लिम गुट बनाउने कोशिशमा नभएको प्रष्ट पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ