arrow

स्पेसएक्स र स्याटेलाइट इन्टरनेट

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ पुष ५ शनिबार
satellite-internet-spacex1.jpg

काठमाडौं। इन्टरनेट पछिल्लो समय सबै मानिसहरुको आधारभूत आवश्यकता नै बनिसकेको छ। समग्र विश्व नै डिजिटलीकरणमा अघि बढिरहेको अवस्थामा इन्टरनेटको यस किसिमको विस्तारलाई स्वाभाविक पनि मान्न सकिन्छ। त्यसको प्रभाव नेपालमा पनि देख्न सकिन्छ। नेपालमा पनि अन्य क्षेत्रको तुलनामा प्रविधि तथा इन्टरनेटको विस्तार केही तीव्र गतिमा भएको पाइन्छ।

इन्टरनेटको विस्तारसँगै मानिसको जीवनशैलीमा पनि व्यापकमात्रामा परिवर्तन आएको पाइन्छ। इन्टरनेटका साथै स्मार्टफोन सस्तो बन्दै गएसँगै अहिले इन्टरनेट प्रत्येक मानिसको खल्तीमा अटाउने बन्न पुगेको छ। यहाँसम्म कि अहिले गुगलमा केही नखोजी, सामाजिक सञ्जाल नचलाई र एकपटक युट्युब नचलाई मानिसहरुको दिन बित्दैन। यसबाट पनि इन्टरनेटको प्रयोग व्यापक मात्रामा विस्तार भइरहेको पुष्टि हुन्छ।

इन्टरनेटको प्रयोग बढेसँगै यसको बजार बढ्नु कुनै नौलो कुरा होइन। बजारसँगै इन्टरनेट तथा प्रविधि विस्तारको लागि प्रतिस्पर्धा चुलिएको छ। अमेरिका र चीनबीचको व्यापारयुद्धमा पनि प्रविधिको लडाइँ एक प्रमुख कारण बन्न पुगेको छ। अमेरिकाले चीनले आफ्नो प्रविधि चोरेको आरोप चीनमाथि लगाउँदै आएको छ। साथै उसले चिनियाँ कम्पनीको उपकरणमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै अन्य मुलुकलाई पनि चिनियाँ प्रविधिको प्रयोग नगर्न सुझाउँदै आएको छ। तर, चीन भने यो कुरालाई स्वीकार गर्ने पक्षमा छैन। बढ्दो चिनियाँ प्रविधिको विस्तारलाई रोक्न अमेरिकाले यो नयाँ षडयन्त्र शुरु गरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ। 

विशेषगरी अमेरिका र चीनको प्रविधिको युद्ध नयाँ पुस्ताको इन्टरनेट फाइभजीको विस्तारलाई लिएर शुरु भएको छ। फाइभजीमा चीन अमेरिकाभन्दा अगाडि देखिएसँगै अमेरिकाले चीनलाई रोक्न चिनियाँ कम्पनीमाथि प्रतिबन्धको निर्णय गरेको हो। उसले चिनियाँ कम्पनीले निर्माण गरेका उपकरणको प्रयोग सरकारी कार्यालयमा नगर्न पनि निर्देशन दिइसकेको छ। चीनको प्रविधिको विस्तार पनि स्वच्छ प्रतिस्पर्धाबाट भएको भने पक्कै होइन। चीनले पनि अमेरिकी प्रविधि कम्पनीलाई आफ्नो मुलुकमा रोक लगाउँदै आफ्नो प्रविधिको विस्तार गरेको हो। त्यसैको जगमा टेकेर अहिले नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा चीन अमेरिकाभन्दा अगाडि रहन पुग्यो। 

फाइभजी मात्र होइन, चीनले सिक्सजीको विषयमा पनि अनुसन्धान अघि बढाइसकेको छ। अहिलेको तयारीलाई हेर्ने हो भने अबको केही वर्षमा सिक्सजी अन्तर्राष्ट्रिय बजारमा आउने निश्चित छ। रमाइलो कुरा के छ भने फाइभजीको इन्टरनेटको गति अत्यधिक छिटो छ। फाइभजीलाई आधार मान्ने हो भने सिक्सजीमा कसैले कल्पनासम्म पनि नगरेको इन्टरनेट हुनेछ।

अहिले शुरुवाती चरणमा रहेको फाइभजीको इन्टरनेट गति फोरजीको तुलनामा १०० गुणासम्म रहेको छ। यसको अर्थ निकै ठूला उच्च क्वालिटीको फिल्म पनि केही सेकेण्डमा डाउनलोड गर्न सकिन्छ। अब सोच्नुहोस् सिक्सजी इन्टरनेटको गति कति होला ? सिक्सजी विश्व बजारमा आउँदा मानिसको जीवनशैली कस्तो होला ? इन्टरनेटले के के काम गर्न सकिएला ? यी तमाम प्रश्नहरुको साथै आउने सबैभन्दा महत्वपूर्ण प्रश्न हो–के अहिलेको प्रविधिले त्यति छिटो इन्टरनेट प्रदान गर्न सक्ला ? यसको लागि अहिले फाइभजीको पूर्वाधारलाई नियाल्ने हो भने स्पष्ट हुन्छ।

अहिले फाइभजीको लागि आवश्यक पूर्वाधार निर्माणमा निकै कठिन भइरहेको छ। यस किसिमको पूर्वाधारमा विस्तारमा देखिएको समस्याले आगामी दिनमा पनि इन्टरनेटको विस्तारमा पूर्वाधार एक मुख्य समस्या बन्नसक्ने देखिन्छ। त्यसका साथै इन्टरनेटको प्रयोग यातायात, हवाईसेवालगायतका क्षेत्रमा पनि महत्वपूर्ण बन्नसक्ने अहिलेका केही आविष्कारले देखाएका छन्। पछिल्लो समय विकास भइरहेका एग्युमेन्ट रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विस्तार पनि तीव्र गतिमा चलिरहेको अवस्थामा त्यसलाई पनि पूर्णरुपमा समेट्नका लागि पनि केही फरक किसिमको पूर्वाधारको आवश्यकता देखिन्छ।

यस्तैमा अबको इन्टरनेटको लागि स्याटेलाइट इन्टरनेट एक उत्तम विकल्प बन्नसक्छ। त्यसका लागि अहिले प्रयास पनि शुरु भइसकेको छ। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सले त्यसका लागि स्याटेलाइट प्रक्षेपण पनि गरिसकेको छ। स्पेसएक्सले सन् २०२० सम्ममा स्याटेलाइटको माध्यमबाट इन्टरनेट प्रदानको काम शुरु हुने बताइसकेको छ। गत नोभेम्बरको आँकडा अनुसार स्पेसएक्सले १ सय २२ स्याटेलाइट प्रक्षेपण गरिसकेको छ। सन् २०२० को मध्यसम्ममा स्पेसएक्सले १२ हजारभन्दा बढी स्याटेलाइट प्रक्षेपण गर्नेछ।

गत मे महिनादेखि स्पेसएक्सले आफ्नो स्याटेलाइट प्रक्षेपण शुरु गरेको हो। अहिले प्रक्षेपण गरिएका स्याटेलाइट पृथ्वीको सतहभन्दा ५ सय ५० किलोमिटर माथि रहेका छन्। सबै स्याटेलाइट प्रक्षेपण भइसकेपछि स्पेसएक्सले स्याटेलाइटको माध्यमबाट आफ्नो इन्टरनेट सेवा प्रदान गर्नेछ। स्पेसएक्सको यो योजनाले अबको पुस्ता इन्टरनेटको प्रयोगमा साँच्चै नै नयाँ युगमा प्रवेश गर्ने दिशामा अघि बढिरहेको स्पष्ट देख्न सकिन्छ। तर, त्यसको लागि कम्पनीका सीईओ एलन मस्कले यो योजना पूरा गराउनुपर्ने चुनौती भने त्यत्तिकै छ। त्यसो त यति धेरै संख्यामा स्याटेलाइटको सफल प्रक्षेपण गरिनु पनि त्यति सहज काम भने होइन। यसलाई स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्नका लागि यो महत्वपूर्ण चरण पनि हो। 

स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्न सफल भएको खण्डमा स्पेसएक्स स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्ने पहिलो कम्पनी बन्नेछ। यो प्रविधि अन्य प्रविधिको तुलनामा निकै सस्तो र प्रभावकारी पनि हुनेछ। स्याटेलाइटबाट इन्टरनेट प्राप्त हुने भएपछि अहिले इन्टरनेटको पहुँच पुर्‍याउन नसकिएको स्थानमा पनि इन्टरनेट सेवा पुर्‍याउन सकिन्छ। यसबाट अनावश्यकरुपमा तार तथा अन्य पूर्वाधारमा हुने खर्च पनि बचत हुन्छ । पछिल्लो समय वायरलेस प्रविधि संसारमा प्रधावकारी र लोकप्रिय पनि बन्दै गएको छ। यस्तोमा मस्कको योजना निकै महत्वपूर्ण हुनेछ। त्यसका साथै अर्को महत्वपूर्ण पक्ष इन्टरनेटको गति हो। आगामी पुस्ताको इन्टरनेटका लागि अब तार तथा फाइबरले गति धान्न गाह्रो छ। 

सबै कुराको महत्वपूर्ण मानिएको योजना एकैपटक शुरु गरिएको भने होइन। स्याटेलाइटबाट इन्टरनेट प्रदान गर्ने योजना एक दशकअघिदेखि नै चल्दै आएको हो। सन् २०१५ मा यसको लागि उत्पादन विकासको काम शुरु भएको थियो। सन् २०१८ को फेब्रुअरीमा स्पेसएक्सले पहिलोपटक दुई स्याटेलाइटको परीक्षण प्रक्षेपण गरेको थियो। यसको दोस्रो परीक्षण भने गत मे महिना नै गरिएको हो। यो समग्र योजनाका लागि १० अर्ब अमेरिकी डलरबराबरको खर्च लाग्ने अनुमान गरिएको छ। यो रकममा पूरा हुने यो योजनाले मंगलग्रहको खोज तथा अनुसन्धानको लागि पनि सहयोग पुर्‍याउनेछ।

विश्वको इन्टरनेटको विकास र गतिलाई यो योजनाले पूरा गर्न सक्नेछ। तर, यो योजना पूर्णरुपमा सम्पन्न भने भइसकेको छैन। यसका लागि अझै केही समय कुर्नुपर्नेछ। अहिलेसम्म स्पेसएक्सले प्रक्षेपण गरेका स्याटेलाइटले इन्टरनेटको सेवा दिन शुरु गरेका छैनन्। अब योजना सम्पन्न भएपछि योजना गरिएअनुसारको सेवा प्रदान गर्नसक्ने हो वा होइन भन्ने कुराको निक्र्योल गर्नेछ। त्यसका साथै कम्पनीले प्रदान गर्ने कत्तिको प्रभावकारी हुने हो भन्ने अर्को आशंका बाँकी नै छ। तर, योजनाको धेरै काम सकिइसकेकाले योजनाप्रति धेरैको विश्वास भने बढेको छ। अब यो योजना कसरी अघि बढ्ला भन्ने बुझ्नका लागि अहिले तय गरिएको समय तालिकाअनुसार कम्तीमा १ वर्ष भने कुर्नुपर्ने जरुरी छ।



नयाँ